८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् ।
उनले बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।
साथै, केन्द्रीय समिति भंग गरी महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।
आयोजक कमिटीको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा भट्टराईले ‘जेन- जी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले अध्यक्ष भट्टराईले पद त्याग्ने प्रस्ताव बैठकमा राख्नुभएको र फागुनमा विशेष महाधिवेशनमा जाने प्रस्तावमाथि छलफल गरिरहेको बताइन् ।
बैठकका निर्णयहरूबारे जानकारी दिन नेसपा नयाँ शक्तिले विहीबार पत्रकार सम्मेलनको आयोजना गरेको उनले जानकारी दिइन् ।
९ असोज २०७२ मा तत्कालीन माओवादी पार्टी त्यागेका उनले ३० जेठ २०७३ सालमा नयाँ शक्ति पार्टी घोषणा गरेका थिए ।
झन्डै १० वर्ष नेपालमा वैकल्पिक राजनीतिको वकालत गरेका भट्टराईले जेन-जी आन्दोलनको मर्म अनुसार पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने भन्दै पद त्याग गर्ने प्रस्ताव गरेका हुन् ।
प्रतिक्रिया 4