+
+
Shares

स्थानीय वायुको प्रभावले कर्णालीदेखि कोशीसम्म वर्षा, अझै केही दिन पर्नेछ पानी

बुधबार बेलुकी सात बजेतिर यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी, कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ । राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय वायुको प्रभावले कर्णाली प्रदेशदेखि कोशी प्रदेशसम्म पानी परिरहेको छ र आज रातिदेखि कम हुँदै जाने मौसमविदहरुले बताएका छन्।
  • बंगालको खाडीमा विकसित प्रणालीले सेप्टेम्बर २५ देखि नेपालमा आंशिक असर पार्नसक्ने सम्भावना छ र दशैंमा हिले पर्ने अनुमान गरिएको छ।
  • मौसमविद हरिप्रसाद दाहालले दशैं विशेष बुलेटिन एक–दुई दिनमा जारी गर्ने र सम्भावित मौसमी अवस्थाबारे जानकारी दिने बताएका छन्।

८ असोज, काठमाडौं। स्थानीय वायुको प्रभावले कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै पानी परिरहेको छ । यो पानी आजै रातिदेखि कम हुँदै जाने पूर्वानुमान छ । तर फेरि भोलि–पर्सिसम्म पनि पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविदहरुले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पानी पार्नका लागि अहिले स्थानीय वायुबाहेक अरु उल्लेखनीय प्रणाली छैन । मौसमविद हरिप्रसाद दाहालले अनलाइनखबरसँग भने, ‘आज दिउँसैदेखि मजाले परिरहेको पानी स्थानीय वायुको प्रभाव थोरै एक्टिभ भएर हो र यो आज रातिदेखि कम हुँदै जाने देखिन्छ ।’

बुधबार बेलुकी सात बजेतिर यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी, कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ । राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान छ । तर भोलि अपराह्न फेरि धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।

भोलि विहीबारको दिन पनि एक–दुई स्थानमा मात्र भारी वर्षा खण्डित रुपमा हुनसक्ने सम्भावना रहेको मौसमविद दाहालले बताए । उनका अनुसार भोलि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ ।

पानी पर्ने सम्भावना यो हप्तासम्म कायमै छ । दशैंको टीकाको दिनसम्म मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेकाले पानी पर्ने पूर्वानुमान स्वाभाविक रहेको मौसमविहरु बताउँछन् । तर विगतमा जस्तो धेरै ठाउँमा भयंकर वर्षा भने नहुनसक्ने उनीहरु बताउँछन् ।

यस वर्ष हिले दशैंको सम्भावना कति ?

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक एवम् मौसमविद डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । केही दिनसम्म मनसुन त्यति धेरै सक्रिय हुने देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा भने हुनेछ । दशैंको मध्य बेलामा पानी पार्ने प्रणाली फेरि सक्रिय हुने सम्भावना रहेकाले हिले दशैं हुनसक्ने उनको अनुमान छ ।

सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म आंशिक असर पार्नसक्ने सम्भावना छ । त्यसैले नेपालमा पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको हो ।

मौसमविद हरिप्रसाद दाहाल बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट नियालीरहेको बताउँछन् । ‘त्यसको असर नेपालमा कस्तो पर्छ भनेर हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने ।

उनले दशैंमा मौसम कस्तो हुन्छ भनेर विशेष बुलेटिन जारी गरेर जानकारी दिने बताए । ‘एक–दुई दिनमा हामी दशैं विशेष बुलेटिन जारी गरेर सम्भावित मौसमी अवस्थाबारे जानकारी दिनेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?