+
+
Shares

रास्वपा बैठकमा झल्कियो जेनजी उथलपुथलको दबाब

बैठकमा सहभागी नेताहरूका अनुसार पार्टी रुपान्तरण, संगठनको पुर्नसंरचना, नख्खु प्रकरण, पार्टी परित्याग गर्नेहरूलाई फिर्ता गराउने लगायतले प्राथमिकता पाएको थियो ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ असोज ८ गते २२:२०

८ असोज, काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठकमा अघिल्ला बैठकहरूमा भन्दा केही भिन्न परिदृश्य देखियो । अनि अकस्मात् नयाँ एजेन्डाहरूले प्रवेश पाए, जुन नियमित बैठकहरूमा हुन्थेनन् ।

अनि अस्तिसम्म कांग्रेस, एमाले र माओवादीसँग नडग्ने रास्वपालाई राजनीतिक दृश्यमा अकस्मात देखिएका युवा राजनीतिक अभियन्ताहरूको नजानिँदो दबाब परेको प्रष्टै छनक मिल्थ्यो । मिसन ८४ भन्दै प्रचार थालिरहेको यो दललाई यही फागुनमा हुने भनिएको चुनावको एकाएक तयारीमा लाग्नुपर्ने दबाब यही केन्द्रीय समिति बैठकमा समेत मिलेको छ ।

मंगलबार र बुधबार गरी २० घन्टा लामो बसेको छलफलमा  केन्द्रीय सदस्यले यथेष्ट समय लिएर बोल्न पाए । बैठकका लागि तय भएका सात एजेण्डामा घनिभूत छलफल भएको नेताहरूले जानकारी गराएका छन् ।

बैठकका लागि तय भएका एजेण्डाहरूमा समसामयिक अवस्था, प्रदेश बैठकका प्रतिवेदन, परिवर्तित अवस्था, संगठन, आगामी निर्वाचन, महाधिवेशन, विविध  लगायत थिए ।

जेनजीका कारण उठ्यो रुपान्तरणको मुद्दा

जेनजी आन्दोलनले पार्टीभित्र पुस्तान्तरणसँगै रुपान्तरणको माग गरेको हुँदा रास्वपाको बैठकमा पनि उक्त विषयमा गहन छलफल भएको नेताहरूले जानकारी गराएका छन् ।

नेताहरूका अनुसार सभापति रविको विकल्प नखोजिए पनि रुपान्तरणको मुद्दा भने जोडसँग उठेको छ । दुईदिने बैठकमा पार्टी र सभापतिको सचिवालय रुपान्तरणलाई नेताले प्राथमिकताका साथ उठाएका छन् । पार्टी सचिवालयमा जेनजी उमेर समूहकै व्यक्ति ल्याउनुपर्ने विषय उठान भएको थियो ।

नेता सन्तोष परियारले पार्टीमा रुपान्तरणका लागि दुई विकल्प अघि सारेका थिए । पहिलो मंसिरमा विशेष महाधिवेशन र विस्तारित बैठक आयोजना । रास्वपाले फागुनमा पहिलो महाधिवेशनको मिति तय गरेको थियो । त्यही महिना चुनावको मिति तोकिएकाले के गर्न सकिन्छ भनेर छलफल भइरहेको कार्यवाहक सभापति डीपी अर्यालले जानकारी गराए ।

हाल बदलिएको परिस्थिति अनुसार छिटो महाधिवेशन गर्न विकल्प नेता परियारले सुनाएका थिए । ‘अब यो बदलिँदो परिस्थितिमा महाधिवेशनलाई अगाडि ल्याएर छिटो महाधिवेशन गर्न सक्छौं, त्यो महाधिवेशन मंसिरमा गर्न सक्छौं,’ परियारले आफ्नो विचारबारे अनलाइनखबरसँग भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने अहिले भएका सबै समितिहरू भंग गरौं यो केन्द्रीय समितिलाई महाधिवेशन गर्ने आयोजक समितिमा रुपान्तरित गरौं ।’

विस्तारित बैठकबाट संगठन, विचार, राजनीतिक मुद्दा, कार्यदिशा पारित गर्न सकिने परियारको विचार छ ।

यथास्थितिमा पार्टी चल्न नसक्ने सन्देश दिनुपर्ने अपरिहार्यता रहेको केन्द्रीय सदस्य डा. तोसिमा कार्कीको थियो । ‘दुईपटक हामी सरकारमा जाँदा पनि यति धेरै जनाको ज्यान जाने गरी ठूलो क्रान्ति किन भयो त ? हामीले आत्मसमीक्षा गर्नुपर्दछ,’ कार्कीले भनिन्, ‘त्यसको बाटो भनेको रिर्फमेसन हो । त्यसमा नेतृत्व र व्यक्तित्वको कुरा मात्रै हुँदैन । त्यसमा हामीले बोक्ने सिद्धान्त, राजनीतिक चरित्रलाई दिने एउटा कार्यदिशा, मार्गनिर्देशन पनि हुन्छ ।’

‘सुमनाजीले अहिलेसम्म जुन किसिमको योगदान गर्नुभयो त्यो प्रति सम्मान छ । मान्छे पार्टी छोडेर गयो भने उसलाई नराम्रो भन्नुपर्छ भन्ने हाम्रो संस्कार होइन ।’

केन्द्रीय सचिवालय, नीति, सिद्धान्तमा केही न केही परिवर्तन गर्नुपर्ने कार्कीको जोड थियो । ‘व्यक्तिका विरुद्धमा नभई प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ ।  हामी नयाँ हुँदै गर्दा पनि केही न केही नयाँ दिनुपर्दछ,’ कार्कीले भनिन् ।

नेताहरूका अनुसार केन्द्रीय समिति पुनर्गठन नगरी यसैलाई निर्वाचन केन्द्रीत समितिमा रुपान्तरण गर्न सकिने विकल्प पनि बैठकमा राखिएको थियो । केही नेताले प्रदेश इञ्चार्ज आवश्यक नरहेको टिप्पणी गरेका थिए । प्रदेश सभापति हुँदाहुँदै इञ्चार्जको आवश्यकता किन भनी प्रश्न उठाएका थिए ।

सभापति रविको कार्यशैलीप्रति आलोचना गर्दै उनीसँगै पार्टी सचिवालयकै पुनर्गठन हुनुपर्ने विचार प्रस्तुत भएको नेताहरू जानकारी गराएका छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सभापतिको सचिवालय हुँदै भएन भन्ने त छ नै । पार्टी सचिवालयमा युवा पुस्तासँगै र जेनजी समेत समेटेर पुर्नगठन गर्ने विषय पनि आएको थियो ।’

सुमनालाई फर्काउन जोडबल

पूर्व सहमहामन्त्री सुमना श्रेष्ठलाई पुन: पार्टीमा फर्काउन पहल गर्नुपर्न विषय समेत पार्टीमा उठेको छ । पार्टीमा कार्यदल गठन गरेर संवाद गरी फर्काउन सकिने विकल्प नेताहरूले सुझाएका थिए ।

सुमनाले पार्टी छोड्न लागेपछि उनीसँग नेतृत्वले संवाद गरेर किन नसकेको भन्दै नेताहरूले प्रश्न समेत उठाएका थिए । सुमनासँगै केन्द्रीय सदस्य हरि भट्टले पनि रास्वपा परित्याग गरेका थिए । केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार, परित्याग गर्नेहरूलाई पार्टीमा पुन: ल्याउन कार्यदल बनाएर संवाद गर्न उपयुक्त हुने धारणाहरू केन्द्रीय सदस्यहरूबाट आएको जानकारी गराए ।

पार्टीमा सहयात्रा गर्नेहरूको व्यवहारहरू फरक हुने अवस्था हुँदा सहयात्रा टुंगिन सक्ने प्रवक्ता मनिष झा बताउँछन् । सुमनाका अपेक्षा र अभ्यासहरू उल्लेखनीय रहेको उल्लेख गर्दै झाले भने, ‘सुमनाजीले अहिलेसम्म जुन किसिमको योगदान गर्नुभयो त्यो प्रति सम्मान छ । मान्छे पार्टी छोडेर गयो भने उसलाई नराम्रो भन्नुपर्छ भन्ने हाम्रो संस्कार होइन ।’

बैठकमा सहभागी केही नेताले पार्टीमा आउने/जाने क्रम भइरहेको हुँदा कसैले छोड्दैमा हतोत्साही हुनु नपर्ने तर्क पनि गरेका थिए । प्रवक्ता झा भन्छन्, ‘एउटा कुरा दुख लागेको छ, सहयात्रा टुंगिएको छ । अर्को कुरा खुशी मान्ने ठाउँ उहाँ अर्को देश जानु भएको छैन । देशमै योगदान गर्नलाई बस्नुभएको छ ।’

रविको विकल्प नखोजिएको दाबी

पछिल्लो राजनीतिक घटनाक्रम पछि प्रदेश तहको सुझाव केन्द्रले संकलन गरेको थियो । प्रदेश समितिका सदस्यहरूले केन्द्रलाई दिएका सुझाव र ध्यानाकर्षण प्रतिवेदनका रुपमा पेश गरिएको थियो ।

लुम्बिनीले केन्द्रदेखि वडातहसम्म पुनर्गठन गर्नुपर्ने माग सहित प्रतिवेदन केन्द्रलाई बुझाएको थियो । सुदूरपश्चिमले सभापति रवि लामिछानेले न्यायिक निरुपण पश्चात् सोही पदमा बहाली हुने गरी पदत्याग गर्न उपयुक्त हुने सुझाव पठाएको थियो ।

प्रदेश समितिले सभापतिको विकल्प खोजेको र पुर्नगठनको माग गरेको समाचार बाहिरिएपछि केन्द्रीय समिति बैठक चलिरहेको बेला पत्रकार माझ प्रदेश सभापतिहरू देखिए ।

पाँच प्रदेशका सभापतिहरूले केन्द्रीय सभापति रविको विकल्प खोज्नै नसकिने स्पष्टीकरण दिए । कोशी मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत सभापति रवि अझै पनि निर्विकल्प रहेको बताएका हुन् । गण्डकी र कर्णालीका सभापति भने उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।

बागमती सभापति अच्युत्तम लामिछानेले सभापति रविको विकल्प नखोजिएको बताए । उनले भने, ‘पुराना पार्टीमा चलेको हावा रास्वपा पनि कतै त्यही हो कि । यो हावामा कदापी विश्वास गर्दैनौं ।’

बैठकमा सहभागी एक नेताले कोषाध्यक्ष अधिकारीको भनाई उद्धृत गर्दै भने, ‘बागमतीमा प्रदेशका सदस्यहरूले उठाएका विषयवस्तु मलाई अवगत छ । यस्तै तरिका हो भने म इञ्चार्जबाट राजीनामा दिन्छु ।’

उनकै बोलीमा कोशी, मधेस लुम्बिनी र सुदूरपश्चिमका सभापतिले समर्थन जनाए । सभापति रविप्रति पूर्ण विश्वास भएकाले विकल्प नखोजिएको उनीहरूको भनाई थियो ।

बागमती सभापति अच्युत्तम लामिछानेले प्रदेश समितिमा आएका विचारहरू तोडमोड गरेको भन्दै कोषाध्यक्ष लिमा अधिकारीले आपत्ति जनाएकी थिइन् । प्रदेश समितिमा उठेका विषयभन्दा फरक तरिकाले पार्टी बैठकमा लामिछानेले धारणा राखेपछि कोषाध्यक्ष अधिकारीले उनको आलोचना गरेकी हुन् ।

बागमतीमा प्रदेशमा कतिपय सदस्यले सभापति रवि लामिछाने संरक्षक भई बस्नुपर्ने सुझाव केन्द्रलाई दिएका थिए । रास्वपाका स्रोतका अनुसार ती धारणाहरूलाई प्रदेश सभापति लामिछानेले बैठकमा पेश नै गरेनन् ।

लामिछानेले पार्टी सभापति रविको विकल्प खोज्न नहुने विचार प्रदेश तहबाट आएको भन्दै धारणा राखेका थिए । बागमती प्रदेशको इञ्चार्ज समेत रहेकी कोषाध्यक्ष अधिकारीले प्रदेश सभापति लामिछानेको धारणाप्रति आपत्ति जनाएकी थिइन् ।

आफू समेत सहभागी भई तयार भएको प्रतिवेदनका विषय भन्दा फरक तरिकाले तलका विचारहरू राखिएको भन्दै अधिकारीले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

बैठकमा सहभागी एक नेताले कोषाध्यक्ष अधिकारीको भनाई उद्धृत गर्दै भने, ‘म समेत सहभागी भई बनेका प्रतिवेदन भन्दा फरक तरिकाले यहाँ प्रस्तुत गर्नुभयो । बागमतीमा प्रदेशका सदस्यहरूले उठाएका विषयवस्तु मलाई अवगत छ । यस्तै तरिका हो भने म इञ्चार्जबाट राजीनामा दिन्छु ।’

आलोचनाको निशानामा नख्खु प्रकरण

जेनजी आन्दोलनको दोस्रो दिनमा सभापति रवि जेलबाट बाहिरिएको विषयमा बैठकमा ‘गम्भीर’ छलफल भएको नेताहरूले जानकारी गराएका छन् । २४ भदौमा कारागारबाट निस्कँदा विजयीभाव देखाएको भन्दै रविको आलोचना भएको छ ।

कारागारमा रवि लिन जाने नेताहरूको समेत आलोचना भइरहेको छ । त्यसबेला कार्यवाहक उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय नेताहरू गणेश पराजुली, हरि ढकाल, ज्वाला संग्रौला लगायत पुगेका थिए । सह प्रवक्ता प्रतिभा रावलले कागागार प्रशासनले सुरक्षाका लागि दशौपटक फोन गरेपछि सम्भव हुने नेताहरू रिसिभ गर्न पुगेको दाबी गरिन् ।

तर रविको जयजयकार शैलीमा जसरी रिहाई भयो, त्यसले रावलको दाबीलाई स्वत: खण्डित गर्छ । रविको सुरक्षित तवरमा रिहाइ गर्दा उनको सुरक्षा चासो सम्बोधन हुने भए पनि उल्टै नाराजुलुस, राष्ट्रिय गानसहित विजययात्रा, अनि मुद्दा खेपेर जेलभुक्तान गरिरहेकै बेला जेनजी आन्दोलनको नेतृत्व लिने प्रयास गर्ने हुँदा उनको मात्रै नभई समग्र पार्टीकै छविमा आघात पुगेको बारे पार्टीमा आलोचना भएको छ ।

रविले मात्रै नभई नख्खु जाने पदाधिकारी र नेताहरूले समेत गल्तीबोध गर्न पार्टीभित्र दबाब बढेको छ ।

बैठकमा सहभागी अधिकांशले नेताहरू पुग्नु र पत्रको आधिकारितामा खोज नगरिएको प्रति चासो राखेका थिए । सभापति रवि निस्कदा पार्टीलाई पुगेको क्षति र ४० लाख जनाको हस्ताक्षरको अपमान भएको केन्द्रीय सदस्यहरूले बताएका थिए ।

उक्त दिनमा सहभागी भएकालाई कारबाही गर्नुपर्ने आवाज उठेपछि त्यसको विरुद्धमा प्रदेश तहका नेताहरू देखिएका छन् । पार्टी केन्द्रको निर्देशन अनुसार आफूहरू प्रदर्शनमा सहभागी भएको हुँदा कारबाही भए केन्द्रदेखि सुरु गरेर तल्लो तहमा हुनुपर्ने प्रदेश समितिका सदस्यहरूले चेतावनी केन्द्रमा पठाएका छन् ।

सभापति रवि निस्किँदा नख्खु पुगेका प्रवक्ता झाले आगो लगाउने कार्यमा आफू संलग्न नभई रोक्ने कार्यमा लागेको बताए । नख्खु कारागारमा देखिएको भिडियो क्लिपमा आधारमा आफू माथि पनि छानविन गरियोस् भनि उनले माग गरेका छन् ।

नख्खु कारागार पुगेर अन्यलाई पनि सामाजिक सञ्जाल मार्फत बोलाएकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले शर्त सहित राजीनामा दिने केन्द्रीय समितिमा बताएकी थिइन् । केन्द्रीय सदस्यबाट राजीनामा दिएको कहिंकतै मिडियामा नआउने गरी पद त्याग्न तयार रहेको उनले मंगलबारको बैठकमा बताएकी थिइन् । उनको बोली बारे एक केन्द्रीय सदस्य भन्छन्, ‘स्टन्ट गर्न खोजेको होला । राजीनामा दिने मनसायले होइन ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?