
९,असोज, चितवन । कहिले जोडले हावा चल्छ, कहिले चर्को घाम त कहिले क्षणभरमा नै पानी पर्छ, इच्छाकामना गाउँपािलका–५ को तुइनखोलामा ।
जहाँ मंगलबार दिउँसो पौने ५ बजे भीषण पहिरो आएर सडक नै पुरिएको छ । डाँडा नै झरेर बसेको छ सडकमा । यही पहिरोका कारणले मुग्लिन नाराणगढ सडकखण्ड घण्टादेखि अवरुद्ध छ । सवारी साधन, तिनका चालक, सहचालकहरू अलपत्र छन् । कहिले सडक खुल्ला भनेर उनीहरू बसिरहेका छन् । चाडपर्वको मुखमा महत्त्वपूर्ण सडक बन्द भएकोले खुलाउन सरकारी अधिकारीले अथक प्रयास पनि गरिरहेका छन् ।
तुइनखोलामा पारी(मुग्लिनतर्फ) फरक खालको चट्टान छ भने, वारी (नाराणगढतर्फ) फरक खालको चट्टान छ । वारी नारायणगढतर्फ झरेको विशाल पहिरो पन्छाउन विहान ६ बजेदेखि नै खट्दै आएका छन्, सर्लाहीका कमलेश कुमार चौधरी । एक्साभेटर लिएर दिनभर यहीँ सडकको पहिरो पन्छाउन उनी निकै मेहनत गरिरहेका छन् ।
उनको दैनिकी विगत केही दिनदेखि यसरी नै वितिरहेको छ । गत शुक्रबार साँझ आएको पहिरो पन्छाएर भ्याएको २ दिन पनि नहुँदै मंगलबार झन ठूलो पहिरो आएपछि कमलेश जति सक्दो छिटो यसलाई पन्छाउन लागिपरेका छन् ।
‘चाडपर्वको मुख छ, धेरै मानिसहरू घर जान खोजिरहेका छन्, कतिपय बाटोमा नै अलपत्र छन् चाँडै पन्छाएर सक्न पाए सबैलाई सजिलो हुने थियो भन्ने कुरा मेरो दिमागमा आइरहन्छ,’ कमलेश भन्छन्, ‘देश र जनताका लागि मैले यति गर्नु नै पर्छ भन्ने लाग्छ ।’
थुप्रै मानिसहरू सडकमा अलपत्र परेकोले गर्दा पनि आफूहरू जोखिम मोलेर काम गर्न कस्सिएको उनले बताए ।
कमलेशले एक्साभेटर चलाउन थालेको १७ बर्ष वित्यो । पहिले नीजि संस्थामा काम गरेका कमलेशले सडक डिभिजनमा काम गर्न थालेको ७ बर्ष मात्रै भयो । तुइनखोलाको पहिरो आफूले गरेका काम मध्येमा सबैभन्दा खतनाक रहेको उनले सुनाए । काम गर्दागर्दै कतिबेला माथिबाट पहिरो आएर सोहोरेर त्रिशूलीमा लैजान की भन्ने डर उनको मनमा भैरहन्छ । ‘असाध्यै जोखिम छ, ज्यानको नै आश मारेर काम गरिरहेका छौं, जतिबेला जे सुकै घटना पनि हुन सक्छ,’ कमलेश भन्छन्, ‘भगवानको नाम लिएर काम गर्ने हो, जिम्मेबारीबाट भाग्न पनि त भएन ।’
उनले यस्तो जोखिममा काम गरेको छु भनेर अहिलेसम्म परिवारलाई समेत भनेका छैनन् । ‘परिवारले यस्तो पहिरो गएको भीरमा काम गरेको थाहा पाए भने जागिर छाडेर आउनु भन्छन्’ कमलेश भन्छन्, ‘एकदिन मर्ने जूनी नै हो भनेर काम गरिरहेको छु, अरु साथीहरू पनि छन् ।’
तुइनखोलामा नै काम गर्दा केही बर्ष अगाडि एक जना डोजर अपरेटरको ढुंगाले लागेर मृत्यु भएको थियो ।
कमलेशले शुक्रबार आएको पहिरो र मंगलबार आएको पहिरोको प्रकृति थोरै फरक रहेको बताए । ‘शुक्रबारको पहिरोमा माटो र साना साना ढुंगाहरू थिए तर मंगलबारको पहिरोमा ठूला ढुंगाहरू पनि छन्, त्यसैले पन्छाउन समय लाग्छ’ कमलेश भन्छन्, ‘थप पहिरो आएन, पानी परेन भने शुक्रबारसम्म बाटो खुलाउन सकिन्छ होला ।’ अहिले नारायणगढतर्फबाट २ वटा र मुग्लिनतर्फबाट २ वटा मेसिन लगाएर पहिरो पन्छाउने काम भैरहेको छ । धेरै मेसिन एकैपटक लगाउन मिल्ने ठाउँ नै छैन ।
१६० मिटर लामो, २० मिटर उचाई, १० मिटर चौडाइको पहिरो निकै ठूलो छ । वारीवाट पारी देखिदैन । यहाँको सबै माटो ढुंगालाई त्रिशूली नदीमा खसालिएको छ । सडक डिभिजन कार्यालयले त्यहाँ जम्मा भएको परीमाण नदीमा फाल्नु बाहेक अर्को उपाय देखेको छैन । ठूलो ठाउँ भएको भए कतैं पन्छाएर राखेर पछि अर्को प्रयोजनका लागि प्रयोग गर्न सक्ने अवस्था हुन सक्थ्यो तर भूबनोटका कारण सम्भव छैन । पहिरोले माथिको भाग झरे पनि सडकको भाग भने केही भएको छैन । यसलाई एक्साभेटर चालक र इन्जिनियरहरूले सकारात्मक रूपमा लिएका छन् ।
प्रतिक्रिया 4