
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले भ्रष्टाचार र बेथितिविरुद्ध युवाहरूलाई सडकमा उत्राएको छ।
- आन्दोलनको नाममा नक्कली घाइतेहरूले राहत र निःशुल्क उपचार लिने प्रयास गरेको सामाजिक अभियन्ता आशिका तामाङले खुलासा गरेकी छन्।
- जेनजी युवा धिरज जोशीले असली पीडितलाई राहत पुग्न नागरिक इमानदारिता र सरकारी छानबिन आवश्यक रहेको बताए।
नेपालमा भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनले देशमा राजनीतिक उथलपुथल ल्यायो । आन्दोलनको मूल उद्देश्य देशमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध थियो ।
सत्तामा बसनेको मनपरि साथै नेता र उनीहरूका परिवारको भड्किलो जीवनशैलीप्रति आक्रोश व्यक्त गर्दै युवाहरू सडकमा उत्रिए । सामाजिक सञ्जालको प्रयोगमार्फत यो आन्दोलन देशभर फैलियो र लाखौँ युवालाई एकताबद्ध गर्यो ।
जेनजी आन्दोलनले पुरानो राजनीतिक संरचना र चलनविरुद्ध विद्रोह मात्र गरेन, नयाँ सोच, जवाफदेही सरकार र अवसरको समानताको माग पनि अघि सारे । यसले नेपाली राजनीति र समाजमा युवाको शक्ति कति प्रभावशाली हुन सक्छ भन्ने देखाइदियो । तर, यो आन्दोलनको सफलतासँगै यसको नाम र छविलाई दुरुपयोग गर्ने प्रयासहरू पनि बढ्दै गएका छन् ।
विशेष गरी हिंसात्मक घटनामा घाइते भएकाहरूको नाममा नक्कली ‘जेनजी’हरूले राहत, निःशुल्क उपचार र अन्य सुविधाहरू हत्याउन खोजिरहेका छन् ।
नक्कली घाइतेले राहत मागे
सामाजिक अभियन्ता आशिका तामाङले जेनजीको नाममा भएको दुरुपयोगलाई उजागर गरेकी छन् । आन्दोलनको क्रममा घाइते नभएका व्यक्तिले पनि जेनजी आन्दोलनमा घाइते भएको भनेर उपचार खर्च उठाउन खोजेको उनले खुलासा गरेकी छिन् । ‘केही व्यक्तिहरू नक्कली जेन्जी बनेर उपचार गर्नेहरू पनि रहेछन्’ तामाङले भनिन्, ‘उनीहरूले पुरानो कार्ड वा एक–दुई महिनाअघि उपचार गराएको कागज देखाएर राहत लिन खोज्छन् । यस्ता घटनाले आन्दोलनका असली घाइतेहरूलाई ठूलो असर पार्छ ।’
यसमा आशिकाले एउटा घटनाको उदाहरण दिइन् । एक महिना अगाडि उपचारको डेट भएको व्यक्तिले २३–२४ भदौको घटनामा सामेल भएको दाबी गर्दै राहत लिन खोजे । तर थप विश्वासिलो प्रमाण माग्दा देखाउन सकेनन् ।
‘यसरी नक्कलीहरूले गर्दा असली पीडितहरू ओझेलमा पर्न सक्छन् । जसले बलिदान दिएर यो परिवर्तन ल्याए, उनीहरूले राहत नपाउँदा दुख लाग्छ’ उनले भनिन् । यस्तो संवेदनशील परिस्थितिमा पनि फाइदा उठाउनका लागि यस्तो हर्कत गर्नु निकै घटिया सोच भएको तामाङ बताउँछिन् । यसले असली पीडितहरूको उपचारमा बाधा पुर्याएको उनको भनाइ छ ।
आन्दोलनको घाइते भनी दावी गर्ने ती व्यक्तिका लागि राहत दिन आशिकाले ५० हजार तयार पारेकी थिइन् । नक्कली भन्ने थाहा पाएपछि त्यो रकम अन्य घाइतेको उपचारमा खर्च गरेको उनले जानकारी दिइन् । ‘हामीले यस्ता कुरामा सचेत हुनुपर्छ, तर पीडितहरूको उपचारमा शंका नगरी सहयोग गर्नुपर्छ ’ आशिका भन्छिन् ।
नागरिक इमानदार हुनुपर्छ
जेनजी युवा धिरज जोशीले नक्कली जेनजीहरूको मिसयुजलाई नागरिक स्तरको इमानदारीसँग जोडेर हेर्छन् । उनी भन्छन्, ‘आन्दोलनको नाममा एक महिनाअगाडि नै उपचार गरिरहेका व्यक्तिले राहत र निःशुल्क उपचार लिन खोज्छन् भने यस्ता घटनाहरू हस्पिटलमा मात्र होइन, अन्यत्र पनि भइरहेका हुनसक्छन् ।’
यो विषम परिस्थितिमा पनि ठगी गर्न खोज्नु गलत भएको जोशी बताउँछन् । यसले असली घाइते र मृतक परिवारहरूलाई प्रत्यक्ष असर पार्ने र पीडा दिने उनको बुझाइ छ।
यसले राहत वितरणमा शंका बढाउने र असली पीडितलाई राहत दिने कुरामा समेत ढिलाइ हुन सक्ने उनले बताए ।
घाइतेहरूको डाटा भेरिफाई गर्ने प्रक्रिया चलिरहेको उनले जानकारी दिए । ‘हामीले हस्पिटलको ट्र्याक रेकर्ड, घटनाको डेट र पुलिसको जानकारीलाई जोडेर नामावली तयार पार्दैछौं यो काम छिट्टै पूरा हुन्छ’ जोशीले भने ।
‘सरकारी अभिलेख अहिले कमजोर भएको अवस्थामा नागरिक तहबाट इमानदारिता देखाएमा सहज हुने उनको बुझाइ छ । यसका लागि उनी सचेतता र प्रमाणलाई जोड दिन्छन् । ‘हामी पीडितहरूमाथि शंका गर्दैनौं, तर गलत ठहरिएमा कारबाही हुनुपर्छ’ जोशी भन्छन् ।
गलत नियत राख्नेसँग सचेत रहनुपर्छ
जेनजी आन्दोलनको नाममा गलत व्यक्तिले फाइदा नउठाओस् भनेर सचेत हुनुपर्ने जेनजी युवा तथा कन्टेन्ट क्रिएटर प्रशंसा सुवेदीले बताउछिन् । विभिन्न पार्टीका कार्यकर्ताले समेत जेनजी आन्दोलनको नाम लिएर स्वास्थ सिद्ध गर्न खोज्ने भएकाले त्यसमा ध्यान दिन आवश्यक भएको उनको भनाइ छ ।
जेनजी नाममा केहीले झुटो दावी गरेर सहयोग माग्दा असली पिडितले पाउनुपर्ने राहत कटौती हुन्छ । १०० जनामा राहत बाँडिनुपर्नेमा १० जनाले नक्कली दाबी गर्दा पनि यसले वास्तविक घाइतेलाई आर्थिक भार बढाउने उनले बताइन् ।
‘जेनजी आन्दोलनको सफलता कायम राख्न हामी सबैले सचेत हुनुपर्छ’ सुवेदी भन्छिन्, ‘असली पीडितहरूको बलिदानलाई सम्मान गर्नु भनेको नक्कलीहरूलाई रोक्नु हो । यो परिवर्तनको बेला, इमानदारी नै सबैभन्दा ठूलो हतियार बन्न सक्छ ।’
राहत र उपचार सही व्यक्तिसम्म पुग्न नागरिक सचेतता, सरकारी संयन्त्रले कडा छानबिन गर्न आवश्यक रहेको प्रशंसा बताउँछिन् ।
प्रतिक्रिया 4