+
+
Shares

राम्रो किताब सस्तोमा मूल्यमा, विश्व प्रसिद्ध ‘पेन्गुइन बुक्स’को इतिहास

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेन्गुइन बुक्स सन् १९३५ मा एलन लेनले सुरु गरेका थिए र सस्तो मूल्यमा उत्कृष्ट साहित्य उपलब्ध गराउने उद्देश्य राखिएको थियो।
  • पेन्गुइन बुक्सले सन् २०१३ मा अमेरिकी र्‍यान्डम हाउससँग मर्जर गरी पेन्गुइन र्‍यान्डम हाउस समूह बनेको छ।
  • पेन्गुइनको बेलायत नर्थह्याम्पटनशायरमा रहेको पुस्तकालयमा अगाथा क्रिस्टी, अर्नेस्ट हेमिङ्वे लगायतका लेखकका कागजातहरू संग्रहित छन्।

पुस्तक पढ्ने बानी छ भने तपाईंलाई पक्कै प्रकाशन गृहले फरक पार्छ । पेन्गुइन । अहिले यो विश्वकै प्रसिद्ध अन्तर्राष्ट्रिय प्रकाशन गृह हो । यसले फरक-फरक विधाका विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आइरहेको छ । आज यो सुरु भएको ९० वर्ष भइसकेको छ ।

यो प्रकाशन गृहको बेलायतको नर्थह्याम्पटनशायरमा एउटा ठूलो गोदाम छ । खासमा गोदाम भन्दा त्यो पेन्गुइनको पुस्तकालय तथा अभिलेखालय हो । जहाँ अगाथा क्रिस्टी, अर्नेस्ट हेमिङ्वे, रोल्ड डाहल र जिली कुपर लगायत साहित्यका ठूला नामहरूसँग सम्बन्धित धेरै कागजातहरू छन् । जुन कुनै पनि पुस्तक प्रेमीको लागि खजना बराबरभन्दा कम छैन ।

यस भित्र बेस्टसेलर लेखकका कामहरूको छुट्टै संकलन छ । पुस्तकको मौलिक आवरण डिजाइनहरूको संकलन छ । आधुनिक संस्करणका डिजाइनहरूको संकलन छ ।

त्यस्तै अभिलेखालयमा यो प्रकाशन गृहले अहिलेसम्म प्रकाशन गरेका हरेक पुस्तकका प्रतिलिपिहरू छन् । सन् २०१७ पछि यो पुस्तकालयलाई अझ बढी व्यवस्थित र आधुनिकीकरण गरिएको छ । त्यसले गर्दा अनुसन्धानकर्ता, विश्वविद्यालयका विद्यार्थी र लेखकहरूका लागि यो ठाउँ स्वर्ग जस्तै बनेको छ ।

तर यहाँ पुस्तकहरू मात्र भण्डारण गरिएका छैनन् ।

लेखकहरूसँग सम्बन्धित पत्राचारहरू राखिएका छन् । जसमध्ये ग्राहम ग्रीन, जर्ज बर्नार्ड शाका धेरै पत्रहरू छन् । त्यस्तै लेखकहरूसँग गरिएका प्रकाशन करारको प्रतिलिपि पनि राखिएका छन् ।

पेन्गुइनको सुरू

सन् १९३४ मा संस्थापक एलन लेन एक्सेटर स्टेसनमा केही पढ्न नपाएर अलपत्र परेका थिए । त्यही झोकमा उनले एउटा प्रकाशन गृह सुरु गर्छन्- पेन्गुइन बुक्स ।

त्यसमा उनका भाइहरू रिचर्ड र जोनले पनि साथ दिएका थिए । त्यो समयमा हार्डब्याकहरू अत्यधिक महँगो थिए । पेपरब्याकहरूलाई सस्तो र नराम्रो भनेर धेरैले बहिष्कार गरिरहेका थिए । लेनले उत्कृष्ट साहित्य सस्तो मूल्यमा बेच्ने विचार गर्छन् । र, यसरी सन् १९३५ मा पेन्गुइन बुक्सको जन्म भएको थियो ।

यसको रातो पृष्ठभूमिमा कालो र सेतो रङको लोगो छ । जुन राख्न लेनकी सचिवले सुझाव दिएकी थिइन् । त्यसपछि लन्डन चिडियाखानामा लोगोमा देखिएको कालो र सेतो पेन्गुइनको स्केच गरिएको थियो ।

सुरुमा उनले १० पुस्तक छापेका थिए । तिनको मूल्य केवल ६ पेन्समा राखिएको थियो । तिनमा अगाथा क्रिस्टीको द मिस्टेरियस अफेयर एट स्टाइल्सको पुनर्मुद्रण पनि समावेश थियो ।

राम्रो किताब सस्तोमा उपलब्ध गराएकाले यो प्रकाशन गृहले एक वर्षभित्रमा ३० लाख पुस्तक बेच्न सक्यो । त्यसले पुस्तक प्रकाशन क्षेत्रमा एउटा क्रान्ति नै सुरु गरेको थियो ।

अहिले पेन्गुइन बुक्स पेन्गुइन र्‍यान्डम हाउसको इम्प्रिन्ट रूपमा रहेको छ । जुन सन् २०१३ मा अमेरिकी प्रकाशक र्‍यान्डम हाउससँगको मर्जरबाट बनेको एउटा समूह हो ।

र्‍यान्डम हाउस भने जर्मन मिडिया समूह बर्टेल्सम्यानको सहायक कम्पनी हो । पहिले पेन्गुइन ग्रुप पूर्णरूपमा ब्रिटिश पियर्सन पीएलसीको स्वामित्वमा थियो ।पेन्गुइन र्‍यान्डम हाउसबनेपछि भने पियर्सनको हिस्सा २५ प्रतिशतमा खुम्चियो ।

अप्रिल २०२० देखि भने पेन्गुइन र्‍यान्डम हाउस बर्टेल्सम्यानको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी बनेको छ ।

आज यो विश्वको पाँच ठूला मध्येको एक प्रकाशन गृह हो । ५ ठूला प्रकाशन गृहमा होल्ट्ज्ब्रिन्क/म्याकमिलन, ह्याचेट, हार्परकोलिन्स र साइमन एण्ड शुस्टर रहेका छन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?