News Summary
Generated by OK AI. Editorially reviewed.- रचना दाहालले ६ डिसेम्बर २०१९ मा पहिलो गीत 'भुमरी' युट्युबमा राखेकी थिइन् र पाँच वर्षमा करिब १५ गीत निकालिसकेकी छिन्।
- कोभिड-१९ महामारीले उनको सांगीतिक यात्रामा तीन वर्षको विराम ल्यायो, जसलाई उनले आफ्नो 'पिभोटल पोइन्ट' मान्छिन्।
- उनको गीत 'आज्ञा' टिकटकमा धेरै सर्कुलेट भएको छ र यो गीतमा गितारवादक सुयेश सिंहको ऊर्जा रहेको रचनाले बताइन्।
उनी हिट भन्ने कुरामा विश्वास गर्दिनन् । कर्ममा विश्वास गर्छिन् । र, सकेसम्म त्यस्ता गीतहरू निकाल्छिन्, जुन नेपाली समाजमा कमै निस्किन्छ ।
उनको आवाज, शब्द, धुन र प्रस्तुती सबै फरक हुने गर्छ । तर सबैलाई त्यो मन नपर्न सक्छ । उनका खास श्रोता हुन्छन् । जो मोहनी लागे जसरी तानिन्छन् । र मन्त्रमुग्ध हुन्छन् । उनी हुन्, रचना दाहाल ।
उनले आफैं लेख्ने र संगीत भर्ने गर्छिन् । तर उनको औपचारिक सांगीतिक करियरको लम्बाइ त्यति लामो छैन । ६ डिसेम्बर २०१९ मा हो, उनले पहिलो गीत ‘भुमरी’ युट्युबमा राखेको । त्यो आधारमा उनको यो यात्रा केवल पाँच वर्षको हुँदैछ।
तर यो बीचमा उनले नेपाली श्रोतामाझ एउटा नयाँ स्वाद दिइन् । करिब १५ गीत निकालिन् । र आफ्नो वजन वर्षौदेखि संगीत गरिरहेकाहरू भन्दा बढी नै बनाइन् ।
लेख्नु र त्यसलाई कुनै एउटा ठोस धुन दिनु आफैंमा गाह्रो काम हो । उनीसँग पनि आफूले बनाएका गीतहरूको धुन अन्य गीतसँग मेल खाएको प्रशस्त अनुभव छ । र आजको दिनसम्म पनि उनलाई गीत लेखन र रचनाभन्दा रेकर्डिङमा बढी समय लाग्छ । कारण उनलाई आवाज छुट्टै हुनुपर्छ । त्यसले केही भनिरहेको हुनुपर्छ । केही सोच्ने बनाउनुपर्छ ।
उनका लागि यो टर्निङ पोइन्ट भने कोभिडले ल्याइदियो ।
जब उनले आफ्नो पहिलो गीत निकालिन्, देशमा कोभिड महाभारीका कारण लकडाउनमा गयो । यसले गर्दा भर्खरै बामे सर्दै गरेको उनको सांगीतिक यात्रामा ठूलो विराम लाग्यो ।
युट्युबमा हेर्दा पनि त्यो विराम थाहा पाउन सकिन्छ । किनकि उनले तीन वर्षसम्म नयाँ गीत निकालिनन् । तर उनी त्यही लामो अन्तरलाई आफ्नो ‘पिभोटल पोइन्ट’ वा मुख्य मोड मान्छिन् ।
कारण यो बीचमा उनले अरु नयाँ गीत बनाइनन् । केही गर्नै नसक्ने अवस्थामा पुगिन् । प्रेरणाको कमी महसुस गरिन् । तर आफैंलाई सान्तवना दिँदै सामान्य हुँदै पनि गइन् ।
यसले उनलाई एउटा पाठ सिकायो । र त्यसको केही समयपछि स्टोर्मक्रो फ्रेमवर्कमा लाइभ सेसन गरिन् । जसमा उनले औपचारिक रूपमा रेकर्ड नगरेका गीतहरू गाएकी थिइन् ।
तर दु:खद् कुरा त्यस लगत्तै उनको नजिकको साथी तथा गितारवादक सुयेश सिंह स्वर्गे हुन पुगे ।
विक्षिप्त बनेकी रचनालाई त्यो समयमा अर्को कुराले खुसी दिइरहेको थियो । सोही लाइभ सेसनमा गाएका ‘आज्ञा’, ‘हे भगवान’, ‘दागबत्ति’ धेरैले सुन्न थालेका थिए ।
विशेषत: टिकटकमा ‘आज्ञा’ बढी सर्कुलेट भइरहेको थियो । यो कुरा स्वयं रचनालाई समेत थिएन । पछि मात्रै उनले थाहा पाइन् ।
‘उहाँ (सुयेश सिंह)ले माया छाडेर जानु भएर होला, त्यो गीत आफैं सर्कुलेट भइरहेको रहेछ । मलाई नै थाहा थिएन,’ उनले भनिन्, ’उहाँले आफ्नो ऊर्जा यो गीतमा छाड्नु भए जस्तो पनि लाग्छ । त्यसैले होला आज धेरैले गीतलाई माया गरिरहनु भएको छ ।’
यसआधारमा उनको प्रमुख मोड स्टोर्मक्रो फ्रेमवर्कमा लाइभ सेसन गर्नु पनि हो ।
भ्युजलाई नै आधार मान्ने हो भने आजको दिनमा ‘आज्ञा’ उनको सबैभन्दा हिट गीत हो । तर त्यसबेलै उनको पहिलो गीत ‘भुमरी’ पनि हिट भइसकेको थियो ।
उनको आधिकारिक युट्युब च्यानलमा सबैभन्दा बढी सुनिने गीत पनि भुमरी नै छ । र, त्यस गीतमा आएका प्रेरणाहरूले नै आफूलाई अगाडि बढ्न सहयोग मिलेको उनको भनाइ छ ।
‘वास्तवमा हिट के हो, थाहा छैन । तर आज्ञा सुनेर मलाई माया गर्न थाल्नुभयो । मलाई बरु १० जनाले सुनोस्, तर माया गरोस् जस्तो लाग्छ’ उनले भनिन् ।
बाल्यकाल देखिनै निर्भाना, गन्ज ए रोजेज जस्ता ब्यान्ड/कलाकारहरूको पश्चिमी अंग्रेजी संगीतबाट प्रभावित उनले आफूलाई पनि त्यस्तै शैलीमा ढालेकी छिन् ।
बाल्यकालमा उनी भ्याएसम्म गीत नै सुनेर बस्थिन् । र, टेलिभिजनको रिमोटलाई माइक बनाएर आफूलाई गायक नै ठान्थिन् ।
आज उनको त्यो सपना वास्तविक बनेको छ । कोभिड-१९ महामारी आउदैनथ्यो भने उनको कथा अर्कै हुन्थ्यो । यही समयमा गुपचुप तरिकाले धेरै श्रोतामाँझ पुगेकी रचनाको लागि ‘भुमरी’ यस्तो पहिलो गीत बन्दियो, जसले उनी को हुन्? स्पष्ट भनेको छ ।
प्रतिक्रिया 4