
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले चार वर्षे कार्यकाल सकिएसँगै नियमित महाधिवशेन गर्दा नै उपयुक्त हुने बताएका छन् ।
सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको चारवर्षे कार्यकाल आगामी महाधिवशेनमा सकिँदैछ । पार्टीलाई यथास्थितिबाट अघि बढाउन र विग्रहबाट रोक्न १५ औं महाधिवेशन मंसिरमा गर्न उनले नेतृत्वलाई सुझाव दिएका छन् ।
पार्टीभित्र हाल मूलत चार विकल्पका बारेमा नेताहरूले धारणा राखिरहेका छन् । नियमित वा विशेष महाधिवशेन, संयोजक तोकेर वर्तमान समिति विघटन र देउवाकै निरन्तरता हुनुपर्ने विचार नेताहरूले राखेका छन् ।
नेता शाहीले सबैको भावना र विचारलाई सम्मान गर्दै मिलनविन्दु खोज्न नियमित महाधिवेशन उपयुक्त विकल्प हुने अनलाइनखबरसँग बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षरपछि महाधिवशेन बोलाउन समेत तीन महिना लाग्ने भएकाले जटिलता रहेको उनलेब ताए ।
शाहीले भने, ‘अहिले विशेष महाधिवेशन भनेर कुरा गर्दा क्रान्तिकारी विचार त सुनिएला तर यसका लागि तीन महिना लाग्छ । त्यसबेलासम्म त चुनाव आइसक्छ त्यसैले मंसिरमा नियमित महाधिवेशन गर्दा झनै छिटो र छरितो पार्टिले नया नेत्तृत्व प्राप्त गर्छ ।’
पुरानै प्रतिनिधिबाट पार्टी नेतृत्व चयन गर्नु टालटुले समाधान मात्रै हुने उनको धारणा छ । नियमित महाधिवशेन गर्दा प्रतिनिधिका रुपमा नयाँ पुस्ता आउने हुँदा जेनजीको मागलाई समेत सम्बोधन गर्ने बाटो खुल्ने उनले बताए ।
शाही भन्छन्, ‘नयाँ सदस्यतालाई बन्द गरेर, जेनजीलाई पार्टीमा आउने प्रक्रिया बन्देज गरेर कसरी पार्टी परिवर्तन र रुपान्तरण गर्न सकिन्छ ?’
अबको महाधिवेशनबाट युवा पुस्तालाई पनि पार्टीको मूलधारमा जोड्न पनि पुरानै प्रतिनिधि नभयर नया सदस्य र नयाँ प्रतिनिधिमार्फत अब नियमित महाधिवेशन गर्दा उत्तम हुने उनले बताए ।
प्रतिक्रिया 4