+
+
Shares

घुम्न-बस्न पोखरा सुरक्षित छ: होटल संघ

जेन–जी आन्दोलनपछि पनि पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तमतयार रहेको सन्देश प्रवाह गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल संघ पोखरा नेपालले जेन–जी आन्दोलनपछि पनि पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै देशविदेशका पाहुनालाई भ्रमणका लागि आग्रह गरेको छ।
  • संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका १२०० होटलमा ४० हजार विस्तारा रहेको र पर्यटकलाई कुनै समस्या नहुने जानकारी गराएका छन्।
  • सडक र हवाई सेवा सुरक्षित रहेको, पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत रहेको र संघले पाहुनालाई पोखरा भ्रमणका लागि स्वागत सन्देश दिएको छ।

१२ असोज, पोखरा । होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ। जेन–जी आन्दोलनपछि पनि पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तमतयार रहेको सन्देश प्रवाह गरेको हो।

नेपालीको घरआँगनमा भित्रिएको दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका संचारकर्मीमार्फत् पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो।

कार्यक्रममा छोटो मन्तव्य राख्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरु सबै पर्यटकीय संरचना यथावत र सेवा दिने अवस्थामा रहेको जानकारी गराए। ‘हामीसँग एक हजार दुई सय होटलमा ४० हजार विस्तारा छन्’, उनले भने– सयौं रेष्टुराँ पनि सेवाका लागि तत्पर छन्, पोखरा आउने पाहुनालाई कुनै समस्या हुने छैन।

मुख्य पर्यटकीय मौसमको मुखैमा आएर जेन–जी आन्दोलन हुँदा पर्यटन उद्योग नकारात्मक रुपमा प्रभावित भए पनि यो विस्तारै पुरानै लयमा फर्कने आसा व्यवसायीहरूले व्यक्त गरेका छन्। होटल क्षेत्रमा मात्र नभई अन्य पर्यटकीय प्रतिष्ठान र सेवाहरूमा समेत व्यवसायीहरू भारि छुट दिएर पाहुनालाई स्वागत गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए।

काठमाडौ, चितवन र वुटवल लगायतका शहरबाट पोखरा जोडिने सडकहरू सुरक्षित र चुस्त रहेको स्मरण गराउँदै सुवेदीले काठमाडौंबाट अहिले पाँचै घण्टामा सडकमार्गबाट पोखरा आउन सकिने बताए। राति अवेर हवाई सेवा मार्फत् पोखरा पुग्ने चाहना राख्ने पर्यटकले समेत त्यस्तो सुविधा पाउने अवस्था रहेको उनले बताए।

अहिले चाडवाडको मौसम सुरु भएको र यो मौसममा नेपालका विभिन्न ठाउँबाट पाहुनाहरू पोखरा घुम्न आउनेमा आफूहरू आशावादी रहेको सुवेदीले सुनाए। आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिको क्रममा पोखराको पर्यटन शुन्यमा पुगे पनि आफूहरू पुनः उठ्नेमा विश्वस्त रहेको उनले बताए।

‘विभिन्न विपत्ति र अफ्ठ्याराहरू सामना गर्दै, पुनः उठ्दै हामी आएका छौं,’ एक भिडियो सन्देशमा सुवेदीले भनेका छन्, यो पटक पनि हामी पुनः उठ्ने छौं। अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी दर २५ प्रतिशत हाराहारीमा रहेको जानकारी पनि संघका तर्फबाट दिइएको छ।

अहिले पोखराका हिमालहरू पनि खुल्न थालेको, पर्यटकहरू पदयात्रामा जाने आउने क्रम नरोकिएको र शान्तिसुरक्षा पनि पूर्ववत् अवस्थामा रहेकाले पोखरा भ्रमणका लागि संघले पाहुनालाई आग्रह गरेको हो। यसैगरी होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पोखरा जिवित र चलायमान शहर भएको बताउँदै होटल, रेष्टुराँ र अन्य पर्यटकीय प्रतिष्ठानहरू सेवाका लागि आतुर रहेको सन्देश जारी गरेका छन्। पोखरा निकै सुन्दर शहर रहेको भन्दै उनले एक भिडियो सन्देशमार्फत् यहाँको हरियाली र खुलेका हिमाल मुनी घुम्न र रमाउन आउनका लागि पाहुनालाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?