
News Summary
Generated by OK AI. Editorially reviewed.- महावीर पुनले आफ्नो पुस्तक \'महावीर पुन : सम्झना, सपना र अविरल यात्रा\' बेचेर वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि पैसा जुटाएका छन्।
- महावीर पुनले मन्त्री भएपछि मन्त्रालयमै ओछ्यान र भान्साको व्यवस्था गरी त्यहीँ सुत्ने र खाने बन्दोबस्ती मिलाएका छन्।
चिमोट्दा पनि ‘ऐय्या’ नभन्ने, काउकुती लगाउँदा पनि ‘खित्का’ नछाड्ने मान्छे को होला ?
सम्भवत: महावीर पुन ।
न तपाईं उनलाई गालीले गलाउन सक्नुहुन्छ, न फुर्क्याएर ढाडमा चढाउन सक्नुहुन्छ । आफ्नै ज्ञान, शिल्प र ख्यातिको आलोकमा उभिएका उनी यस्ता मान्छे हुन्, जसलाई तपाईं न लडाउन सक्नुहुन्छ न उचाल्न।
लोभ, मोह, अंहकार, कुण्ठा, प्रतिशोध जस्ता विकारबाट मुक्त उनलाई आफ्नो कर्म भन्दा दायाँबायाँ केही गर्नु छैन । यी कर्मयोगीलाई दुश्मनी मोलेर लखेट्न सकिँदैन । न त चाकडी गरेर फाइदा लिन नै । कसैले सही भनेथ्यो, ‘महावीर पुनलाई घुस खुवाउन असजिलो छैन, असम्भव छ ।’
लगभग वर्षदिन अघिको शरद ऋतुमा आफ्नो पुस्तक बोकेर उनी शहरतिर निस्किएका थिए, विक्री गर्नका लागि । ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ शीर्षकको त्यो पुस्तक आफूलाई अमर बनाउन लेखिएको थिएन । दुनियाँलाई आफ्नो गुणगान सुनाएन लेखिएको थिएन । आफूलाई लेखक बनाउनका लागि लेखिएको थिएन ।
न भात खान लेखिएको थियो, न नाम कमाउन । त्यो यसकारण लेखिएको थियो, ताकि स्वदेशमै कृषि औजार बनाउन सकियोस् । खेती किसानीलाई छरितो बनाउन सकियोस् । कृषिलाई यान्त्रीकरण गर्नमा सहयोग पुगोस् ।
उनी स्पष्ट भनिरहेकै थिए, ‘यो पुस्तक बेचेको पैसा चाहिँ वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि हो है ।’
…………..
हनुमाने हाप पाइन्ट, फ्याटफ्याटे चप्पल, मामुली टिसर्ट र ढाका टोपी । यही हुलियामा उनी केही थान किताबको भारी थाप्लोमा राखेर देशभरका शहर–बजार पुगे ।
चोक–चोकमा उभिए । एउटा साउन्ड बक्स जोडे र आसपासको ध्यानआकर्षण गर्दै भने, ‘मसँग फोटो खिचाउन रहर हुनेले आउनुहोस् । फोटो खिचेको पैसा लाग्दैन । तर किताब किन्नुभयो भने पैसा लाग्छ ।’
बोलीको प्रष्ट र पक्का । मनको सफा र चंगा । ‘रहर हुनेले मसँग फोटो खिच्नुहोस्’ भन्ने बोलीमा दम्भ होइन निश्चल मनको प्रतिध्वनि सुनिन्छ । उनको यो सादगीपनलाई देखेर मान्छेहरू हाँसेनन्, दिल्लगी गरेनन्, हियाएनन् । बरू उनीसँग उभिएर फोटो खिचे । मनखुसी किताब किने । अनि हार्दिकताले हस्ताक्षर गराए, अजम्बरी चिनो स्वरूप ।
किताब बेचिरहेकै ठाउँमा कसैले उनलाई मम खुवाए, कसैले हरियो मकै । कसैले गोलभेडा र टिमुरको तिख्खर अचारसँग ढिडो खुवाए । सत्य, निष्ठा र इमानलाई समाजले कति श्रद्धा गरेको ?
उनलाई मान्छेले घर–घरमा निम्तो गरे, स्कुल–स्कुलमा पुर्याए । साना बालबालिकाको अघिल्तिर पुगेर उनले आफ्नै शैलीमा यसो भने, ‘मै हुँ महावीर पुन, तपाईंहरूले किताबमा पढ्नुभएको थियो मलाई ? त्यो महावीर म नै हुँ ।’
………..
केही साताअघिसम्म उनी यसरी नै किताबको ठेली बोकेर पाँचथरतिर लम्किँदै थिए । धुस्रेफुस्रे भएर हिँडिरहेका उनीसँग आस्था र इमानको कति गुरुत्वबल रहेछ ? उनलाई ‘मन्त्रीको रूपमा’ देख्न इच्छुक जन–भावनाले त्यसको जवाफ दिन्छ । महावीरलाई मन्त्रीको अफर गरिएको थिएन, आग्रह थियो । मन्त्रीको सपथ लिएर कार्यस्थल प्रवेश गरिरहँदा भन्दै थिए, ‘किताब बेच्दै गरेको मान्छेलाई अर्पझट मन्त्री बनाइदियो । सेवा सुविधा मलाई केही चाहिँदैन । म त यहीँ ओछ्याउन लगाउने हो । यहीँ सुत्ने हो ।’
उनको कुरा सुनेर उपस्थित सज्जनहरू गलल हाँसे । यसकारण हाँसे, सायद एउटा मन्त्री जस्तो ग्ल्यामर पदमा पुगेका मान्छेले फगत ठट्यौली गरेका हुन् । तर त्यो ठट्यौली थिएन ।
उनले मन्त्रालयमै ओछ्यान र भान्साको व्यवस्था गर्न लगाए । त्यहीँ खाने, त्यहीँ सुत्ने, त्यहीँ काम गर्ने बन्दोबस्ती मिलाए । यो अनौठाभन्दा बढी उदाहरणीय काम थियो । किनकि महावीर पुन आफैंमा उपदेश होइन, उदाहरण हुन् ।
उनलाई चिप्लोचाप्लो भाषामा अन्तर्वार्ता दिन आउँदैन, चर्को–चर्को भाषण गर्न आउँदैन । न चमत्कार गर्ने गफ दिन सक्छन्, न जग हँसाउने उखान भन्न । उनलाई केवल एउटै कुरा गर्न आउँछ, काम ।
यी कर्मयोगीलाई कतिले बुझ्दैनन् सायद । तिनीहरू सोधिरहेका हुन्छन्, ‘मन्त्रालयमै सुत्दा कस्तो हुँदोरहेछ ? तपाईंले यहाँ के पकाएर खानुभयो ? अस्ति अरू मन्त्रीले तपाईंलाई हेपेर काँधमा हात राखे नि ?’
उनलाई यस्ता ‘ननसेन्स’ प्रश्नहरूले झर्को लाग्ने नै भयो । उनी भनिरहेका हुन्छन्, ‘छि: छि: यस्तो कुरा नसोध्नुहोस् । जानुस् तपाईंहरू ।’
पत्रकारलाई आफ्नो घेरामा राखेर मिठोमसिनो कुरा सुनाउन छैन उनलाई । त्यसैले त उनी जस्तालाई तस्तै जवाफ फर्काइरहेका हुन्छन् । जस्तो, अस्पतालमा जेनजी प्रदर्शनका घाइतेलाई भेट्न पुग्दा केहीले उनलाई सोध्छन्, ‘घाइतेलाई राहत पुग्ने के ल्याउनुभएको छ ?’
उनी मुखैमा जवाफ दिन्छन्, ‘स्याउ । स्याउ ल्याइदिएको छु ।’
…………………..
उनी इमानी हुन्, लाटो होइनन् । उनी कर्मठ हुन्, लाचार होइनन् । उनले घुस खान नजान्ने होइनन् होला । तर, घुस खान हुँदैन भन्ने कुरालाई बोध गरेका होलान् । किनभने उनी जस्तो देखिन्छन्, त्यो भन्दा कैयौं गुणा प्रभावशाली छन् ।
उनको विगतले त्यसै भन्छ ।
म्याग्दीको विकट गाउँमा जन्मिएको एउटा ठिटो छात्रवृत्तिमा पढ्न अमेरिका पुग्छन् । नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नात्तकोत्तर गर्छन् । अनि आफ्नै गाउँ नांगी फर्कन्छन् । त्यही गाउँ, जहाँ उनका कलिला खुट्टाहर”ले हिँड्न सिक्यो । सानो छँदै बसाइँ सरेर छाडेको गाउँमा वर्षौंपछि फर्कँदा उनलाई कसले चिन्ने ? तर, उनी त्यही गाउँबाट यस्तो कामको थालनी गर्छन्, जसले विश्वमाझ उनलाई चिनाइदिन्छ ।
आखिरमा ब्रान्ड बन्छ, महावीर पुन ।
गोर्खा आर्मीका छोरो महावीर पुनले आईएससी सक्काएर पढाउने काम गरे । सोही क्रममा छात्रवृत्ति पाएर अमेरिका पुगेका उनी स्नाकोत्तर गरेर गाउँ फर्किए । गाउँमा हिमाञ्चल उच्च मावि स्थापना गरे । त्यो दूरदराज गाउँमा उनलाई कम्प्युटर प्रणालीबाट पठनपाठन गराउने हुटहुटी जाग्यो । उनले देश–विदेशमा बस्ने साथीभाइ गुहारे र कम्प्युटर जोरजाम गरे ।
कम्प्युटर चलाउनका लागि स्थानीय खोलाबाट विद्युत उत्पादन गरे । यतिमै उनी रोकिएनन् । गाउँभर इन्टरनेटको व्यवस्था गर्ने योजना बनाए । उनको यो महत्वकांक्षी योजनालाई बीबीसीले प्रसार गरिदियो । अन्ततः विश्वभरका कतिपय दाता उनको कामलाई होस्टेमा हैंसे गर्न तत्पर भए । त्यसरी जुटेको सहयोगबाट उनले नांगी र राम्चे आसपासका गाउँमा ताररहित इन्टरनेट सुविधा दिलाए । सन् २००३ मा यी दुई गाउँ इन्टरनेटबाट विश्वसँग जोडियो ।
गीतामा एउटा वाक्यांश छ, ‘कर्म गर तर फलप्रति आशक्ति नराखी गर ।’ महावीर पुन कुनै लाभ–हानीको हिसाब गरेर यो कर्ममा लागेका थिएनन् । उनलाई त केवल सार्थक कर्म गर्नु थियो । आखिर यही कर्मले उनलाई म्यागसेसे सम्मान दिलायो । र, फराकिलो चिनारी पनि ।
प्रतिक्रिया 4