
१२ असोज, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनपछि नेकपा एमालेको पहिलोपटक सचिवालय बैठक बसेको छ ।
बैठक भक्तपुरस्थित गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको थियो । बैठकले तीन वटा निर्णय गरेको छ ।
जस अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयमा एमालेले गम्भीर ध्यानाकर्षण गराएको छ । एमालेले यसलाई प्रतिशोधयुक्त निर्णय समेत भनेको छ ।
‘यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ,’ एमालेको निर्णयमा उल्लेख छ ।
नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न पनि एमालेले ध्यानाकर्षण गराएको छ ।
यस्ता छन् निर्णय :
१) भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गंभीर प्रश्न खडा गरेको छ ।
२. हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ ।
३. पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।
प्रतिक्रिया 4