
१३ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजीले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव रहेको बताएका छन् ।
बडा दशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले दशैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहकाकारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएको समेत बताएका छन् ।
विद्रोहका क्रममा जीवन गुमाएका नागरिकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सभामुख घिमिरेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अगाडि लेख्छन्, नष्ट भएकासरकारी तथा निजी संरचनाहरूको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने विश्वास लिएको छु ।’
युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान संशोधनीय दस्तावेज भएको स्मरण गरेका छन् । उनी अगाडि लेख्छन्, ‘तीमागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ ।’
लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिने सभामुख घिमिरेको विश्वास छ । यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा उनी दृढ छन् ।
सभामुख घिमिरेका अनुसार बडा दसैं मिलन, मेलमिलाप र एकताको चाड पनि हो । ‘पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य र एकता आवश्यक छ’ उनी लेख्छन्, ‘अग्रजको अनुभव र नवयुवाको जोशलाई एकाकार गर्दै नयाँ नेपालको निर्माणमा सबै लाग्न सकौं भन्नेमा म दृढ छु ।’ पर्वले सबैलाई सहिष्णुता, आपसी सद्भाव र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरोस् भन्ने पनि उनको शुभकामना छ ।
प्रतिक्रिया 4