
१३ असोज, काठमाडौं । केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ ।
आइतबार दिउँसो उपत्यकाका विभिन्न ४/५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो । सीआईबीका एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको हो ।
सो क्रममा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइसमेत रहेका राणाको घरमा पनि छापा मारेको हो ।
‘हिजो हामीले ४–५ वटा ठाउँमा छापा मारेका थियौं । केही भेटिने सूचना पाएपछि छापा मारिएको हो,’ केसीले भने । कुन कुन ठाउँमा छापा मारेको भन्ने सबै प्रहरीले खुलाएको छैन ।
जावलाखेलस्थित भूषणको घरमा प्रहरी पुग्दा उनी भने घरमा थिएनन् ।
‘उहाँ (भूषण राणा) घरमा हुनुहुन्न थियो,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले शंका लागेका केही कुराहरूमा खानतलासी गरेका हौं ।’
तर, अनुसन्धानकै विषय रहेकाले के के बरामद भएको भन्ने खुलाउन नमिल्ने एक प्रहरी अधिकारी बताउँछन् ।
निवर्तमान परराष्ट्रमन्त्री राणाले गर्ने धेरैजसो डिलमा भाइ भूषणले डिल गर्ने गरेका थिए । उनी प्रतिनिधिका रुपमा खटिने गरेको सूचना प्रहरीले पाएको थियो ।
यसअघि पनि भूषण विभिन्न ठेक्कापट्टाका विषयमा विवादमा तानिँदै आएका थिए ।
गत २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देउवा निवास बुढानीलकण्ठमा आगजनी भएको थियो । आगजनीका क्रममा देउवाको घरबाट जलेका नोटहरू फेला परेकोबारे सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहात राखेको यो विभाग वर्तमान सरकारले मन्त्रालयमै फर्काइदिएको छ ।
यसैबीच देउवाका नजिकका नातेदार रहेका भूषणको घरमा गरिएको यो छापाबारे सर्वत्र चासो छ ।
प्रतिक्रिया 4