एमाले अध्यक्ष केपी ओली र हामी नेपालका संयोजक सुदन गुरुङलाई चुप लाग्नुस् भन्न त सकिएन । तर दुई दिनयता ओलीले बोलेका लगामबिहीन बोली, अनि गुरुङका रिपोर्टस् क्लबदेखि अलजजिरा वार्तासम्म सुनिसक्दा लाग्यो– साँच्चिकै फागुनमा चुनाव गराइछाड्ने हो भने कम्तिमा यी दुई मुर्धन्य प्रतिभाहरूले हाललाई कमभन्दा कम बोलेर सहयोग गर्नुपर्यो ।
नत्र फागुनमा गर्ने भनेको चुनाव एकादेशको कथा हुनसक्छ । कथामात्रै भए त ठिकै हुन्थ्यो, त्यसले दिने राजनीतिक अनिश्चितताको व्यथा लामो जानेवाला छ ।
त्यसैले प्रधानमन्त्री सुशीला कार्कीले फागुनमा चुनाव गर्ने साँच्चिकै सोचेको हो भने क्याबिनेटमा एउटा मन्त्री थप्नुपर्ने देखियो– दलसम्पर्क मन्त्री । उसको केवल एक मात्रै काम, कर्तव्य अधिकार हुनेछ– कांग्रेस, एमाले, माओवादी, रास्वपादेखि हरियाली नेपाल पार्टी समेतसँग बिहानदेखि रातिसम्मै संवाद गरेको गर्यै गर्नु ।
यो मन्त्रालय यसकारण पनि आवश्यक पर्न गयो कि, अहिलेका केही मन्त्रीहरूको अनुहार र व्यवहार हेरेका भरमा चुनावको सम्पूर्ण माहोल बनिहाल्छ भनेर ढुक्क हुन सकिएन । इमान एउटा कुरा हो, योग्यता अर्को कुरा । संक्रमणकालीन सत्ता सन्चालनमा एउटा मात्रै विशेषता छान्न मिल्दैन ।
त्यस्तो दलसम्पर्क मन्त्री को होला ? कार्कीले न त यो कुरा कांग्रेस एमालेलाई सोध्न मिल्छ, न त जेनजी अगुवालाई । त्यो उनको अन्तरआत्माको विवेकले गर्ने कुरा हो । त्यस्तो पात्र खोज्दा अहिलेका स्थापित दल, वा अब खुल्न लागेका दलका अगुवाले बालुवाटारमा गएर कार्कीसँग बखेडा गर्न मिल्दैन । अहिलेको मुलुकको मार्गचित्र नै पूर्वप्रधानन्यायाधीश कार्की, जो बहालवाला कार्यकारी हुन्, उनले न्यायिक मन प्रयोग गरेर राजनीतिक निकास खोज्नुपर्छ भन्ने हो ।
नत्र दलहरूको विश्वास नलिईकन अहिले केही मन्त्रीले बोलिरहेका टिप्पणी, अनि जेनजी अगुवाका उर्जावान् आवाजमात्रैले निरन्तरता पाइरहे भने चुनावको माहोल बिथोलिन्छ ।
याद गरौं, ठूलो युवा विद्रोहपछिको चुनाव गराउन केवल निर्वाचन आयोगको सक्रियताले पुग्दैन । चुनाव अन्तत: प्राविधिक नभई राजनीतिक प्रक्रिया हो ।

सरकारलाई यति भनिसकेपछि अब पार्टीहरूतिर आऊँ । खासगरी चारवटा पार्टीहरू– अर्थात् कांग्रेस, एमाले, माओवादी र रास्वपा । अरु पार्टीहरूको नाम यो भिडियो कमेन्टमा छुटे पनि तिनको मूलभूत प्रवृत्तिहरू खोज्दैजाँदा यिनै चार दलभित्र धेरथोर अँटाइहाल्छन् ।
इतिहास पढ्दा थाहा हुन्छ– खास खास घुम्तीमा खुलेका यी चार पार्टीहरू आफैंमा त्यो समयका विकल्प थिए । सात दशक पुराना कांग्रेस एमाले, तीन दशक पुरानो माओवादी, अनि तीन वर्ष पुरानो रास्वपाको विरासत लामो छोटो भए पनि इतिहासमा तिनीहरूको भूमिका घटाएर तौलिन मिल्दैन ।
तर यी चार पार्टी आफ्नो समयका विकल्प थिए भन्दैमा चन्द्रसूर्य झन्डा रहिन्जेलसम्म सदाकालका लागि निर्विकल्प हुन् भन्नचाहिँ मिल्दैन । एउटा कुरा भनिहालुँ, म निर्दलीय व्यवस्थाको पक्षपाती चाहिँ होइन । लोकतन्त्रलाई दलतन्त्रबाट कसरी जोगाउने भनी चिन्ता गरिरहने व्यक्ति भने अवश्यै हुँ ।
यसो भन्नुको खास कारण छ । जेनजी विद्रोहपछि स्थापित दलभित्र आन्तरिक लोकतन्त्र र सुधारको ठूलो आवाज उठेको हो, तर शीर्ष नेताहरूले यसलाई बेकारको बखेडाबाहेक केही ठूलो भाउ दिएनन् ।
कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत केही नेतालाई छाड्ने हो भने त्यहाँ पार्टी पुनर्गठन कांग्रेसको मूल एजेन्डा बन्न सकेको छैन । बन्ने कुनै छनक पनि देखिँदैन । सिद्धान्तविहीन गठबन्धनको महामारीमा संक्रमित हुँदाहुँदा कांग्रेसहरूले यो बीचमा मूल्यमान्यता यसरी छाडिसकेका छन् कि यिनले साँच्चिकै चाहे भने कुनै बेला रुखमा समेत भोट हाल्न सक्छन् ।
एमालेको शैली हेर्दा यस्तो लाग्छ– एमाले भनेकै ओली । ओली भनेकै एमाले । किनकि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत थोरै नेताले मात्रै पुनर्गठनको आवाज उठाएका छन् । बाँकी आवाजहरू गुण्डुकै हावापानीमा समाहित भएजस्तो लाग्छ । मेरो चाहना छ, एमालेले मलाई असत्य प्रमाणित गरिदेओस् । तर ओलीले हामीलाई निराश बनाउँदैनन् ।
माओवादी बैठकले प्रचण्डबाहेक सबैलाई पद खोसेर समान बनाइदियो । त्यो पार्टीभित्रका असहमत स्वरहरूलाई प्रचण्डले माधव नेपालदेखि अशोक राईसमेतलाई जोडेर थप किनारातर्फ धकेल्न सक्छन् ।

अझै पनि नवजात अवस्थामै रहेको जस्तो लाग्ने रास्वपाका सभापति रवि लामिछाने जेलमा छन् । को व्यक्ति पार्टीभित्र बस्न सक्छ र को पार्टी बाहिर जान सक्छ भन्ने कुरा उनी नक्खुभित्रैबाट निर्णय गर्ने हैसियतमा छन् । यस्तो लाग्छ– बरु रास्वपा कमजोर होला, रवि कमजोर हुँदैनन् । एउटा व्यक्तिको महत्वाकांक्षाका लागि कसरी सिंगै पार्टी जेल बन्न सक्छ, रास्वपालाई हेरे पुग्छ ।
र पनि यी चार शीर्ष नेतामध्ये हरेकले आफ्नो पार्टीलाई विकल्प ठान्छन्, र आफूलाई निर्विकल्प ।
जेनजी विद्रोह यिनीहरूका लागि रातभरिको भारी वर्षाजस्तो मात्रै थियो । बिहानीमा उनीहरू सधैंझैं आँखा मिच्दै ब्युँझिए र उही नित्य कर्म दोहोर्याउन थाले । यिनलाई माफी माग भन्नु बेकार हो । कुन दिन यिनले जेनजीलाई आफूसँग माफी माग भन्न बेर लगाउँदैनन् ।
कुनै बेला यो देशमा राजा निर्विकल्प थिए, जसको पनि इतिहासले विकल्प खोजिसक्यो । राजावादी छक्क छन्, २७ घण्टाको उथलपुथलका कारण सत्तासीन दलहरू पृष्ठभागमा धकेलिए । तै पनि राजा किन आएनन् ?
राजावादीले यसरी पनि बुझ्न सक्थे– जनताले राजा त फाले, यी दलहरूलाई चाहे भने फाल्न सक्दैनन् र ?
तर त्यो त राजावादीहरूको टेन्सनको कुरो भो । म दलहरूमै फर्कन्छु ।
दल भनेका हामी व्यक्तिजस्तै हुन् ।
हामीलाई बिमार लाग्यो भने हामी ओखती खान्छौं । गाह्रै परेछ र अपरेशन गर्नुपरेछ भने त्यसो पनि गर्छौं । वा डाक्टरले के फर्माउँछन्, त्यो गर्छौं ।
यदि हामीले यीमध्ये केही पनि गरेनौं भने कि त हामी असाध्यै जीर्ण भएर मक्किन्छौं । कि त मर्छौं, सक्किन्छौं ।
हामी मर्यौं भने भने घरकाहरू, आफन्तहरूले शोक मनाउलान् । केही समय रिक्तता खड्केला । तर पनि सृष्टिको नियम रोकिँदैन । अर्को कोही आएर हाम्रो अनुपस्थितिलाई सम्हाल्छ ।
त्यसैले कांग्र्रेस, एमाले, माओवादी जस्ता परम्परागत, अनि रास्वपा, जनमत, नाउपाजस्ता नयाँ नयाँ, तर पुराना हुँदै गरेका दलहरूलाई म यो आग्रह गर्छु कि, तपाईंहरू हाम्रा लागि होइन, आफ्नै लागि निको हुनुहोस् । ओखतीमुलोले पुग्छ कि अपरेशन नै गर्नुपर्ने हो, झट्टै जानिफकार विशेषज्ञलाई देखाइहाल्नुस् । कार्यकर्ता र जनताभन्दा जान्नेसुन्ने विज्ञ को होलान् र जोसँग राजनीतिको हावापानी नाप्ने ब्यारोमिटर छ ।
तपाईंहरू नसुध्रेमा के हुन्छ होला ? लोकतन्त्रको विकल्प छैन, तर यसभित्रका खेलाडीहरूको विकल्प छ । तपाईंहरू सच्चिँदा तपाईंहरूलाई फाइदा छ । तपाईंहरू नसच्चिँदा देश डुब्दैन । अर्को खेलाडी आएर लोकतन्त्रको मैदानमा आफ्नो योग्यता देखाउँछ ।
त्यसैले विश्लेषकहरूले, शुभेच्छुकहरूले, आलोचकहरूले यी पार्टीहरूलाई लौन, कृपया सच्चिदिनुपर्यो, नत्र बर्बाद हुनेभयो भनेर रातदिन रोइकराई गरिदिन भएन । उनीहरूलाई स्पष्ट सन्देश दिनुपर्यो, तपाईंहरू हाम्रा लागि होइन, आफ्नै लागि सच्चिदिनुस् । त्यो नै तपाईंहरूका लागि फाइदाकारी छ ।
पार्टीहरू देशका लागि आवश्यक छन्, अपरिहार्य होइन ।
प्रतिक्रिया 4