+
+
Shares

ट्रम्प-नेतान्याहू गाजामा युद्धविराम गर्न सहमत, ट्रम्पको २० बुँदे योजनामा के छ ?

ट्रम्पले भने, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन्।
  • ट्रम्पले भने, 'यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।'
  • हमासले औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारेको छ भने प्यालेस्टिनी सरकारले ट्रम्पको योजनाको स्वागत गरेको छ।

१४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् ।

दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन् ।

ट्रम्पले भने, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।’

लगत्तै नेतान्याहूले थपे, ‘गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ। सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो कार्य सम्पन्न हुनेछ, हमासले मानेन भने इजरायल आफैं पूरा गर्नेछ।’

उता, हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारेको छ । प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनाको स्वागत गरेको छ ।

ट्रम्पको गाजा युद्धविराम योजनामा के छ?

पत्रकार सम्मेलनमा ट्रम्पले दिएको जानकारीअनुसार, योजनामा गाजामा युद्ध रोक्ने, सबै बन्दीलाई छोड्ने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव छ ।

यस बोर्डको अध्यक्षता ट्रम्प स्वयं गर्नेछन्, जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहित अन्य देशका प्रतिनिधि रहनेछन् ।

२० बुँदामा के छ ?

१. तत्काल युद्ध रोक्ने : यो सहमति भएसँऊै गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।

२. इजरायलको फिर्ती : सहमति अनुसार इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।

३. बन्दीमुक्ति : हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।

४. कैदी मुक्त : युद्धपछि इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीलाई मुक्त गर्नेछ ।

५. शव आदान–प्रदान : प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।

६. गाजालाई आतंकमुक्त बनाउने : सबै आतङ्कवादी आधार र हतियार हटाइनेछ ।

७. हमास प्रशासनमा होइन : हमास र अन्य ‘आतङ्कवादी’ले गाजाको सरकारले भाग लिन पाउने छैनन् ।

८. अस्थायी प्रशासन समिति : योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।

९. शान्ति बोर्ड : अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।

१०. पुनर्निर्माण योजना : गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।

११. मानवीय सहायता : तत्काल पर्याप्त सहयोग पुर्‍याइनेछ ।

१२. विशेष व्यापार क्षेत्र : रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।

१३. जनताको स्वतन्त्रता : गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।

१४. सुरक्षा बल : अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।

१५. पुलिस तालिम : उक्त सुरक्षा बलले गाजा प्रहरीले प्रशिक्षण पाउनेछ ।

१६. सीमा सुरक्षा : इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।

१७. लडाइँ बन्द : युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।

१८. मानवअधिकार :अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।

१९. शान्ति वार्ता : इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।

२०. भविष्य योजना : स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।

पत्रकार सम्मेलनमा प्रश्न लिन अस्वीकार

ट्रम्प र नेतान्याहूले पत्रकार सम्मेलनमा कुनै प्रश्न लिएनन् । ट्रम्पले भने, ‘सबै कुरा निश्चित र हस्ताक्षर नभएसम्म यो प्रश्नोत्तर गर्ने समय होइन।’ नेतान्याहूले पनि ट्रम्पकै निर्णयमा विश्वास गर्ने बताए ।

त्यसपछि पत्रकारहरूले प्रश्न सोध्न खोजे पनि दुवै नेताले हात मिलाएर कार्यक्रम अन्त्य गरे ।

नेतान्याहूले सोमबार कतारमा भएको दोहा आक्रमणका लागि औपचारिक रूपमा माफी मागेका छन् । ट्रम्पको आग्रहमा उनले व्हाइट हाउसबाटै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीलाई फोन गरेका थिए ।

उनले भने, ‘हामीले आतंकवादीलाई लक्ष्य बनाएका थियौं, कतारलाई होइन । आक्रमणमा कतारका नागरिकको मृत्यु भएकोमा दुःख छ।’

सेप्टेम्बर ९ मा इजरायली सेनाले हमास नेता खलील अल–हय्यालाई लक्ष्य गरेर दोहामा आक्रमण गरेको थियो । हय्या बच्न सफल भए पनि ६ जनाको मृत्यु भएको थियो, जसमा एक कतारका अधिकारी थिए । यस घटनापछि कतारले मध्यस्थता रोकिदिएको थियो ।

पछिल्लो समय, इजरायलमाथि विश्वव्यापी दबाब बढिरहेकव थियो । हालै संयुक्त राष्ट्रसंघ महासभामा नेतान्याहूको भाषणका क्रममा धेरै देशका प्रतिनिधिहरू बाहिरिएका थिए ।

तर अमेरिका भने इजरायलसँग दृढतापूर्वक उभिएको छ । ट्रम्पले स्पष्ट भनेका छन्, ‘अमेरिका प्यालेस्टाइनलाई देशको मान्यता दिने छैन।’

तर, बेलायत, फ्रान्स, क्यानडा र अष्ट्रेलिया जस्ता इजरायलका पुराना सहयोगीहरूले गाजामा ६६,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएपछि प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिइसकेका छन् । यी सबै देशहरूले इजरायललाई युद्धविराम गर्न दबाब दिइरहेका छन् ।

तर इजरायलका भित्रैका धेरै दलले भने हमास समाप्त नभएसम्म युद्धविराम सम्भव नभएको बताएका छन् । नेतान्याहूले सम्झौता गरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी उनीहरूले दिएका छन् ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको हो । सो आक्रमणमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए । त्यसक्रममा अपहरण गरिएका २५१ जनामध्ये ४७ जना अझै गाजामा छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

उता, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६६ हजार पाँच जना मारिएका छन् । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?