+
+
Shares

गाजा युद्धविराम प्रस्तावमा हमासलाई ट्रम्पको ३ वा ४ दिन समय, के गर्दैछ हमास?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते ७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजा युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिन तीन वा चार दिन मात्र समय दिइएको बताएका छन्।
  • ट्रम्पको २० बुँदे प्रस्तावमा गाजामा तत्काल युद्धविराम, हमासको हतियार त्याग्नुपर्ने र अन्तर्राष्ट्रिय स्थिरीकरण बल पठाउने व्यवस्था छ।
  • गाजामा जारी युद्धले ६६ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ र कुपोषणबाट १७ हजार बालबालिका पीडित छन्।

१५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आफ्नो गाजा युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिन ‘तीन वा चार दिन’ मात्र समय दिइएको बताएका छन्।

उनका अनुसार इजरायली र अरब नेताहरूले पहिले नै यो योजना स्वीकार गरिसकेका छन् ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘हमासले यो स्वीकार्न पनि सक्छ र नस्वीकार्न पनि । नस्वीकारे दुःखद अन्त हुनेछ।’

प्रस्तावमा वार्ताको ठाउँ छ कि भन्ने प्रश्नमा उनले भने, ‘धेरै छैन ।’

ट्रम्पले सोमबार वाशिङ्टन डीसीमा भेट भएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई योजना स्वीकार गरेकोमा धन्यवाद पनि दिए ।

यो टिप्पणी ह्वाइट हाउसले सार्वजनिक गरेको २० बुँदे दस्तावेजपछि आएको हो, जसमा गाजामा तत्काल युद्धविराम, हमासको कब्जामा रहेका इजरायली बन्दी र इजरायली जेलमा रहेका प्यालेस्टिनीबीच साटफेर र चरणबद्ध इजरायली फिर्ता लगायतका बुँदा समावेश छन् ।

योजनाअनुसार हमासले हतियार त्याग्नुपर्नेछ र अमेरिका अरब तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर ‘अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण बल’ पठाउनेछ। हमासले गाजाको शासनमा कुनै भूमिका नखेल्ने र शान्तिपूर्ण सहअस्तित्वमा सहमत हुने सदस्यलाई आममाफी दिइने उल्लेख छ। जो बाहिर जान चाहन्छन्, तिनीहरूलाई सुरक्षित बाटो दिइनेछ ।

ट्रम्पले भने अनुसार, योजनामा गाजामा अस्थायी प्रविधिज्ञ (टेक्नोक्र्याट) सरकार गठन, आत्मशासन, विस्थापितको पुनर्वास र गाजावासीलाई निकालिने छैन भन्ने आश्वासन पनि समावेश छ।

के छ हमासको तयारी ?

हमासको नजिकको एक प्यालेस्टिनी स्रोतलाई उल्लेख गर्दै एएफपीले  हमासले इजरायली प्रधानमन्त्रीको समर्थनमा रहेको गाजा युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ ।

‘हमासले प्यालेस्टाइन र विदेशमा आफ्नो राजनीतिक र सैन्य नेतृत्व भित्र शृङ्खलाबद्ध परामर्श शुरु गरेको’  नाम नछाप्ने सर्तमा बोल्दै स्रोतले जनाएको छ ।

विशेष गरी दोहामा इजरायली आक्रमण पछि नेतृत्वलाई कुराकानी गर्न  गाह्रो भएकाले छलफल गर्न केही दिन लाग्न सक्ने स्रोतले जनाकारी दिएको छ ।

यसै गरी अर्को एक प्यालेस्टिनी स्रोतले पनि हमासले ट्रम्पको योजनाको जाँच गरिरहेको पुष्टि गरेको छ ।

उता, कतारको विदेश मन्त्रालयका अनुसार, हमास वार्ता टोली ट्रम्पको योजना अध्ययन गरिरहेको छ ।

कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल–थानीले भने, ‘योजनाका केही बुँदाले थप स्पष्टता र वार्ताको माग गर्छन् । तर हामी सबै पक्षले यसलाई रचनात्मक रूपमा हेरून् र युद्ध अन्त्य गर्ने अवसरका रूपमा उपयोग गरून् भन्ने आशा राख्छौं ।’

प्यालेस्टाइनको फतह दलले भने युद्ध अन्त्य र नागरिक सुरक्षा गर्ने अमेरिकी प्रयासलाई स्वागत गरेको छ। समाचार एजेन्सी वफाका अनुसार, फतह युद्धविराम सुनिश्चित गर्न, मानवीय सहायता प्रवेश गराउन, बन्दी र कैदीहरूको साटफेर गर्न र अन्तर्राष्ट्रिय संयन्त्र बनाउन तयार रहेको जनाएको छ ।

तर वरिष्ठ फतह नेता अब्बास जकीले अमेरिकी प्रस्तावलाई ‘आत्मसमर्पणको दस्तावेज’ भन्दै आलोचना गरे। उनले चेतावनी दिंदै भने, ‘यसलाई स्वीकार्नु भनेको अपमानलाई चिरस्थायी बनाउनु, कब्जालाई वैधता दिनु र प्यालेस्टिनी एकतालाई खण्डित गर्नु हो ।’

प्रस्ताव होइनअल्टिमेटम

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले अमेरिकी प्रयासलाई स्वागत गर्दै सबै पक्षलाई सम्झौतामा प्रतिबद्ध हुन आग्रह गरेका छन्।

वाशिङ्टनबाट रिपोर्टिङ गर्दै अल–जजीराका माइक हन्नाले भने, ‘ट्रम्पको गाजा योजना प्रस्ताव होइन, अल्टिमेटम हो ।’

उनका अनुसार, ट्रम्पले नेतन्याहूसँग स्पष्ट भनेका छन्, ‘हमासले नमान्ने हो भने इजरायललाई अझ ठूलो कारबाही गर्ने हरियो झन्डा दिइएको छ।’

कतारस्थित हमद बिन खलिफा विश्वविद्यालयका प्राध्यापक सुल्तान बराकतले भने यो योजना ‘समस्याग्रस्त’ भएको बताए।

उनले भने, ‘योजनाको सुरुमा नै हमासले आफ्नो सबै प्रभाव त्याग्नुपर्ने हुन्छ, त्यो पनि उसले विश्वास नगर्ने पक्षलाई । योजना नेतन्याहूको उपस्थितिमा प्रस्तुत गर्ने तरिकाले पनि यो इजरायलको पक्षमा झुकेको देखिन्छ ।’

गाजामा बढ्दो संकट

दुई वर्षदेखि जारी इस्राएल–गाजा युद्ध अन्त्य गर्न अमेरिकी पहल आएको छ, तर प्यालेस्टिनी मृतकको संख्या ६६ हजार नाघिसकेको छ। मानवीय संकट अझै गहिरिँदै छ।

मंगलबार मात्र इजरायली आक्रमणमा डर्जनौँ प्यालेस्टिनी मारिए, जसमा दक्षिण र मध्य गाजामा राहत खोजिरहेका २० जना पनि थिए ।

अल–जजीराका अनुसार, डेइर अल–बाला क्षेत्रमा इस्राएली ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भयो, जसमा एक बच्चा र एक पत्रकार थिए । नुसेरात शरणार्थी शिविर वरिपरि भएको हवाई आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गयो ।

गाजा पट्टीमा कुपोषण र अनिकालबाट  दिनहुँ जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५०  बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ ।

प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले गाजामा अनिकाल घोषणा गरे देखि अहिले सम्म ३५ बालबालिका सहित १७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

गाजा पट्टीका अस्पतालहरूले गम्भीर भोकमरी र कुपोषणबाट पीडित र चरम तनावको अवस्थामा रहेका सबै उमेरका सयौं मानिसहरूको उपचार गरिरहेको जनाएका छन् ।

चिकित्सा स्रोतहरूले उल्लेख गरे अनुसार १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित छन् ।  बिरामीहरूलाई गम्भीर भोकले तनाव र स्मरण शक्ति ह्रासको उपचार  भइरहेको छ । गम्भीर कुपोषणबाट पीडित कयौँ मानिसहरूका लागि अस्पतालहरूमा पर्याप्त बेड र औषधिको अभाव छ ।

प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा इजरायली नाकाबन्दीको परिणामस्वरूप मार्च र जुनको बीचमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण दोब्बर भएको चेतावनी दिएको छ ।

युएनआरडब्लुएले स्वास्थ्य केन्द्र र चिकित्सा केन्द्रहरूले यस अवधिमा बच्चाहरूको लागि लगभग ७४ हजारमा कुपोषण परीक्षणहरू गरेको तथा विश्वव्यापी तीव्र कुपोषणका लगभग ५ हजार ५०० घटनाहरू र तीव्र कुपोषणका ८०० भन्दा बढी घटनाहरू पहिचान गरेको जनाएको छ ।

(अल-जजिरा र एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?