
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले चालु आवको पहिलो दुई महिनामा कुकुर र बिरालोको आहार ५५ करोड ७६ लाख रुपैयाँ बराबर विदेशमा निर्यात गरेको छ।
- गत आर्थिक वर्षमा नेपालले कुकुर र बिरालोको आहारबाट ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बराबर विदेशी मुद्रा भित्र्याएको थियो।
- नेपालबाट अमेरिकासहित क्यानडा, जापान, बेलायत, हङकङ, दक्षिण कोरिया लगायतका मुलुकमा कुकुर र बिरालोको आहार निर्यात भइरहेको छ।
१५ असोज, काठमाडौं। नेपालले कुकुर र बिरालाका आहार विदेशमा निर्यात गरेर करोडौं रुपैयाँ बराबरको विदेशी मुद्रा भित्राउने गरेको छ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)का अनुसार चालु आवको पहिलो दुई महिना (भदौ)सम्म कुकुर र बिरालोको आहार ५५ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भइसकेको छ।
यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३.६२ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको भदौ मसान्तसम्म ४९ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांक छ।
नेपालबाट छुर्पीलगायतका वस्तु विदेशमा निर्यात हुने गरेका छन्। यस्तो निर्णय अमेरिकासहित तेस्रो मुलुकमा बढी जाने गरेको तथ्यांकमा देखिन्छ।
क्यानडा, जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, ब्राजिलसहितका मुलुक समेत नेपाली छुर्पीका गन्तब्य बजार हुन्।
वार्षिक तथ्यांक हेर्दा कुकुर बिरालोको आहार निर्यातबाट मात्र नेपालले गत आव २०८१/८२ मा ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बराबर विदेशी मुद्रा भित्र्याएको छ।
यस वर्ष भदौसम्म नेपालले वस्तु निर्यातबाट ४७ अर्ब ३१ करोड रुपैयाँ बराबर विदेशी मुद्रा भित्राएको छ।
यसमध्ये कुुकुर र बिरालोको आहारको हिस्सा १.२ प्रतिशत रहेको देखिन्छ। यस वर्ष भदौसम्म सबैभन्दा धेरै भने सोयाविनको तेल निर्यात भएको छ।
भदौसम्म २० अर्ब ४२ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको तथ्यांक छ। गत आवको एक वर्षमा १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको थियो।
यस वर्ष भदौसम्म कुकुर र बिरालोको आहार धेरै निर्यात हुने वस्तुको २१ औं स्थानमा पर्छ।
नेपालबाट सोयाविन तेलबाहेक यार्न, कार्पेट, रेडिमेड गार्मेन्ट्स, पाम तेल, सूर्यमुखी तेल, जुट र जुटका उत्पादन, ऊलनका उत्पादन, जुस, चिया, फलाम र स्टीलका उत्पादन, प्लाइउड, अचैंचीजस्ता वस्तु धेरै निर्यात हुने सूचीमा छन्।
कुकुर बिरालोको आहार कुन मुलुकमा कति निर्यात?
भदौसम्मको तथ्यांक हेर्दा अमेरिकामा मात्र ५० करोड ३१ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ। यूएईमा २० लाख ५७ हजार रुपैयाँको निर्यात भएको छ।
ताइवानमा ९५ हजार, दक्षिण अफ्रिकामा ९७ हजार, स्लोभाकियामा ६१ हजार, सिंगापुरमा १ लाख ९ हजार, न्यूजिल्याण्डमा ७ लाख ६९ हजार, नेदरल्याण्ड्समा ७ लाख १३ हजार, म्यानमारमा ६ हजार, मलेसियामा १४ लाख ६७ हजार, लेवनानमा १ लाख १६ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ।
दक्षिण कोरियामा २३ लाख २० हजार, जापानमा १ करोड १४ लाख, हङकङमा १५ लाख ५९ हजार, जर्मनीमा १ लाख ५९ हजार, फ्रान्समा १ लाख १५ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको तथ्यांक छ।
क्यानडामा १ करोड ४३ लाख र बेलायतमा १ करोड ७७ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ।
फैलिँदै व्यापार
कुकुर र बिरालाका आहारको व्यापार निरन्तर फैलिँदै अवस्थामा देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट १६ वटा मुलुकमा ८५ करोड ७९ ३२ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो। त्यसबेला अमेरिकामा मात्र ७७ करोड ७१ लाखको निर्यात भएको तथ्यांक छ।
त्यसयता निरन्तर व्यापार फैलिएको अवस्थामा देखिन्छ। आव २०७५/७५ मा १ अर्बको आंकडा पार गरेको थियो।
सो आवमा १ अर्ब ५ करोड, आव २०७६/७७ मा १ अर्ब २२ करोड, २०७७/७८ मा १ अर्ब ९६ करोड, आव २०७८/७९ मा २ अर्ब ९१ करोडको निर्यात भएको थियो।
नेपालकै कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने भएकाले यसमा शतप्रतिशत मूल्य अभिवृद्धि छ। साथै निर्यातमा सरकारले करसमेत लगाउने गरेको छैन।
प्रतिक्रिया 4