
News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएकोमा सरकारमा भएका व्यक्तिको बुद्धि नपुगेको बताइन्।
- प्रधानमन्त्री कार्कीले शहीद परिवारसँग भेट्दै उनीहरुको पढाइ र काम दिनेबारे सोचिरहेको र क्षतिपूर्ति दिन नसकिने प्रतिबद्धता जनाइन्।
- सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको चाहनाअनुसार दशैंको टीका नलगाएको र शहीदहरुको रगतमा अन्याय नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
१६ असोज, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन् ।
विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । जेनजी युवा आन्दोलनमा ‘नहुनुपर्ने घटना भएको’ भन्दै उनले आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सरकारले सोचेको बताइन् ।
राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि उनीहरुका परिवारलाई मद्दत गर्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाइन् ।
‘दु:खद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारण यो दुर्घटना भयो,’ शहीद परिवारहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘बच्चाहरुले पढ्ने कसरी ? उहाँहरुको पढाइ, कामहरु दिनेगरी सोचिरहेका छौँ । उहाँहरुको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि गएका थिए । उनले प्रधानमन्त्रीको चाहनाअनुसार दशैंको टीका नलगाएको र शहीद परिवारसँग समय बिताएको बताए । उनले शहीदहरुको बगाएको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका छन् ।
देश अहिले पनि पीडामा रहेको भन्दै प्रधानमन्त्री कार्कीले यस वर्ष टीका लगाइनन् र अरुलाई पनि लगाइदिइनन् । यस वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले आफूले टीका लगाए पनि अरुलाई लगाइदिएनन् ।
प्रतिक्रिया 4