+
+
Shares

भारत–चीनबीच ५ वर्षपछि पुन: सीधा हवाई सेवा सुरु हुने

सीधा हवाई सेवा पुन: सञ्चालनले भारत–चीनबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते ७:०२

१७ असोज, काठमाडौं । भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ ।

दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सीधा हवाई सेवा पुन: सञ्चालनले दुवै मुलुकबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

भारत र चीनबीच पहिले हुँदै आएका हवाई उडान कोभिड महामारीपछि कटौति भएका थिए । त्यसबीचमा सन् २०२० मा दुई देशका सेनाबीच सीमा क्षेत्र ग्वालनमा झडपपछि कूटनीतिक र सुरक्षा सम्बन्ध तनावपूर्ण भएको थियो । त्यसले गर्दा हवाई उडान सुरु गर्ने प्रक्रिया ढिला भएको थियो ।

मोदी र सीबीच भएको थियो छलफल

यसअघि शांघाई सहयोग संगठन शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटमा उडान र सीमा–व्यापारसँगै दुवै देशले पर्यटक, व्यवसायी, सञ्चारकर्मी लगायतका व्यक्तिको आवागमन सजिलो बनाउन भिसा प्रक्रियामा केही सहकार्य गर्ने सहमति गरेका थिए ।

त्यसपछि दुवै देशका प्राविधिक अधिकारीबीच यस विषयमा निरन्तर वार्ता हुँदै आएको थियो । दुई देशबीच सीधा उडान पुन: सञ्चालन गर्ने र संशोधित हवाई सेवा सम्झौतामा सहमति गर्ने विषयमा छलफल केन्द्रित थियो ।

नयाँ व्यवस्थाअनुसार दुवै देशका तोकिएका विमान सेवाहरुलाई तोकिएका गन्तव्यमा सीधा उडान सञ्चालन गर्न अनुमति दिइनेछ । यस वर्षको जाडो मौसमी तालिकादेखि नै यो लागू हुने जनाइएको छ ।

इन्डिगोले घोषणा गर्‍यो चीन उडान

यसैबीच, भारतको निजी विमान सेवा कम्पनी इन्डिगोले चीनतर्फ आफ्नो उडान पुन: सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले अक्टोबर २६, २०२५ देखि कोलकाता–ग्वाङ्जाउबीच दैनिक, प्रत्यक्ष उडान सञ्चालन गर्नेछ ।

नियामकीय स्वीकृतिपछि दिल्ली–ग्वाङ्जाउ उडान पनि सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यी उडानका लागि एयरबस ए–३२० एनईओ विमान प्रयोग गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?