
१९ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । अहिले बिहान काठमाडौंमा मधुरो घाम लागिरहेको छ ।
हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरु पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् । डुबानमा परेका घर, पसलहरु सफा गर्दैछन् ।
हिजो बागमती नदीको सतह बढ्दा सुकुम्बासी बस्तीतिरका बासिन्दा विस्थापित भएका थिए । बल्खु, कुलेश्वर लगायत क्षेत्रका तरकारी बजारबाट पनि सामान सारिएको थियो ।
कुलेश्वरको डुबान क्षेत्रमा रातभर डुंगा चलाएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षाकर्मीहरु अहिले पनि उद्धार र सरसफाइमा जुटेका छन् ।
मौसमविदहरुले अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेको छ ।
मौसम खराब हुँदा अवरुद्ध भएको आन्तरिक हवाई उडान सेवा आजबाट सुरु भएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नै जारी छ ।
प्रतिक्रिया 4