
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवाद केन्द्रले पार्टीका सबै कार्यालयमा हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काम गर्ने निर्णय गरेको छ।
- पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्षमार्फत सबै पार्टी कमिटीलाई उद्धार, राहत र पुनःस्थापनामा सक्रिय हुन निर्देशन दिएका छन्।
- प्रचण्डले सबै राजनीतिक दल, सामाजिक संस्था र नागरिक समाजलाई आपसी मतभेद बिर्सेर उद्धार र राहतमा जुट्न अपिल गरेका छन्।
१९ असोज, काठमाडौं। नेकपा माओवाद केन्द्रले पार्टीका सबै पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काम गर्ने भएको छ ।
आइतबार बिहान पुष्पकमल दाहाल प्रचण्डले हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काममा खटिन प्रदेश अध्यक्षहरूमार्फत सबै पार्टी कमिटीलाई निर्देशन दिएका हुन् ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डले पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देर्शित गरेका हुन् ।
‘सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष हेल्प डेस्क स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्नुभएको छ।’ आचार्याले जानकारी दिए ।
यसअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत पार्टी सम्पूर्ण नेता–कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन जारी गरेका थिए ।
पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग वाइसिएलका कार्यकर्ताहरू विपद प्रतिकार्यमा खटिइसकेको उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘म पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ–सहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न विशेष आह्वान गर्दछु ।’
मुलुकले सामना गरिरहेको यो विशेष विपद्–परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्न प्रचण्डको विशेष अनुरोध छ । सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई समेत आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको अपिल छ ।
प्रतिक्रिया 4