+
+
Shares

भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १६:४५

१९ असोज, काठमाडौं । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।

नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।

‘विशेषगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका सिलसिलामा अलपत्र परेका यात्रुहरूलाई विमान चार्टर गरेर काठमाडौं पठाउन लागेका हौं,’ सीडीओ पाण्डेले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो बढेपछि सम्बन्धित प्रशासन कार्यालयलाई उद्धारका लागि निर्देशन दिइएको थियो । निर्देशन लगत्तै रुपन्देही प्रशासनले अलपत्र यात्रुहरूलाई काठमाडौं पठाउन लागेको हो ।

उनका अनुसार, १ सय ५८ जना यात्रुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ ।

यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

काठमाडौंबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्ने र सोही विमानमा यात्रुहरू फर्काउने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?