+
+
Shares

हरेक बाढीसँगै कहरमा डुब्छ कुलेश्वर

घरमा रहेका वृद्ध र बालबालिकालाई शनिबार बास बसेको अस्थायी थलोमै छोडेर बस्ती फर्किएका तन्नेरी सरसफाइ गरेर उनीहरुलाई पनि घर फर्काउने तर्खरमा देखिन्थे ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज १९ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती नदी किनारको कुलेश्वर सुकुम्बासी बस्तीमा शनिबार साँझदेखि आइतबार बिहानसम्म बाढीले ५४ परिवारका २५१ जनालाई अस्थायी बसोबासमा राखियो।
  • स्थानीयहरू बाढीपछि घर फर्केर हिलो सफा गर्दैछन् र टोलका अगुवाहरू सार्वजनिक ठाउँ सफाइमा व्यस्त छन्।
  • स्थानीय प्रज्ज्वल लिम्बुले भने, "पहिलो तलामा बस्नेहरूको घर र पसलहरूमा पानी पस्यो तर मानवीय क्षति कम भयो"।

१९ असोज, काठमाडौं । बागमती नदी किनारमा रहेको कुलेश्वर सधैँ बाढीको विपद्मा फस्छ । जब बागमती उर्लन्छ, बल्खुनजिक रहेको यो सुकुम्बासी बस्ती त्रसित हुन्छ । यस्तै तनावमा बित्यो, शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म ।

स्थानीयबासी काठमाडौं महानगरले व्यवस्था गरिदिएको जनविकास माध्यमिक विद्यालयमा बस्न बाध्य भए । कतिपय आफन्तकोमा गए ।

शनिबार साँझबाट सुरु भएको उद्धारबाट ५४ परिवारका २५१ व्यक्तिलाई अस्थायी बसोबासको व्यवस्था मिलाइयो । उनीहरुलाई त्यहीँ खाने र बस्ने व्यवस्था मिलाइएको स्थानीय बताउँछन् ।

तर, आइतबार दिउँसो रिपोर्टिङको क्रममा त्यहाँ पुग्दा परिस्थिति फेरिँदै थियो । मौसम सफा भएर राजधानीमा घाम झुल्किएसँगै स्थानीय पनि कुलेश्वरको आफ्नो बस्तीमा फर्किन थालेका थिए । उक्त सुकुम्बासी बस्तीमा सामान्य चहलपहल सुरु भएको थियो । कतिपय आफ्नो घरभित्रको हिलो सफा गर्दै थिए । टोलका अगुवा हिलाम्य बाटो र सार्वजनिक ठाउँ सफाइमा व्यस्त थिए ।

घरमा रहेका वृद्ध र बालबालिकालाई शनिबार बास बसेको अस्थायी थलोमै छोडेर बस्ती फर्किएका तन्नेरी सरसफाइ गरेर उनीहरुलाई पनि घर फर्काउने तर्खरमा देखिन्थे ।

कतिपय घरमा आफन्त आएर सफाइमा सघाउँदै थिए । बस्तीका गल्लीगल्लीमा बाढी छिर्दा अधिकांशका भुइँ तला हिलाम्य थिए । त्यहाँका रासनदेखि अन्य सरसामान प्रयोग गर्न नमिल्ने अवस्था थियो ।

त्यहीँ सरसफाइ गरिरहेका भेटिए स्थानीय लिलाबहादुर मोक्तान । कुलेश्वरका बासिन्दा उनको परिवारमा श्रीमती र दुई छोरी छन् । बाढी आएको रात उनीहरू साढे नौ बजेपछि कलंकीतिर गएर बसे ।

‘हामीले त पानी नरोकिएपछि बस्ती छोडेर गयौं । अहिले हेर्दा त ग्राउन्ड फ्लोरमा सबै हिलोमैलो भएछ । सिरक, डसना, कार्पेट, किताब, कागजपत्र सबै भिजेर काम नलाग्ने भयो,’ उनी चिन्तित सुनिए ।

मोक्तानको घरमा बाढीले भौतिक रुपमा क्षति पुर्‍याए । त्यसैले उनी सामानहरु नियाल्दै थिए । फाल्नुपर्नेलाई फाल्ने, नमिल्नेलाई पखालेर राख्ने काम मोक्तानको घरमा भइरहेको थियो ।

तर, मोक्तानलाई यस्ता विपत्ती झेल्ने बानी परिसकेको छ । त्यसैले खासै फरक नपर्ने र यो क्रम सधैँ चलिरहनेमा उनी ढुक्क थिए ।

‘अब यहाँ सधैँ बाढी आउँछ । बानी लागिसक्यो । यो त अब सामान्यजस्तै भइसक्यो,’ मोक्तानले भने, ‘बरु, डरचाहिँ राति सुत्दा बाढीले बगाउला कि भन्ने छ । दिउँसो वा पूर्वसूचना आउँदा भागिन्छ, भोलिपल्ट आएर सफा गरिन्छ । हामीलाई यो त अब चाडजस्तो भइसक्यो ।’

मोक्तानकाअनुसार बागमती खोलाको पानी बल्खु खोलामा ठोक्किएर पुलमुनिबाट बस्तीमा पस्छ । पानी डाइभर्ट भएर बस्तीतिर आउँछ । त्यसैले पानी पर्न थालेपछि सधैँ सतर्क अवस्थामा रहनुपर्ने उनले सुनाए । यसरी नियमित बाढी र क्षति झेलेका उनलाई राहतको आशा छैन । ‘अब हरेक वर्ष यस्तै हुन्छ । बस्ती छोडेर जान हाम्रो ठाउँ पनि त कहाँ छ र ?,’ उनले भने ।

त्यस्तै, स्थानीय कुसुम थामीको पसल बाढीले डुबाएको छ । सामान्य पसल चलाएर गरिखाने उनका सामानहरुमा क्षति पुगेको छ । कतिपय त काम नलाग्ने भएका छन् । भएका पनि पखालेर पुनः प्रयोग गर्दा पहिलाको अवस्थामा हुँदैनन् ।

परिवारमा अन्य सदस्य रहेपनि थामी कुलेश्वरमा एक्लै बस्छिन् । उनका छोरा र बुहारी बाहिर छन् । उनकाअनुसार बाढी आएको रात केहीबेर उनी त्यहीँ पसलको पेटीतिर बसिन् । त्यसपछि पानीको सतह अझ बढ्ने देखेपछि नजिकै आफन्तको घरमा गएर सुतिन् ।

‘महानगरले जनविकास स्कुलमा व्यवस्था गरेको थियो, तर म गइनँ,’ थामीले भनिन्, ‘आफू बचेपनि मेरो पसलमा ठूलो क्षति भयो । तेल, चिउरा, दाल सबै भिजेर फाल्नुपर्यो । आधा सामान सफा गरें, आधा फालें । दैनिक उपभोगका सबै कुरा खेर गयो ।’

थामीलाई यो वर्षको बाढीले दसैंको योजना पनि बिगारिदियो । दसैं सकियो, अब बाढी नआउला भन्ने थियो, तर अचानक वर्षा आएर आफन्तको आशिष थाप्न जाने योजना बिथोल्यो । अहिले व्यापार पनि ठप्प छ । सरसफाइ गर्ने पानी पनि किनेर हाल्नुपर्छ । यी सबै कुराबाट चिन्तित छिन्, उनी ।

‘कागजपत्र भने उनले बोकेर हिँडेकाले जोगियो । तर ओछ्यान, लुगा र अन्य सामान डुबे,’ थामीले विगतको बाढी पनि सम्झिइन्, ‘पोहोर त मेरो पाँच हजार रुपैयाँ पनि बाढीले लग्यो । अब के गर्ने ? न यो ठाउँ छोडन् सकिन्छ, न बस्न ।’

पूर्वसूचना आउँदा पनि आफूहरुको विकल्प नहुँदा सधैँ समस्या हुने बताउँदै उनले थपिन्, ‘सरकार, प्रहरी, सबैले आएर सूचना त दिए । पानी पर्छ रे भन्ने पनि थाहा थियो । तर कहाँ जाने ? कोठा पाइँदैन । यहीँ बस्नुपर्छ ।’

महरम साहको घर पनि यही बस्तीमा छ । उनकी श्रीमती र सात सन्तान छन् । जसमध्ये कान्छी छोरी एक वर्षकी छिन् । घरमा साना केटाकेटी रहेकाले पनि तत्काल भागिहाल्न र जहाँ पायो बसिहाल्न असहज भएको थियो । उनी स्वयं ह्वील चेयरको सहारामा हिड्नुपर्छ । तर, बाढीले यी दु:ख किन देख्थ्यो । बागमती उर्लिएर बस्तीमा छिर्दा उनको घर छुटाउने कुरै भएन । घरभित्र पनि पानी पस्यो ।

‘चामल, दाल, ओड्ने–ओछ्याउने सबै भिज्यो । अब आज राति सुत्ने ठाउँको चिन्ता छ । हामी त जहाँ पनि सुत्थ्यौँ, बच्चाको लागि कसैले व्यवस्था गरिदेला भन्ने आश छ,’ साहले भने, ‘हिलो बच्चाहरूले सोहोरे। तर सामान सबै बिग्रेको छ । हामी गरिबका अलिअलि भएका सामान पनि काम नलाग्ने भए ।’

पूर्वसूचना भएकाले बस्तीमा बाढी छिर्नुअघि नै उनीहरू नजिकै रहेको कुमारी क्लबको सटरमा बसे । राती आएर महानगरका कर्मचारीले उनीहरूलाई त्यहीँ नजिकको स्कूलमा लगे, जहाँ बस्तीका अन्यलाई पनि लगिएको थियो । त्यहीँ ओढ्ने–ओछ्याउने र खानेकुरा दियो । घर माया मारेर आफ्नो जीवन बचाउँन सफल बने ।

तर, घर फर्कदा सबै भिजेको थियो । हिलो घरभित्रै जमेको अवस्थामा थियो । त्यसैले आइतबार राती कहाँ सुत्ने चिन्ता उनलाई छ । सामान्य काम गरेर, मागेर परिवार पाल्ने उनलाई एकदिनको बाढीले असामान्य क्षति पुर्यायो ।

‘मलाई त बस्ती छोड्न मन छ, तर कोठा पाइँदैन । ठूला घरमा कोठा दिन मान्दैनन्,’ उनले राजधानीमा देखिएको वर्गीय विभेद बोले । आफूहरुले भाडा तिर्ने भन्दा पनि विश्वास नगरेको गुनासो उनको छ ।

समुदायमा बाढीले क्षति गरेपछि स्वयंसेवकहरु पनि बस्तीमा देखिन्छन् । स्थानीयको घर र टोल सफाइमा व्यस्त छन् । तिनै मध्येका अगुवा प्रज्ज्वल लिम्बु त्यहीँ भेटिए । जागरण टोल सुधार समितिका अध्यक्ष रहेका उनी समूदायलाई एक भएर सरसफाइमा जुटेको बताउँछन् ।

उनकाअनुसार शनिबार मौसम विभागको सूचनाअनुसार स्थानीय सरकार, कालिमाटी बृत्त र बल्खु प्रहरीको सहयोगमा बस्तीबाट मानिसहरूलाई निकालिएको थियो । अशक्त, दीर्घरोगी र वृद्धहरूलाई दिउँसो ४ बजे र बाँकीलाई साढे ४ बजे सम्ममा सुरक्षित ठाउँमा पुर्‍याइएको थियो ।

त्यसैले पनि बस्तीमा ठूलो मानवीय क्षति नभएको लिम्बुले बताए । ‘भौतिक क्षतिचाहिँ भएको छ । पहिलो तलामा बस्नेहरूको घर र पसलहरूमा पानी पस्यो । तरकारी बजार र व्यापार संघमा पनि क्षति भयो ।

आयल निगम, ग्यारेजजस्ता व्यवसायिक ठाउँ पनि हिलाम्मे छन्,’ उनले पोहोरको क्षतिसँग दाँज्दै भने, ‘तर, भाग्यबस् पोहोरभन्दा यसपटक धेरै कम क्षति भयो। बाढी पनि पोहोरभन्दा कम नै पसेको हो ।’

तस्वीर/भिडियो : युवराज भट्टराई

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?