+
+
Shares

बाढीले सुनसरीमा सयौँ घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीमा लगातार वर्षाले बाढीपहिरोको जोखिम बढेको छ र करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • बाढीका कारण भोक्राहा नरसिंह गाउँपालिका–५ मा ३००, बराहक्षेत्र नगरपालिका–८ मा १६० र इनरुवा नगरपालिका–१० मा ३०० भन्दा बढी घर डुबानमा परेका छन्।
  • बराहक्षेत्र नगरपालिका–८ स्थित दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको छ र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

१९ असोज, धरान । लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ । सुनसरीमा बाढीका कारण आज करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पसेको बताए । डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको पनि उनले जानकारी दिए ।

यहाँको भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३०० घर, बराहक्षेत्र नगरपालिका–८ मा १६० घर र इनरुवा नगरपालिका–१० को जाल्पापुर क्षेत्रमा ३०० भन्दा बढी घरभित्र बाढी पसेको जनाइएको छ।

त्यस्तै, इनरुवा–४, ८, ९ र १०, रामधुनी–६, ७ र इटहरी उपमहानगरपालिका–५ का बस्तीहरूमा पनि केही घर डुबानमा परेका छन् । प्रवक्ता खतिवडाले भने, ‘धेरैजसो सुकुम्वासी बस्ती डुबानमा परेका छन्, तर पूरै विस्थापित हुने गरी डुबान भएको छैन । सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेका छौँ।’

बाढीका कारण इनरुवा–४ स्थित जानोद्दय आधारभूत विद्यालय र भोक्राहास्थित कार्डियो न्युरो अस्पतालसमेत प्रभावित भएका छन् । अस्पताल परिसर डुबानमा परेपछि सशस्त्र प्रहरी बलको सहयोगमा डुङ्गामार्फत चिकित्सकलाई अस्पतालभित्र पुर्‍याइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बराहक्षेत्र नगरपालिका–८ स्थित दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको छ । उहाँको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा अन्य निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।

बाढीबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने, राहत वितरण गर्ने र थप क्षति हुन नदिन सतर्कता अपनाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

यसैबीच धरान उपमहानगरपालिका–१३ स्थित धरान–भेडेटार सडकखण्ड निसानेमा गएराति गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?