
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकलाई पक्राउ गर्नुपर्ने मागका विषयमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेकी छन्।
- गृहमन्त्री ओमप्रकाश अर्याल जाहेरी दर्ता गर्नुपर्ने पक्षमा थिए भने प्रहरी अधिकारीहरुले परिस्थिति भड्किन सक्ने भन्दै सचेत गराएका थिए।
- सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी छानबिन गरिरहेको छ र तत्कालीन अधिकारीहरुलाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको छ।
काठमाडौं । जेनजी युवा अगुवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन् ।
जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन् ।
जेनजी युवाहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लगेर गएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन ।
त्यसको जानकारी काठमाडौं प्रहरी परिसर प्रमुख रमेश थापाले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई गराए । त्यसपछि खापुङ केही बरिष्ठ अधिकारीहरुलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालकहाँ गएका थिए ।
प्रहरीको प्रश्न– बालेनविरुद्ध पनि जाहेरी आए के गर्ने ?
गृहमन्त्रीसँगको छलफल पनि जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा कुराकानी भएको थियो तर टुंगोमा पुगेन ।
स्रोतका अनुसार गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राखेका थिए । तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध आएको जाहेरी भोलि बालेनविरुद्ध पनि आउनसक्ने र त्यसले परिस्थिति थप भड्किनेतर्फ सचेत गराएका थिए ।
‘गृहमन्त्री जाहेरी दर्ता गर्नुपर्ने पक्षमा थिए तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध जाहेरी आउला, भोलि बालेनविरुद्ध जाहेरी आउला, त्यस्तो बेला के गर्ने भनेर कुरा राखेका थिए । त्यसपछि यसबारे प्रधानमन्त्रीसँग नै छलफल गरेर टुंगोमा पुग्ने निष्कर्षमा पुगियो,’ स्रोतले भन्यो ।
त्यसपछि गृहमन्त्रीले प्रधानमन्त्री कार्कीसँग छलफलको समय मागेका थिए । सोही अनुसार गृहमन्त्री, गृहसचिवसहित चार वटै सुरक्षा अंगका प्रमुखहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल भएको थियो । सो छलफल सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको स्रोत बताउँछ ।
छलफलको क्रममा प्रधानमन्त्री कार्कीले जेनजी युवाहरुको मागका साथै सुरक्षा अंगका प्रमुखहरुसँग विकसित परिस्थितिलाई कसरी सम्हाल्ने भनेर रायसमेत मागेकी थिइन् ।
छलफलमा सहभागी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गृहमन्त्रीसँगको छलफलमा भएकै कुराहरु राखेका थिए ।
प्रहरीले माग्यो केन्द्रीय सुरक्षा समितिको निर्णय र लिखित आदेश
साथै उनले यो विषयमा प्रधानमन्त्री कार्कीबाट लिखित निर्देशन प्राप्त भए सोहीअनुसार अघि बढ्न तयार भएको बताएको एक सहभागीले जानकारी दिए ।
‘केन्द्रीय सुरक्षा समितिबाट निर्णय गरेर लिखित निर्देशन दिए ओली र लेखकविरुद्ध उजुरी दर्ता गर्न सकिन्छ भन्ने उहाँको आसय थियो,’ स्रोतले भन्यो ।
भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा भएका घटनाबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
सो समितिको सिफारिस अनुसार ओली र लेखकसहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाइएको छ ।
सुरक्षा अधिकारीहरुले न्यायिक छानबिन भइरहेका बेला उजुरी लिँदा र पक्राउ गर्दा मुठभेड हुनसक्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री कार्कीले भनिन्– दोषी कारबाहीको दायरामा आउनैपर्छ
साथै सुरक्षा अधिकारीहरुले जेनजी युवा आन्दोलनको क्रममा प्रहरीहरुबाट लुटिएका हतियार सबै फिर्ता नभइसकेकाले सुरक्षा संवेदनशील भएको जानकारी समेत गराएका थिए ।
प्रधानमन्त्री कार्कीले भने यी समग्र विषयमा अझ मसिनो गरी छलफल र विश्लेषण गर्न अधिकारीहरुलाई निर्देशन दिएको सुरक्षा स्रोत बताउँछ । उनले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने दोहोर्याएकी थिइन् ।
यस विषयमा प्रधानमन्त्री कार्की आज पनि थप परामर्श र छलफलमा रहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ ।
प्रतिक्रिया 4