
२१ असोज, विराटनगर । इलामका बाढी तथा पहिरो प्रभावितका लागि कोशी प्रदेश सरकारले राहत सामग्री पठाएको छ ।
स्थलमार्ग पहिरोका कारण अवरुद्ध भएका कारण मंगलबार प्रदेश सरकारले तत्कालका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो ।
शनिबार रातिको बाढी पहिरोका कारण इलाममा मात्रै ३८ जनाको मृत्यु भएको थियो ।
मंगलबार नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री लिएर मुख्यमन्त्री हिक्मतकुमार कार्की इलाम पुगेका हुन् । इलामका बाढी प्रभावितलाई भेटेर उनले राहत तथा पुनस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
प्रदेश सरकारले दैनिक उपभोग्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपाललगायतका सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।
बाढी पहिरोका इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा अत्याधिक क्षति भएको थियो ।
प्रतिक्रिया 4