+
+
Shares

जेनजी अलायन्सका अगुवालाई प्रश्न : चुनावको तयारी के छ ?

हामी जनताको साथलाई केबल ‘इलेक्टोरल पोलिटिक्स’मा कन्भर्ट गर्न चाहँदैनौं । जनतालाई स्वतन्त्र मताधिकारको अधिकार छोड्छौं ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज २१ गते २१:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको स्वेच्छिक राजीनामा माग गर्दै भ्रष्टाचार अन्त्यमा जोड दिएको छ।
  • अलायन्सले चुनावी क्याम्पेनमा केन्द्रित भएर नयाँ र प्रगतिशील शक्तिलाई सहयोग गर्ने र चुनावपछि पनि सडकमा खबरदारी जारी राख्ने योजना बनाएको छ।
  • जेनजीहरूले संविधानले संरक्षित लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशीकरणलाई नन-नेगोसिएबल मानेर सहकार्य र संवादको प्रयास गरिरहेका छन्।

अख्तियारका प्रमुख आयुक्तसहित सबै आयुक्तको राजीनामा माग्दै सोमबार भर्चुअल दबाब दिएका जेनजी मुभमेन्ट अलायन्सका युवाहरू मंगलबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पुगे । त्यहाँ उनीहरूले लिखित रूपमा अख्तियारका सबैले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब दिए ।

२३ र २४ भदौको आन्दोलनको जगमा खडा भएको यो अलायन्सले अब भ्रष्टाचार विरुद्धको अभियान र चुनावी क्याम्पेनमा केन्द्रित हुने बताएको छ । आफूलाई सडकमा रहने शक्तिको रूपमा बताएको यो समूहका आगामी रणनीति के छन् ? चुनावमा कसरी सहयोग गर्छन् ? पार्टी खोलेर जान्छन् वा खोलिएका अन्य वैकल्पिक शक्तिलाई सहयोग गर्छन् ?

यिनै प्रश्न अनलाइनखबरकर्मीले जेनजी मुभमेन्ट अलायन्सका एक अगुवा रिजन राना मगर (आदित्य)लाई सोधेका छन् ।

मंगलबार बिहान टंगाल पुग्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरूको राजीनामा किन माग्नुभयो ?

हाम्रो मुख्य उद्देश्य भ्रष्टाचार र दण्डहिनताको अन्त्य हो, जुन यो आन्दोलनको सुरुदेखिको मूल माग हो । संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी दिएको छ । तर जबसम्म यो आयोगमा निष्पक्ष र स्वतन्त्र आयुक्तहरू हुँदैनन्, तबसम्म भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिँदैन ।

अहिले संसद् नभएको अवस्थामा आयुक्तहरूलाई बर्खास्त गर्न सम्भव छैन, त्यसैले हामीले स्वेच्छिक राजीनामाको माग राखेका हौं । यो कदमले सरकारलाई सुशासन प्रबर्द्धनमा सहज बनाउँछ र जनताको आशालाई सम्बोधन गर्छ ।

यसबारे हामीले सामाजिक सञ्जालमा अभियान चलाएका छौं, विद्युतीय पत्राचारमार्फत जानकारी गराएका छौं । र, आज औपचारिक रूपमा निवेदन दर्ता गरेर दबाब सिर्जना गरेका हौं ।

हिजोदेखिका गतिविधि हेर्दा तपाईंहरू (जेनजी मुभमेन्ट अलायन्स) आफ्नै ढंगले अघि बढ्नुभएको देखिन्छ, जसमा सबै एकठाउँ अझै आउन सक्नुभएको देखिँदैन । कसरी सम्हाल्दै हुनुहुन्छ ?

हामीले आफ्नो ढंगले अघि बढेका छौं । तर यो भन्दैमा अरूसँग सहकार्य हुँदैन भन्ने हैन । अझै सबै समूहलाई समेटेर सहकार्यको ठाउँ राखेका छौं ।

अर्को महत्वपूर्ण कुरा, जेनजीहरू छरपस्ट हुनु अस्वाभाविक होइन, किनभने यो पुस्ता स्वतन्त्र विचार राख्छ र विभिन्न समूहमा छलफल गर्छ । तर जबसम्म हाम्रो संवाद तत्काल सम्बोधन गर्नुपर्ने अत्यावश्यक विषयहरूमा केन्द्रित हुँदैन, तबसम्म एकता पूर्ण रूपमा सम्भव हुँदैन ।

अहिले चुनावी क्याम्पेनमा होमिने तयारीमा रहेका हामी चुनावपछि पनि सडकमा खबरदारी गर्न छोड्दैनौँ । हाम्रै सहयोगमा सरकारमा आएकै किन नहोस्, खबरदारी गर्न छाड्दैनौँ ।

हामीले संविधानले संरक्षित गरेका चार आधारभूत उपलब्धिहरू- लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशीकरणलाई नन-नेगोसिएबल मानेर छलफललाई अघि बढाएका छौँ । यसमा सहमत जनाउने हरेक व्यक्ति र समूहसँग जोडिन वार्ता जारी राखेका छौँ ।

अहिलेको जेनजीमाझ देखिएको मुख्य समस्या भनेको पर्याप्त छलफल नहुनु हो । कतिपयमा बौद्धिकता कमी हुन सक्छ, कतिपयमा दीर्घकालीन सोचको अभाव, बुझाइको कमी । तर हामी निरन्तर संवाद र एकताको प्रयासमा छौं । ढिलोचाँडो सबैले बुझ्नुहुन्छ जस्तो लाग्छ । जेनजीहरूले उठाएका मुद्दाहरूलाई संस्थागत गर्न विभिन्न समूहबीच एकीकृत प्रयास हुने विश्वास छ ।

जेनजी आन्दोलनको मूल मर्म छोड्नु हुँदैन भन्नुभयो । खासमा त्यो मर्म भनेको के हो ?

आन्दोलनका दुई मुख्य अजेन्डा छन् । पहिलो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने, जुन तत्काल सम्बोधन भइसकेको छ ।

दोस्रो र मुख्य अजेन्डा- भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा दण्डहीनता चरम छ । यो अन्त्य नगरी सुशासन सम्भव छैन । त्यसैले पनि हामीले अख्तियारका आयुक्तहरूको राजीनामालाई प्राथमिकतामा राखेका छौं, किनभने निष्पक्ष आयोगबिना भ्रष्टाचार नियन्त्रण हुँदैन ।

त्यसपछि आन्दोलनको वैधताको लागि समयमै चुनाव र सुशासन प्रबर्द्धन मुख्य हो । शासकीय स्वरूप परिवर्तनको कुरा पनि उठिरहेका छन्, तर यो तत्काल सम्भव नहुँने हुँदा अहिले चुनावमा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो ।

यसरी संविधान चलाउने कुराका लागि लागि बृहत् नागरिक छलफल चाहिन्छ । त्यसैले आन्दोलनका यिनै मर्म जोगाउन पनि अन्य मुद्दामा नबहकिई आधारभूत एजेन्डामा अघि बढ्न आवश्यक छ । अहिले हामी पनि चुनाव सुनिश्चित गर्न र जनताको अभिमत संकलन गर्न जोड दिइरहेका छौं ।

संविधान नै चलाउने कतिपय जेनजी समूहको मागले अहिलेको राजनीतिक परिस्थितिलाई झन् जटिल बनाउँदैन ? कसरी बुझाउनुहुन्छ ?

संविधान चलाउने कुरा अहिले ठिक होइन । अझ त्यसमा पनि प्रत्यक्ष कार्यकारी प्रणालीले स्थायित्व ल्याउँछ भन्ने आमबुझाइ छ । तर त्यसलाई जनताको अभिमतले बलियो बनाउनुपर्छ । सर्वस्वीकार्यता चाहिन्छ । यो प्रणालीलाई समावेशी बनाउन जनसहभागिता सुनिश्चित गर्नुपर्छ, जसका लागि लामो छलफल चाहिन्छ ।

तर, अहिले समय कम छ । त्यसैले हामीले यी बहसहरूलाई निर्वाचनको अजेन्डा बनाउनुपर्छ । बरु हामी चुनावपछि प्राप्त कतिपय नागरिकका सुझावहरूलाई प्रतिवेदनको रूपमा सरकारलाई बुझाउने र कार्यान्वयनको पहल गर्ने योजनामा छौं । हामी सबैले यो कुरा बुझ्न आवश्यक छ । चुनाव हुन सकेन भने झन् अर्को खाल्डोमा फस्छौँ । त्यसैले अहिले चुनावमा केन्द्रित भएर जान ढिला गर्नुहुन्न ।

पुराना दल नै फेरि जितेर आए भने के गर्नुहुन्छ ? तपाईंहरूको पनि केही तयारी छ ?

मलाई लाग्छ, पुराना दलहरूले आफूलाई सुधार गर्नेछन् । नत्र वैधता गुमाउँछन् । तेस्रो पुस्ताले पार्टीभित्र ठूलो हस्तक्षेप गर्नुपर्छ, शुद्धीकरण र सुदृढीकरण गर्नुपर्छ । त्यसैले जनताप्रति उत्तरदायी भएर, गल्ती नदोहोर्याएर चुनावमा सहभागी हुन दलहरूलाई हाम्रो आह्वान पनि छ । जनताले पनि सुध्रिएका दललाई मात्र मत दिनेछन् भन्ने विश्वास छ । यस्तो चेतना फैलाउन जेनजी मुभमेन्ट अलायन्सले पूरा भूमिका खेल्छ । अब हाम्रो मुख्य तयारी नै यही हो ।

तपाईंहरू पार्टी बनाएर जाने कि अन्य वैकल्पिक शक्तिलाई सहयोग-समर्थन गर्ने ?

हाम्रो अलायन्सले चुनावी सहभागितालाई ऐच्छिक बनाएको छ । कोही उम्मेदवार बन्छन्, कोही दलको रूपमा सहभागी हुन्छन्, कोही जनतालाई सुसूचित र प्रशिक्षित गर्न काम गर्छन् । हामी जनताको साथलाई केबल ‘इलेक्टोरल पोलिटिक्स’मा कन्भर्ट गर्न चाहँदैनौं । जनतालाई स्वतन्त्र मताधिकारको अधिकार छोड्छौं ।

तर, हाम्रा नन-नेगोसिएबल सिद्धान्त जे छन्, त्यसमा अडिग रहेर साथ-सहयोग गर्छौँ । चेतनामूलक कार्यक्रम गरेर जनचेतना फैलाउँछौँ । नयाँ सिर्जनशील र प्रगतिशील शक्तिलाई जिताउन सहयोग गर्छौँ ।

दल दर्ताको समय अझै बाँकी छ । यसबीचमा नयाँ दलहरू बन्न सक्छन् । समान अजेन्डा भएका दलहरूबीच एकता वा गठबन्धन हुनसक्छ, तर यो स्वार्थमा आधारित हुनुभएन । त्यो अवस्थामा हाम्रा मुद्दाप्रति प्रतिबद्ध व्यक्ति र दलहरूसँग सहकार्य हुनेछ । हाम्रो आत्मविश्वास जनताको परिवर्तनको चाहना र हाम्रो समानुपातिक समावेशी प्रतिनिधित्वमा छ ।

तपाईंहरू अहिलेबाट चुनाव केन्द्रित अभियानमा होमिनुभएको छ । जेनजी मुभमेन्ट अलायन्सले आगामी चुनावमा कस्तो नतिजाको अपेक्षा गरेको छ ? जेनजीको अपेक्षाबमोजिम परिणाम ल्याउन सकिएला ?

चुनावपछि सही नेतृत्व र विचारले सत्ता, प्रतिपक्ष, र सडकलाई एकीकृत उद्देश्यमा जोडोस् भन्ने चाहन्छौं । सरकारमा पुग्नेहरू विभिन्न परिस्थितिमा फस्न सक्छन्, त्यसैले प्रतिपक्ष र सडकको खबरदारी महत्त्वपूर्ण छ । कारण, यसअघि पनि देखेकै हो, सत्ता र प्रतिपक्षको अनैतिक गठजोडले उपलब्धिहरू धुलिसात हुनसक्छ । त्यसैले सडकमा जेनजीहरूको सचेत शक्ति स्थापित हुनुपर्छ ।

हामी चुनावपछि सरकार, प्रतिपक्ष र सडकमा विवेकशील र सिर्जनशील समूहको उपस्थिति चाहन्छौँ । यो आन्दोलनको लिगेसी निरन्तर रहोस् । हामी चेक एन्ड ब्यालेन्स कायम गर्दै यो पुस्तालाई स्वर्णिम पुस्ताको रूपमा स्थापित गर्न चाहन्छौं । हाम्रा कामले यो सन्देश स्पष्ट हुनेछ कि हामीले राष्ट्र र जनताको भविष्यका लागि कुनै कसर बाँकी राख्दैनौं ।

जस्तो, नेपालमा वैकल्पिक राजनीति सुरु गर्ने उज्ज्वल थापाले हामीलाई सधैँ भन्नुहुन्थ्यो- कुनै दिन यहाँ सडकमा पनि विवेकशील, सत्तामा पनि विवेकशील हुनुपर्छ । विवेकशीलको मतलब सबैतिर सचेत नागरिक समूहको प्रतिनिधित्व हो । त्यसैले अब हाम्रो अपेक्षा भनेको सही नेतृत्वले सरकार, प्रतिपक्ष र सडकलाई एकताबद्ध गरेर सुशासन र समृद्धिको दिशामा लैजाओस् । चुनाव समयमै सम्पन्न होस् ।

अहिले चुनावी क्याम्पेनमा होमिने तयारीमा रहेका हामी चुनावपछि पनि सडकमा खबरदारी गर्न छोड्दैनौँ । हाम्रै सहयोगमा सरकारमा आएकै किन नहोस्, खबरदारी गर्न छाड्दैनौँ । यो आन्दोलनको निकास भनेको सुशासन, जवाफदेही नेतृत्व र जनताको समृद्ध भविष्य हो ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?