+
+
Shares

यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

अमेरिकाबाट देश निकालामा परेका नेपालीहरु २८ देखि ३९ वर्ष उमेर समूहका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते ७:५८
Photo Credit : Vecteezy

काठमाडौं । यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा ती सात नेपाली डिपोर्ट भएका हुन् । उनीहरु २८ देखि ३९ वर्ष उमेर समूहका छन् ।

अमेरिकाबाट सञ्चालित खसोखास डटकमका अनुसार अमेरिकामा यौन दुराचार र शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका अभियोगमा ती नेपालीहरुलाई नेपाल डिपोर्ट गरिएको हो ।

ती नेपालीहरुलाई न्युयोर्कको जोन अफ केनेडी विमानस्थल, नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल, लोगन अन्तर्राष्ट्रिय विमानस्थल, भर्जिनिया, एरिजोना र टेक्सासबाट डिपोर्ट गरिएको छ ।

कहिले भए डिपोर्ट ?

यौन आक्रमण र शारीरिक दुर्व्यवहारको आरोपमा ३९ वर्षका एक नेपालीलाई १५ जुलाईमा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट नेपाल फर्काइएको छ । उनलाई गत अप्रिल २४ मा अमेरिकाको अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो ।

यसैगरी मेरिल्याण्ड बस्दै आएका ३६ वर्षीय एक नेपालीलाई नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मार्च ६ मा देशनिकाला गरिएको छ । उनलाई गत १७ जनवरीमा अदालतले देश निकालाको आदेश दिएको थियो ।

यसैगरी डकैतिको संलग्न अर्का २८ वर्षीय नेपालीलाई गत जुन १० मा एरिजोनाबाट नेपाल फर्काइएको छ ।

हतियारको प्रयोग गरी आक्रमणमा दोषी ठहर भएका ३४ वर्षीय नेपालीलाई २९ अप्रिलमा लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश निकाला गरिएको छ ।

यसैगरी टेक्सासमा बस्दै आएका ३० वर्षीय नेपाली पुरुष नाबालिगलाई अश्लील च्याट गरेको आरोपमा देश निकालामा परेका छन् । सन् २०२४ को डिसेम्बर ९ मा अपराधमा दोषी ठहर भएका उनी ३ जुनमा भर्जिनियाबाट नेपाल डिपोर्ट भएका छन् ।

यसैगरी मेरिल्याण्ड बस्दै आएका अर्का ३५ वर्षका नेपाली पुरुष पनि त्यस्तै अभियोगमा दोषी ठहर भई जुन १० मा एरिजोनाबाट डिपोर्ट भएका छन् ।

अर्का ३७ वर्षीय नेपाली मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा टेक्सासबाट कतार हुँदै डिपोर्ट भएका छन् । उनी सन् २०११ को मार्च २९ मा दोषी ठहर भएका थिए भने अध्यागमन अदालतले सन् २०१७ को जुलाई १९ मा डिपोर्टको आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?