
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारले बाढी र पहिरोबाट विस्थापितहरूका लागि घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ।
- इलाममा १०६ वटा घर पुनर्निर्माण गर्नुपर्ने र ३९ जनाको मृत्यु भएको छ, सातवटा पालिकालाई संकटग्रस्त घोषणा सिफारिस गरिएको छ।
- प्रदेश सरकारले राहत वितरण प्रभावकारी बनाउन र क्षतिग्रस्त सडक पुनर्निर्माण गर्ने निर्णय गरेको छ।
२२ असाेज, विराटनगर । शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरूका लागि कोशी प्रदेश सरकारले घर पुनर्निर्माण गरिदिने भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने निर्णय गरेको हो ।
बाढी पहिरो प्रभावितका लागि घर निर्माणका लागि प्रदेश सरकारले विपद कोष र चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न शीर्षकको बजेटलाई रकमान्तर गर्नेछ ।
बैठकले बाढी प्रभावितको घर पुननिर्माणसँगै क्षतिग्रस्त सडक सञ्जाल निर्माण गर्ने र प्रभावितहरूलाई राहत वितरण प्रभावकारी बनाउने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षति इलाममा भएको छ । मन्त्री राईका अनुसार प्रारम्भिक रिपोर्ट अनुसार इलाममा मात्रै १०६ वटा घर पुननिर्माण गर्नुपर्नेछ । अन्य जिल्लाहरूबाट रिपोर्ट आइसकेको छैन ।
मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति पुगेको जिल्ला इलाम हो । इलाममा मात्रै ३९ जनाको मृत्यु भएको छ । इलामपछि धेरै क्षति झापामा भएको थियो ।
आजको परिषद् बैठकले इलाम जिल्लाका पहिरो प्रभावित सातवटा पालिकालाई संकटग्रस्त पालिका घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि जिल्ला अनुसार मन्त्रीलाई फोकल पर्सन पनि तोकेको छ ।
इलाम जिल्लाका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई तोकिएको छ ।
तीन मन्त्रीको टोलीले स्थलगत निरीक्षण गरी पुनिर्माणको योजना ल्याउनेछ ।
सुनसरी जिल्लाका लागि वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, झापाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई फोकल पर्सन तोकिएको छ ।
परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने पनि निर्णय पनि गरेको छ ।
प्रतिक्रिया 4