+
+
Shares

५० वर्षपछि पनि बसन्तीको जादु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९७५ मा रिलिज भएको फिल्म 'शोले' भारतीय सिनेमा क्षेत्रको उत्कृष्ट फिल्म मानिन्छ र ५० वर्षपछि पनि यसको चर्चा ताजा छ।
  • हेमा मालिनीले 'बसन्ती'को भूमिका सुरुमा अस्वीकार गरिन् तर निर्देशक रमेश सिप्पीको मनाएपछि स्वीकार गरिन् र यो उनको करियरको ठूलो मोड बन्यो।
  • 'बसन्ती' पात्र आत्मनिर्भर गाउँकी युवतीको रूपमा देखाइएपछि हिन्दी सिनेमामा हिरोइनको नयाँ छवि प्रस्तुत भयो र यसको लोकप्रियता आजसम्म कायम छ।

सन् १९७५ मा प्रदर्शनमा आएको फिल्म ‘शोले’ लाई भारतीय सिनेमा क्षेत्रको उत्कृष्ट फिल्म मानिन्छ । ५० वर्ष बितिसक्दा पनि यो फिल्मको चर्चा आजसम्म ताजा छ। बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको यो फिल्ममा जय-वीरूको मित्रता, गब्बरको खतरनाक रुप, ठाकुरको बदला सबैले दर्शकलाई लोभ्याए, तर सबैभन्दा बढी जसले मन जितिन्, उनी थिइन्- ‘बसन्ती’।

बसन्ती बन्न हेमा मालिनीको संकोच

आज बसन्तीलाई हेमा मालिनीबिनै सोच्न पनि सकिँदैन । तर जब यो भूमिका पहिलोपटक उनले सुनेकी थिइन्, उनले तुरुन्तै मानेकी भने होइनन् । त्यसबेला उनी पहिले नै ठूला फिल्मकी हिरोइन बनिसकेकी थिइन् । रंगीचंगी डान्स नम्बरदेखि ग्ल्यामरस पात्रमा उनी देखिइरहेकी थिइन् । त्यसैले गाउँकी चञ्चले युवती बसन्ती आफूसँग मेल खाने भूमिका नभएको उनले सोचेकी थिइन्।

तर निर्देशक रमेश सिप्पी बसन्तीलाई जीवन्त बनाउन हेमाबाहेक अरू कसैलाई सोच्नै सक्दैनथे। उनले निकै बेरसम्म हेमा मालिनीलाई मनाउने काम गरे । अन्ततः उनले यो भूमिका स्वीकार गरिन् । र त्यो निर्णय नै उनको करियरकै सबैभन्दा ठूलो मोड थियो।

बसन्ती : आत्मनिर्भर गाउँकी युवती

त्यतिबेला हिन्दी सिनेमामा हिरोइनहरू प्रायः कमजोर अनि मात्र प्रेमको प्रतीक भएर देखाइन्थे । तर बसन्ती पूर्णरूपमा फरक पात्र बनिन् । आत्मनिर्भर, खुला स्वभावकी, रमाइलो गर्ने, आफ्नै विचार राख्ने र आफ्नै ढंगले बाँच्ने गाउँकी युवती । उनले घोडा ‘धन्नो’सँग कुराकानी गर्नेबेलादेखि वीरूसँगको रमाइलो संवादसम्म हरेक दृश्यले उनलाई दर्शकको मनमा बसाइदियो।

बसन्तीलाई देखेपछि दर्शकले महसुस गरे- हिरोइन पनि आफ्नै ढंगले बलियो र मनोरञ्जक पात्र बन्न सक्छ । यही कारण बसन्ती आजसम्म पनि स्मरणीय रहिरहेकी छिन् ।

बसन्तीको लोकप्रियता

‘शोले’का सबै पात्र लोकप्रिय भए पनि बसन्तीको अलगै चमक देखियो । हेमा मालिनीले ५० वर्षपछि पनि जहाँ गए उनी बसन्तीको नामले नै चिनिने र बसन्तीको नाम सुन्नासाथ आफ्नो अनुहारमा खुसी झल्किने कुरा सुनाउँदै आएकी छिन् । सार्वजनिक कार्यक्रममा दर्शकहरूले अझै पनि उनलाई बसन्तीको संवाद बोल्न आग्रह गर्छन् र जब उनी त्यो संवाद बोल्छिन्, दर्शकहरू खुसी झुम्छन्।

हेमाले कहिल्यै सोचेकी थिइनन् कि बसन्ती यति लोकप्रिय हुनेछ । शुटिङका क्रममा उनलाई महसुस भएको थियो- उनी विशेष फिल्ममा काम गर्दैछिन् । आज पछाडि फर्केर हेर्दा उनलाई खुसी लाग्छ सबै आशंकाहरूका बाबजुद उनले बसन्तीको भूमिका स्वीकारिन् र उत्कृष्ट रूपमा निभाइन्।

बसन्तीको लोकप्रियता आज पनि कायम छ । कमेडी शो र लाइभ प्रदर्शनहरूमा बसन्तीको मिमिक्री गरेर दर्शकलाई हँसाउने चलन अझै छ । केवल बसन्ती मात्र होइन, ‘शोले’का हरेक साना र ठूला पात्रको आफ्नो विशेषता रहेकाले फिल्म आजसम्म दर्शकको मनमा जीवित छ।

कठिन नृत्य र पीडादायी अनुभव

फिल्मको चर्चित गीत ‘जब तक है जान, मैं नाचुँगी’ हेमाका लागि मात्र कलात्मक चुनौती थिएन, शारीरिक रूपमा पनि निकै कठिन थियो। तातो गर्मीमा लगातार १५ दिनसम्म नाङ्गो खुट्टाले नाच्दा उनका खुट्टामा फोका परेका थिए, छाला डढेको थियो । तर पनि उनले हिम्मत हारिनन् । यही उनको कामप्रतिको लगनले गर्दा त्यो दृश्य आज पनि सशक्त देखिन्छ ।

शोलेको सुटिङ र व्यक्तिगत जीवन

शोले’को सुटिङले हेमाको व्यक्तिगत जीवनमा पनि नयाँ मोड ल्याएको थियो । शुटिङको समयमा उनी धर्मेन्द्रसँग निकै नजिक भइन् । सेटमा लामो समय सँगै बिताएपछि दुवैले एकअर्कालाई राम्ररी बुझ्ने मौका पाए र उनीहरूको सम्बन्ध अझ गहिरो बन्यो । यो नजिकपनको चर्चा त्यतिबेला फिल्मी पत्रिकादेखि घर-घरसम्म फैलिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?