+
+
Shares

बेलायती प्रधानमन्त्री भारतमा : ३ बलिउड फिल्म यूकेमा खिचिने, ३००० रोजगारी सिर्जना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायती प्रधानमन्त्री केयर स्टारमर भारत भ्रमणमा मुम्बइस्थित यशराज फिल्म्सको कार्यालय अवलोकन गर्नुभएको छ।
  • सन् २०२६ देखि तीन बलिउड ब्लकबस्टर फिल्मको छायांकन बेलायतमा हुने बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ।
  • यस सम्झौताले ३,००० भन्दा बढी रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा लाखौं पाउन्ड योगदान गर्नेछ।

मुम्बई । बेलायती प्रधानमन्त्री केयर स्टारमर अहिले भारत भ्रमणमा छन् । महत्वपूर्ण व्यापार वार्ताको लागि भन्दै त्यहाँ पुगेका उनले बुधबार मुम्बइस्थित यशराज फिल्म्सको कार्यालय अवलोकन गरे ।

बेलायती प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सन् २०२६ देखि ३ बलिउड ब्लकबस्टर फिल्मको छायांकन बेलायतका विभिन्न थलोमा हुने जनाएको छ ।

दिवंगत फिल्म निर्माता यश चोपडाद्वारा स्थापित यस स्टुडियोले अक्टोबर १२, २०२५ मा भारतमा सञ्चालनको २० वर्ष पुरा गरेको छ ।

‘यशराज फिल्म्स र बेलायती अधिकारीहरू बीचको यो सम्झौताले ३,००० भन्दा बढी रोजगारी सिर्जना गर्नेछ र देशको अर्थतन्त्रलाई लाखौं पाउन्डको योगदान दिनेछ’ बेलायती प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री स्टारमरले यस्तो घोषणा गरिरहँदा उनीसँगै बेलायती फिल्म उद्योगका ठूला नामहरू ब्रिटिस फिल्म इन्स्टिच्युट, द ब्रिटिस फिल्म कमिसन, पाइनउड स्टुडियोज, इल्सट्री स्टुडियोज र सिभिक स्टुडियोका प्रतिनिधि उपस्थित थिए ।

केयर स्टारमरले एक विज्ञप्तिमा भने, ‘बलिउड बेलायतमा फर्किएको छ, र यसले रोजगारी, लगानी र अवसरहरू ल्याइरहेको छ, साथै बेलायतलाई विश्वव्यापी फिल्म निर्माणको लागि विश्वस्तरीय गन्तव्यको रूपमा प्रदर्शन गरिरहेको छ ।’

‘भारतसँगको हाम्रो व्यापार सम्झौताले यस्तै प्रकारको साझेदारी खोल्ने लक्ष्य राखेको छ, जसले विकासलाई अगाडि बढाउँछ, साँस्कृतिक सम्बन्धलाई सुदृढ बनाउँछ र देशभरका समुदायलाई सेवा प्रदान गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यशराज फिल्म्सका सीईओ अक्षय विधानीले दिलवाले दुल्हनिया ले जायेंगे (डीडीएलजे) सहित ब्यानरका केही प्रतिष्ठित फिल्महरूको छायांकन बेलायतमा भएको बताए ।

‘युके-भारत सम्बन्धको पर्यायवाची फिल्म डीडीएलजको ३० औं वार्षिकोत्सवमा यशराज फिल्म्स र युकेको छायांकन सम्बन्धलाई पुनर्जीवित गर्नु साँच्चै विशेष छ । हाम्रो कम्पनीले हाल बेलायतमा पनि ‘कम फल इन लभ’ शीर्षकको अंग्रेजी संगीत डीडीएलजेको स्टेज रूपान्तरण निर्माण गरिरहेको छ’ उनले भने ।

स्टारमर २ दिने भ्रमणको लागि बेलायतमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?