
२३ असोज, काठमाडौं । काठमाडौंमा भएको प्रदर्शन र सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेको हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमखु टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
छलफल मुख्यगरी आज माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रर्दशनमा केन्द्रीत रहेको मन्त्रालय स्रोतले जानकारी दियो । आज हुने भनिएको प्रर्दशन, त्यसको सुरक्षा चुनौती, केही नेताहरूले दिएको अभिव्यक्ति, देशभर जाहेरी दिने भनि सुरु भएको अभियान र त्यसको सुरक्षा चुनौती लगायत विषयमा छलफल भएको स्रोतले बतायो ।
मन्त्रालयमा करिब २ घण्टासम्म सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिहरूसँग गृहमन्त्री अर्यालले ब्रिफ्रिङ लिएका थिए । सो क्रममा उनीहरूले बढ्दो सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए ।
चाडवाड सकिएपछि हुनसक्ने सुरक्षा चुनौती, जेन–जी र अन्य समूहले गर्नसक्ने प्रदर्शन र उत्पन्न हुनसक्ने परिस्थितिबारेमा पनि छलफल भएको सहभागी एक सुरक्षा प्रमुखले बताए ।
जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।
त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।
जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।
एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । यो काउन्टर जाहेरी र त्यसले बढाउन सक्ने सुरक्षा चुनौतीको विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।
अर्कोतर्फ नेताहरूले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले पनि सुरक्षामा चुनौती थपिन सक्ने बताइएको छ । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
‘फलानो नेताको अभिव्यक्ति भनेर भन्दा पनि नेताहरूले पछिल्लो समय सार्वजनिक रुपमा बोलेका कुराहरूले पनि सुरक्षा चुनौती बढाउन सक्नेबारे कुराकानी भयो,’ सुरक्षा स्रोतले भन्यो ।
समसामयिक राजनीति र चुनावी सुरक्षाका बारेमा पनि छलफल भएको गृह स्रोतले बतायो । छठपछि दुर्गा प्रसाईं समूहले गर्ने भनिएको आन्दोलनदेखि विपद्, उद्धारको बारेमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया 4