
News Summary
Generated by OK AI. Editorially reviewed.- महेन्द्र राजमार्गमा कम गाडी चल्न थालेपछि सप्तरी बरमझियाका पेडा पसलमा व्यापार घट्दै गइरहेका छन्।
- मदन भण्डारी लोकमार्ग सञ्चालन भएपछि उदयपुरको बेल्टारदेखि चतरा पुलसम्म पेडा पसलहरू बढेका छन्।
पूर्व-पश्चिम छेड्ने महेन्द्र राजमार्गले अनेकौंलाई रोजगारी दियो । थुप्रै ठाउँहरूलाई नयाँ कलेवर दियो । त्यसमध्येको एक थियो- सप्तरीको बरमझिया ।
करिब पाँच किलोमिटरसम्म लस्करै खुलेका पेडा पसलहरू बरमझियाको पहिचान बनेको थियो । मिठो पेडा पाइनुबाहेक पसलका नामहरू करिब-करिब एउटै हुनु बरमझियाको अर्को रोचक कुरा थियो ।
कतिपयले सानो क्षेत्रफलमा थुप्रै पसल भएकाले बरमझियालाई पेडा हब पनि भन्ने गर्थे । तर अहिले बरमझियाले आफ्नो पेडा हबको पहिचान बिस्तारै गुमाउँदै गइरहेको छ । यसको कारण हो, बरमझियादेखि करिब ३० किलोमिटर उत्तरमा नयाँ राजमार्ग सञ्चालनमा आउनु– मदन भण्डारी लोकमार्ग ।
यो राजमार्गका कारण सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, पाँचथर जस्ता पूर्वी जिल्लाहरूबाट काठमाडौं जाने गाडीहरू महेन्द्र राजमार्गमा कम चल्न थाले । दूरीको हिसाबले यी क्षेत्रका गाडीहरूलाई तराईं हुँदै नारायणघाट-मुग्लिनबाट काठमाडौं छिर्नुको सट्टा पहाडै-पहाड सिन्धुली-धुलिखेल हुँदै काठमाडौं छिर्नु छोटो र छिटो हुन्छ ।
यहीकारण मदन भण्डारी लोकमार्गमा चहलपहल बढेको हो । अनि त्यही चहलपहलले बरमझियाका पेडा पसलहरू चुरे उक्लन थालेका हुन् । त्यसको ज्वलन्त उदाहरण उदयपुरमा देखिएको छ ।
उदयपुर छोएर जाने मदन भण्डारी लोकमार्गमा पर्ने बेल्टारदेखि चतरा पुलसम्म मात्रै पेडाका २० बढी पसल छन् । ती मध्ये आधाजसो चौदण्डी नगरपालिका भित्र छन् । प्रायजसो यी पसलहरूमा लामो दूरीका गाडीहरू खाजाका लागि रोकिने गर्छन् । तिनै गाडीका यात्रुहरू यहाँका प्रमुख ग्राहक हुन् । उनीहरूले आफू खान तथा कोसेली लान पेडा किन्ने व्यापारीहरू बताउँछन् ।
चौदण्डी वडा नम्बर ३ मा अवस्थित हात्तिसारमा श्री बैजनाथ बाबा पेडा भण्डार एण्ड खाजा घर चलाउने अरुण गुप्ता बरमझियाबाटै आएका हुन् । ५३ वर्षीय उनी महेन्द्र राजमार्गमा काठमाडौं जाने पूर्वका गाडीहरू कम चल्न थालेपछि यता आएको सुनाउँछन् ।

‘२०५८ सालतिर हाम्रो परिवार बेल्टारदेखि बरमझिया गएको थियो’ गुप्ता भन्छन्, ‘त्यहाँ पनि हाम्रो पेडाको पसल थियो । तर केही वर्षयता व्यापार नचलेपछि यता आयौँ।’
उनी यो ठाउँमा डेढ वर्षअघि मात्र आएका थिए । अहिले व्यापार ठिकठाक भएको उनको भनाइ छ । ४५ चोकमा ओम बाबा पेडा भण्डार क्याफे चलाउने सञ्जीव साहको कथा पनि समान छ । महेन्द्र राजमार्ग विस्तारले व्यापार अवरुद्ध भएपछि विस्थापित भई नयाँ ठाउँमा व्यवसाय सुरु गरेको उनले सुनाए । अहिले सो सडक पूर्वको काकरभिट्टादेखि सुदूरपश्चिमको गड्डाचौकीसम्म आठ लेनमा विस्तार गर्ने काम भइरहेको छ । त्यसले यात्रा गर्न अलि समस्या बनाएको छ।
‘बरमझियाको पसलमा गाडीहरू आउनै छाडे जस्तो भयो । व्यापार व्यवसाय ठप्प भयो’ साह भन्छन्, ‘त्यसपछि नयाँ ठाउँ खोज्नुपर्यो। खोज्दै जाँदा यता आइपुगियो।’
उनी आफू बरमझियाबाट आउने पहिलो पेडा व्यापारी भएको दाबी गर्छन् । यहाँ आउँदा खेती गरिरहेको जग्गा भाडामा लिई पुरेर घर बनाएर व्यवसाय सुरु गरेको साहले सुनाए।
के हो पेडा ? किन छ प्रख्यात ?
पेडा दूधबाट बन्ने एक प्रकारको मिठाइ हो । यो प्राय: बाक्लो, अर्ध-नरम, र गोलो वा अण्डाकार आकारमा पाइन्छ । यसलाई बनाउन दूधलाई लामो समयसम्म पकाउनुपर्ने हुन्छ ।
वर्षे डाँडामा श्री बैजनाथ साह बाजेको पेडा भन्डार नामक पसल चलाउने दिपेन्द्र शाहका अनुसार पेडा बनाउन दूधलाई ६/७ घण्टा उमाल्नुपर्ने बताउँछन् । त्यसपछि दूधलाई ल्याएर पकाएर कुरौनी बनाउनु पर्ने र त्यस कुरौनीमा चिनी मिसाएर सेलाएपछि पेडा बनाइने उनको भनाइ छ ।

त्यस्तै ओम बाबा पेडा भण्डारका सञ्जीवका अनुसार पेडामा बजारका अन्य तयारी खाद्य वस्तुहरूमा जस्तो मिसावट वा रसायन प्रयोग हुँदैन। दूधका अवला थोरै मात्रामा चिनी प्रयोग हुन्छ । आफूहरूले भने ४० लिटर दूधमा जम्मा १ केजी चिनी प्रयोग गर्न गर्ने गरेको उनले सुनाए ।
व्यापारीहरूले बताएअनुसार अहिले यहाँका पसलहरूमा दैनिक जसो ३० देखि ४० केजीसम्म पेडा विक्री हुन्छ । ती सबै पसलबाटै विक्री हुन्छ । अन्यत्र डेलिभरी गरेर बेच्न चलन नरहेको पसलेहरू बताउँछन् ।
स्थानीय, बाटो हिड्ने सवारीसाधनका यात्रु र काठमाडौँ जाने-आउने व्यक्तिहरू पेडाका ग्राहक हुन् । त्यसमा पनि झापाका मानिसहरूले पेडा धेरै खाने र विशेष गरी क्षेत्री, बाहुनहरूले कोसेलीको रूपमा प्रयोग गर्ने गरेको व्यापारी सञ्जीव साहको भनाइ छ।
दूधको धेरै माग हुने भएकाले यो ठाउँमा पेडा पसल बढेपछि स्थानीय किसानहरूलाई पनि आर्थिक रूपमा फाइदा पुगिरहेको छ।
विष्ट डेरी एन्ड फार्म हाउसका सञ्चालक मोतिराम विष्टका अनुसार अहिले पेडा पसलको दूधको माग पूरा गर्न नै गाह्रो बन्ने अवस्था छ । उनले मात्रै ५ वटा पसलमा दैनिक ३००/४०० लिटर दूध दिइरहेको छन् । हाल व्यापारीहरूले रामपुर, आम्बासी, फत्तेपुर लगायतका ठाउँबाट दूध ल्याइरहेको बताउँछन्।
यसरी एउटा राजमार्गमा गुड्ने बससँगै तराईंबाट पेडा पसल चुरे सरिरहेको छ । राजमार्गका कारण कसरी व्यापारहरू प्रभावित हुन्छन् भन्ने यो गतिलो उदाहरण हो ।
प्रतिक्रिया 4