
News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ।
- ट्रेलरमा सगरमाथा आरोहण, रोम्यान्स, ड्रामा, संवेदना र एड्भेन्चर समावेश गरिएको छ।
- फिल्म आगामी ३१ असोजमा प्रदर्शनमा आउने तयारीमा छ।
२४ असोज, काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा फिल्मका प्रमुख कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ, र निर्माता टिमको उपस्थिति थियो ।
मुख्य कलाकार अनमोल केसी भने स्वास्थ्य समस्याका कारण सहभागी हुन सकेनन्।
३ मिनेट ४० सेकेन्ड लामो ट्रेलरले सगरमाथा आरोहणका दृश्यहरूलाई केन्द्रमा राख्दै रोम्यान्स, ड्रामा, संवेदना र एड्भेन्चरको मिश्रण प्रस्तुत गरेको छ । सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा खिचिएका दृश्यहरूले फिल्मलाई ‘भिजुअल्ली रिच’ बनाएको देखिन्छ।
ट्रेलरमा परिवारिक भावनासँगै प्रेम र धोकाका पाटा पनि जोडिएका छन् । कथामा अनमोलले बुबा भुवन केसीलाई जित्ने लक्ष्यसहित हिमालतर्फ अघि बढेको दृश्य विशेष रूपमा देखाइएको छ, जसले फिल्मको साहसिक र प्रेरणादायी पक्षलाई थप बलियो बनाउँछ।
ट्रेलरमा प्रेम, धोका, जीवन-मृत्युको संघर्ष र पर्वतीय यात्राको जोखिमलाई एकसाथ जोडेर प्रस्तुत गरेको छ, जसले कथामा गहिरो भावनात्मक प्रभाव ल्याएको छ।
फिल्मको कथा पटकथा हेमराज बीसीले लेखेका हुन् भने सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् । निर्देशक सुयोग गुरुङले यसअघि ‘फर्की फर्की’ मा देखाएको ‘भिजुअल’ शैलीलाई यस फिल्ममा अझ सुधारिएको रूपमा प्रस्तुत गरेका छन्।
‘जेरी : अन टप’ रोम्यान्टिक ड्रामा जनरामा निर्माण गरिएको हो। यसअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो। फिल्म आगामी ३१ असोज (१७ अक्टोबर) अर्थात् तिहार छेकोमा प्रदर्शनमा आउने तयारीमा छ।
प्रतिक्रिया 4