+
+
Shares

सर्वदलीय बैठकमा किन गएनन् ठूला दलका शीर्ष नेता?

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक चलिरहेको छ। बैठकमा मुख्य तीन ठूला दलका शीर्ष नेता भने उपस्थित छैनन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरू सहभागी छैनन्।
  • जेन–जी आन्दोलनपछि पहिलोपटक भएको बैठकमा २१ फागुनको मध्यावधि निर्वाचन छलफलको मुख्य एजेन्डा छ।
  • सरकार र निर्वाचन आयोगले निर्वाचन तयारी अघि बढाइरहेका छन् तर प्रमुख दलहरूको सहभागिता सुनिश्चित छैन।

२४ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शीतलनिवासमा चलिरहेको छ। बैठकमा मुख्य तीन ठूला दलका शीर्ष नेता भने उपस्थित छैनन्।

जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूला दलका कांग्रेसका सभापति शेरबहादुर देउवा, दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी छैनन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सर्वदलीय बैठकमा गएनन्।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि राष्ट्रपतिले राजनीतिक पार्टीहरूसँग पहिलोपटक औपचारिक छलफलको आयोजना गरेका हुन्। २१ फागुनमा तय गरिएको मध्यावधि निर्वाचन छलफलको मुख्य एजेन्डा हो।

यसअघि राष्ट्रपतिले आह्वान गर्ने छलफल र बैठकहरूमा प्रमुख दलका शीर्ष नेताले नै सहभागी हुने गरेका थिए। तर, यसपटक राजधानीमै भएर पनि उनीहरू देखिएनन्।

कांग्रेस सभापति देउवा २४ भदौको घटनायता सार्वजनिक रूपमा देखा परेका छैनन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा आन्दोलनकारीले देउवा निवासमा तोडफोडपछि आगजनी गरेका थिए। त्यसक्रममा आन्दोलनकारीबाट कांग्रेस सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी आरजु राणामाथि निर्धात कुटपित भएको थियो।

करिब दुई साता उपचारपछि उनीहरू अस्पतालबाट फर्किएका छन्। तर, उनीहरू सार्वजनिक रूपले देखा परेका छैनन्। त्यसोत: बिहीबार र आज शुक्रबार कांग्रेसको पदाधिकारी बैठकमा समेत देउवा सहभागी भएनन्।

एमाले अध्यक्ष ओलीलाई २४ भदौमा नेपाली सेनाले प्रधानमन्त्रीनिवासबाटै सुरक्षित स्थान पुर्‍याएको थियो। त्यहाँबाट बाहिरिएपछि ओली भक्तपुरको गुण्डुमा बसिरहेका छन्।

बिहीबार नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा ओलीले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरे। त्यसक्रममा उनले वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संसद् पुनर्स्थापनाको मुद्दा उठाए।

शुक्रबार भने उनको निवासमा पार्टीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। ओली बैठकको अध्यक्षता गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २४ यता केही सार्वजनिक कार्यक्रममा सहभागी भइसकेका छन्। शुक्रबार बिहान उनले सम्पादकहरूसँगको साक्षात्कार नै राखेका थिए। शुक्रबार नै राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकमा भने उनी पनि सहभागी भएनन्।

सरकारले आसन्न निर्वाचनको लागि तयारी अघि बढाइसकेको छ। निर्वाचन आयोग पनि निर्वाचनका लागि आवश्यक गृहकार्यमा जुटिरहेको छ। तर, निर्वाचनमा प्रमुख दलहरूकै सहभागिता अझै सुनिश्चित भइसकेको छैन।

कांग्रेसको दुई दिन चलेको पदाधिकारी बैठकले ठोस निर्णय गरेको छैन। २६ असोजबाट बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस विषयमा ठोस निर्णय गर्नेछ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। एमालेले पनि केन्द्रीय कमिटी बैठकको तय गरिसकेको छ।

आसन्न निर्वाचनमा जाने स्पष्ट निर्णय माओवादीले गरिसकेको छ। केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी कमिटीहरूलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै महाधिवेशनको तयारी गर्ने तथा २१ फागुनको निर्वाचनको पनि एकसाथ तयारी गर्ने निर्णय गरेको छ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि राष्ट्रपतिले बोलाएको पहिलो सर्वदलीय बैठक भएकाले पनि शीर्ष नेताहरू बैठकमा सहभागी नभएको ती पार्टीका दोस्रो तहका नेताहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?