
News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंपछि खुलेको सेयर बजार ३.०४ प्रतिशत घटेर २५८२ अंकमा झरेको छ।
- नेपाल राष्ट्र बैंकले सेयर कर्जा सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थाको लगानीमा सहजीकरण गरेको छ।
- भदौ २४ गतेको जेनजी प्रदर्शनले होटल र अन्य समूहमा भारी गिरावट आएको छ।
२४ असोज, काठमाडौं । दशैंपछि यो साता खुलेको सेयर बजार समग्रमा ३.०४ प्रतिशत घटेको छ ।
गत साता अर्थात् दशैंअघि २६६३ अंकमा रहेको बजार यो साता बन्द हुँदा ८१ अंक घट्दै २५८२ मा झरेको छ । यो साता मंगलबारदेखि कारोबार सुरु भएको हो ।
तीन दिन मात्रै कारोबार भयो । मंगलबार र बुधबार भारी अंकले बजार घट्यो । मंगलबार ५८.५५ अंक घटेको बजार बुधबार ४५.३६ घट्यो । बुधबार राति नेपाल राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित तीन नीतिगत व्यवस्था गर्यो । जसले बिहीबार बजार २२.५९ अंक बढ्यो ।
एक व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट पाउने अधिकतम २५ करोडको सेयर कर्जा सीमा हटाइएको छ । बैंकले सेयर खरिद गरेको एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्मको लगानी मात्रै बेच्न पाउने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।
बैंक तथा वित्तीय संस्थाले ६ महिनाको लागि मात्रै पनि सेयर तथा डिबेन्चरमा लगानी गर्न पाउने छन् । यसअघि बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर एक आर्थिक वर्ष बितिसकेपछि मात्रै बेच्न पाउने व्यवस्था थियो ।
होटल र अन्य समूहमा भारी गिरावट
यो साता होटल र अन्य समूहमा उच्च गिरावट देखिएको छ । होटल ता पर्यटन ४.७९ र अन्य समूह ५.७९ प्रतिशत घटे । भदौ २४ गते जेनजीको विरोध प्रदर्शनपछि र होटल तथा पर्यटन क्षेत्रमा यसले ठूलै असर पार्ने अनुमान छ ।
सिजन सुरु भए पनि पर्यटन आगमन न्यून देखिएको छ । जसले गर्दा होटलहरुको बिजनेसमा असर पार्ने अनुमान छ । यसले गर्दा यो साता होटल तथा पर्यटन समूह धेरै घट्यो।
त्यस्तै अन्य समूहमा दुई कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिको बढी प्रभाव देखियो । यी दुबै कम्पनीको मूल्य उच्च दरले घट्दा अन्य समूहमा सबैभन्दा धेरै गिरावट आयो।
भदौ २४ गतेको विध्वंसमा थुपै्र भवन, सवारीसाधनमा क्षति पुगेकाले त्यसको दाबी भुक्तानीको दायित्व पुनर्बीमामा ठूलै पर्ने देखिएको छ । यसले गर्दा पनि दुई पुनर्बीमाको मूल्यमा उच्च गिरावट देखियो ।
यो साता मूल्य धेरै बढेका र घटेका धितोपत्र
यो साता बजारमा ऋणपत्रको मूल्य बढेको छ । बैंकको ब्याजदर घट्दै गएपछि तुलनात्मक बढी ब्याज पाइने ऋणपत्रको मूल्य बढेको हो । एनआईसी एसिया ऋणपत्रको ९.११, सेन्चुरी डिबेन्चरको ७.८१, स्टान्डर्ड चार्टर्ड बैंक डिबेन्चर ७.६२ तथा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चरको मूल्य ५ प्रतिशत बढ्यो ।
यो साता भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १४.८ प्रतिशत घटेको छ । त्यस्तै पन्चकन्या माइ हाइड्रोको १०.४४, युनिक नेपाल लघुवित्तको १०.२३, नेपाल पुनर्बीमाको ९.९७ प्रतिशत मूल्य घट्यो । चिरख्वा हाइड्रोपावरको ९.१९, छ्याङ्दी हाइड्रोपावरको ८.४२, हिमस्टार ऊर्जाको ८.४१ तथा बुटवल पावरको ८.२७ प्रतिशत मूल्य घट्यो ।
आईपीओ, एफपीओ र हकप्रद सेयर खुलेका छन् ?
यतिबेला कुनै पनि कम्पनीको आईपीओ खुलेको छैन । आइतबारदेखि श्रीनगर एग्रिटेक कम्पनीको आईपीओ आम सर्वसाधारणका लागि खुल्दैछ । कम्पनीले २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्दैछ ।
यसअघि आयोजना प्रभावित पाल्पा र रुपन्देही जिल्लाबासीका लागि आईपीओ बाँडफाँट भइसकेको छ । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई पनि बाँडफाँट गरिएको छ ।
त्यस्तै तीन कम्पनीको हकप्रद सेयर खुलिरहेको छ । रिभरफल्स पावरको १ बराबर १ अनुपातमा हकप्रद सेयर खुलेको छ । आइतबारसम्म आवेदन दिन सकिनेछ । त्यस्तै सिटी होटलको १ बराबर ०.८ अनुपातमा खुलिरहेको हकप्रद सेयरमा आइतबारसम्म आवेदन दिन सकिनेछ भने नारायणी डेभलपमेन्ट बैंकको १ बराबर १ अनुपातमा खुलेको हप्रदमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
के अब बजार फर्किएला ?
बुधबार साँझ राष्ट्र बैंकले तीन वटा नीतिगत व्यवस्थामा सहजीकरण गरेपछि बिहीबार बजारमा सुधार देखियो । तर यो सुधार टिक्ने/नटिक्नेमा लगानीकर्ता ढुक्क हुन सकेका छैनन् ।
मुख्यतः पछिल्लो राजनीतिक घटनाक्रमले बजारलाई बढी प्रभाव पारेको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न बिजनेस प्रतिष्ठान, व्यवसायीका आवासमा आक्रमण भएपछि यसले निजी क्षेत्र हतोत्साही भएको छ । त्यसमाथि राज्यले आक्रमणकारीलाई कारबाही नगर्दा व्यवसायी विश्वस्त हुन सकेका छैनन् । अब बजार फर्कने/नफर्कने विषय धेरै हदसम्म मुलुकको राजनीतिक वातावरणमा निर्भर रहेको यस क्षेत्रका जानकार बताउँछन् ।
‘हाम्रा व्यवसायिक भवन मात्रै होइन, बस्ने घरमा समेत आगो लगाउने अपराधीलाई राज्यले संरक्षण गर्यो’ एक उद्यमीले भने ‘यसले भोलिका दिनमा पनि असुरक्षाको त्रास कायमै रह्यो ।’ मुलुकको आर्थिक विकास र कुनै पनि व्यवसायिक प्रतिष्ठान तथा निजी सम्पत्तिमाथि हुने जोसुकैको अराजक हर्कत मान्य नहुनेमा सबै उद्योगी व्यवसायी स्पष्ट छन् ।
जब निजी क्षेत्र नै निराश हुन्छ, त्यसको प्रतिबिम्ब हरेक मुलुकका सेयर बजारमा देखिने गर्दछ । त्यसैले अबको राजनीतिक घटनाक्रमअनुसार बजार अघि बढ्ने लगानीकर्ता बताउँछन् ।
‘यदि राजनीतिक माहोल सकारात्मक देखिँदै गयो भने त्यसले बजारलाई ठूलै सकारात्मक प्रभाव पार्नेछ’ सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘राजनीतिक माहोल बिग्रिने हो भने बजारलाई थप निरुत्साहित गर्छ ।’
बजारका लागि नीतिगत सहजता मात्रै ठूलो विषय नरहेको उनले बताए । ‘पूँजीको सुरक्षा, जिउधनको सुरक्षा, सकारात्मक मनोभाव महत्वपूर्ण विषय हुन्’ उनले भने ।
प्रतिक्रिया 4