+
+
Shares

जेनजीको भावना अनुसार काम गर्न सचिवहरूलाई मुख्यमन्त्री कँडेलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १५:४६

२५ असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावना अनुसार काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग शनिवार छलफल गर्दै कँडेलले जेनजीको भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न निर्देशन दिएका हुन् । ‘अहिले जनताले सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता र सहजताको अपेक्षा गरेको छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘सोही अनुसार स्पष्ट खाका बनाएर काम गर्नुस् ।’

मुख्यमन्त्री कँडेलले सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्नेमा जोड दिए । ‘कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,’ उनले भने । विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिनुपर्ने उनले बताए ।

मुख्यमन्त्री कँडेलले सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुने स्पष्ट पारे । ‘वर्तमान सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन सचिवहरूले पहल गर्नुपर्छ । सोही अनुसार काम गर्नुस्,’ उनले भने ।

उनले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन दिए । सेवा प्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृतिलाई अन्त्य गर्न र जनतामुखी प्रशासनिक सुधारमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?