+
+
Shares

‘वरिष्ठ बलराम’ बारे समृद्धि : म यसमा देखावटीको रुपमा छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री समृद्धि अर्याल आगामी फिल्म 'वरिष्ठ बलराम'मा प्रभावशाली भूमिका रहेको र आफू शो पिस मात्र नभएको बताएकी छन्।
  • फिल्म 'वरिष्ठ बलराम' ६ कात्तिकमा भाइटीकामा रिलिज हुनेछ र सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।
  • फिल्ममा विजय बराल, दयाहाङ राई, पशुपति राई लगायतका कलाकारको अभिनय रहेको छ र महेश दवाडीले पटकथा लेखेका छन्।

काठमाडौं । अभिनेत्री समृद्धि अर्याल आगामी फिल्म ‘वरिष्ठ बलराम’लाई लिएर उत्साहित सुनिइन् । पत्रकार भेटघाटमा उनले आफू यसमा देखावटीको वस्तु मात्र नरहेको तर्क गरिन् ।

‘यसमा म शो पिस मात्र छैन’ उनले भनिन्, ‘म प्रभावशाली भूमिकामा छु । मेरो उपस्थिती महत्वपूर्ण स्थान र समयमा हुन्छ ।’ ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ’ अर्याल भन्छिन्, ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।’

विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले फिल्ममा विजयको मनस्थितीमा रहेको काम गर्न प्रयास रहेको बताइन् ।

‘विजय बराल र दयाहाङ राई दुवैजना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो’ भन्छिन्, ‘मेरा लागि यो फिल्म सिक्ने मौका बन्यो ।’

सुरुमा प्रस्ताव आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने लागेको उनले अनुभव सुनाइन् । ‘तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने लाग्यो’ उनले भनिन् ।

पहिलो फिल्म ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।

यद्यपि, फिल्ममा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ । ‘बलरामको क्यारेक्टरको जर्नीमा हेल्प गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ’ उनी सुनिइन् ।

आफ्नो फिल्म करिअरमा ‘वरिष्ठ बलराम’ले आफूलाई सघाउने उनको आशा छ । कुसुम नामक युवतीको भूमिकामा यसमा देखिन लागेकी उनले भनिन्, ‘यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।’

‘वरिष्ठ बलराम’ ६ कात्तिकको दिनमा भाइटीकामा रिलिज हुनेछ । सुरेन्द्र पौडेलले फिल्म निर्देशन गरेका हुन् । फिल्ममा पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीको पनि अभिनय छ । पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप धामी र पुस्कर घिमिरे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?