
२६ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् खपत र निर्यातको अवस्थालाई विश्लेषण गरेर विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) अघि नबढाएको प्रष्टीकरण दिएका छन् ।
खपत र निर्यात गर्न नसक्दा सिंगो निजी क्षेत्र समेत डुब्ने विश्लेषण गरेर नै पीपीए अघि नबढाएको उनको भनाइ छ ।
‘पीपीएको कुरा गर्दा उदाहरणका लागि, अहिले हामीले पीपीए खोल्यौं, आयोजना बन्छ । पछि कुनै कारणवश प्राधिकरणले स्वदेशमा खपत गर्न सकेन वा हामीले बाहिर निर्यात गर्न सकेनौँ भने, हामी मात्र डुब्दैनौं, निजी क्षेत्र पनि डुब्छ । त्यसकारण, यसलाई हामी विश्लेषण गरेरै पीपीए अघि बढाएका छैनौं,’ उनले भने ।
साथै, उनले भारतसँग विद्युत् निर्यातको अनुमतिका लागि माग राखिएको र त्यो माग सफल भएसँगै विद्युत् निर्यात सहज हुने जिकिर गरे ।
‘हामीले बत्ती निर्यात गर्नलाई हामीसँग लाइन कति छ भन्नेपनि हर्नुपर्ने हुन्छ । १२–१३०० मेगावाट भन्दा बढी एक्सपोर्ट गर्नसक्ने लाइनहरू हामीसँग छैन । तर सकारात्मक पक्ष के छ भने यतातिर सबस्टेशनको चाहीँ ढल्केबर, सीतामढीको लाइन पनि बन्दैछ,’ उनले भने, ‘हामीलाई अनुमति दिनुस् भन्दैछौँ । भारत सरकारसँग हामीले थप आयोजनाहरूको लागि उत्पादन भएको विद्युत् निर्यात गर्न अनुमति दिनुस् भनेर मागिराखेकाले यो प्रयास सफल भयो भने थप बिजुली निर्यात गर्न सहज हुनेछ ।’
विद्युत खरिद–विक्री सम्झौता (पीपीए) लामोसमयदेखि रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले पीपीए नगर्दा आयोजनाहरुमा गरिएको अर्बौंको लगानी डुब्न लागेको उर्जाउत्पादकहरुले बताउँदै आएका छन् ।
सिलवालका अनुसार माग अनुसार आजको दिनसम्म माग १८ सयदेखि २ हजार मेगावाट छ । १२ हजार मेगावाटको पीपीए भइसकेको छ । अहिले माग धान्नसक्ने अवस्थाको पीपीएहरू भइसकेका कारण तत्काल जरुरी नरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4