+
+
Shares

कांग्रेसजनलाई यक्ष प्रश्न : पुनर्गठनको सारथी हुने कि मलामी जाने ?

गगन-विश्वका लागि यो अन्तिम अवसर र अन्तिम परीक्षा हो । गगन-विश्वले अर्को परीक्षा दिने अवसरसमेत पाउने छैनन् । अब गगन-विश्वलाई विगतमा जस्तो असफल हुने छुट छैन ।

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले
२०८२ असोज २६ गते २१:३७

विगत लामो समयदेखि नीति र नेतृत्वको संक्रमणकालबाट गुज्रिरहेको नेपाली कांग्रेसका लागि जेनजी विद्रोहपछि विकसित नयाँ राजनीतिक परिस्थिति थप चुनौतीपूर्ण भएको छ । जेनजी विद्रोह सफल भई अन्तरिम सरकार बनेपछि सत्ताबाट आकस्मिकरूपमा विस्थापित भएको परिस्थितिमा पहिलोपटक मंगलबारदेखि बहुचर्चित केन्द्रीय कार्य समितिको बैठक सुरु हुँदैछ ।

भदौ २४ गते भएको तोडफोड र आगगनीबाट खण्डहर भएपछि कांग्रेसका जेनजी पुस्ताले ‘हामी पुन: उठ्नेछौं’ भन्ने ब्यानर र बीपी कोइरालाको फोटो राखिएको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । परिवर्तित राजनीति तथा पुन: उठ्ने संकल्प गरिएको मर्मलाई आत्मसात गरी केन्द्रीय कार्य समितिले कति उपयुक्त र दूरगामी निर्णय गर्ला ? त्यो २-४ दिनभित्र स्पष्ट होला ।

विवाद, अपेक्षा र आशंकाबीच हुने यो बैठकले कांग्रेसको औचित्य र भविष्यका लागि केही कठोर र दूरगामी निर्णय गर्नैपर्ने अनिवार्य अवस्था सिर्जना भएको छ । तर, हालसम्मको कांग्रेसको प्रवृत्ति, नेताको मनोवृत्ति र कार्यकर्ताको आवृत्तिको आधारमा विश्लेषण गर्दा त्यस्तो निर्णय गर्ने झिनो आशा भए पनि विश्वस्त हुने आधार कमजोर देखिन्छ ।

मङ्सिर २१ को निर्वाचनभन्दा अगाडि कांग्रेसको बहुप्रतीक्षित महाधिवेशन होला कि नहोला ? भएपनि विशेष महाधिवेशन होला कि नियमित ? सभापति शेरबहादुर देउवाले राजीनामा गर्लान् कि नगर्लान् ? आगामी महाधिवेशनबाट पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण होला कि नहोला ? केन्द्रीय कार्य समितिको बैठकले के निर्णय गर्ला ? विगतमा जस्तै प्राविधिक बहुमतको आधारमा दाइहरूको ‘सदीक्षा’ अनुमोदन गर्ला कि कांग्रेस पुनर्जीवन गर्ने शाहसिक निर्णय गर्ला ? भन्ने जस्ता अनन्त अनुत्तरित प्रश्नहरु उठेका छन् । कांग्रेससँग अहिले उत्तर र आशाभन्दा प्रश्न र आशंका बढी छन् ।

विशेष परिस्थिति, विशेष महाधिवेशन

अहिले एकातिर विशेष महाधिवेशनका लागि करिब ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको समाचार प्रकाशित भएको छ । तर अर्कोतिर विशेष महाधिवेशन किन ? भन्ने प्रश्न पनि उठिरहेको छ । वास्तविकता के हो भने जेनजी विद्रोहपछि राष्ट्रिय राजनीतिमा विशेष र असाधारण परिस्थिति सिर्जना भएको छ । त्यसैले यस्तो विशेष र असाधारण अवस्थामा अविलम्व विशेष महाधिवेशन नै उपयुक्त निकास हो । पंक्तिकारले भदौ २५ गतेदेखि नै केवल कांग्रेसको मात्रै होइन, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै पार्टीहरुले अविलम्व विशेष महाधिवेशन गर्नु पर्ने विचार व्यक्त गर्दै आइरहेको छु ।

कांग्रेसको यो नियमित र साधारण महाधिवेशन होइन । परम्परागत, प्राविधिक र कर्मकाण्डी महाधिवेशनको कुनै अर्थ र औचित्य हुने छैन । २००३ मा स्थापना भएदेखि गत भदौ २२ गतेसम्म कांग्रेस प्रमुख राजनीतिक शक्ति थियो । पञ्चायत कालमा पार्टी प्रतिबन्धित र नेताहरू जेल वा निर्वासनमा भएपनि कांग्रेस प्रमुख राजनीतिक शक्ति थियो । प्रमुख राजनीतिक मुद्दामा कांग्रेसको दृष्टिकोणलाई दरबार र सरकारले समेत ‘नोटिस’ मा लिने गर्थ्यो ।

२००७ देखि २०६२/६३ सम्मका सबै क्रान्ति र आन्दोलन कांग्रेसको नेतृत्वमा भएका थिए । कांग्रेसकै नेतृत्वमा २००७ मा प्रजातन्त्र स्थापना भएको थियो, २०४६ मा बहुदलीय लोकतन्त्र स्थापना भएको थियो र २०६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । केवल एक दशक लामो माओवादी सशस्त्र युद्धको शान्तिपूर्ण समाधान मात्रै होइन, ऐतिहासिक संविधानसभामार्फत २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको थियो ।

तर भदौ २२ गतेसम्मको प्रमुख राजनीतिक शक्ति आज किन, कसरी र कसको कारणले किनारामा पुग्यो ? स्थापना भएदेखि पहिलोपटक कांग्रेसको सहभागिताबिना आन्दोलन भएको छ र उक्त आन्दोलनले कांग्रेसलाई विस्थापित गरिदिएको छ । यति मात्रै होइन, भदौ २३ को जेनजी आन्दोलन दमन गरेको संगीन आरोप लागेको कांग्रेस आफ्नो गौरवशाली इतिहास स्मरण गर्ने नैतिक हैसियतसमेत गुमाएको जस्तो प्रतीत हुन्छ ।

नेपाली कांग्रेसको पुनर्गठन र रूपान्तरणका लागि महाधिवेशन र नयाँ नेतृत्व पहिलो र अनिवार्य सर्त हो । कांग्रेसको मात्रै होइन, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै पार्टीहरुले अविलम्व विशेष महाधिवेशन गर्नु पर्छ ।

बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका संस्थापक नेताहरुले कांग्रेस स्थापना गर्ने क्रममा शायदै सोचेका थिए होलान् कि इतिहासको कुनै कालखण्डमा कांग्रेस यस्तो अभिशप्त नियतिको बिम्ब हुनेछ । कांग्रेसका लागि यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ ?

यस्तो अवस्था कसरी सिर्जना भयो ? पार्टीको मूल नेतृत्वले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? आफुले अख्तियार गरेको नीति तथा रणनीति असफल भएपछि नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ कि पर्दैन ? यस बारेमा निर्मम आत्मसमीक्षा र आत्मचिन्तन गर्नु पर्दैन ? विगतका गल्ती-कमजोरीप्रति क्षमायाचना गर्दै आत्मालोचना गर्नु पर्दैन ? पार्टीको भावी नीति र मार्गचित्रबारे छलफल र बहस गरी ठोस निष्कर्षमा पुग्नु पर्दैन ? यी समग्र विषयमा छलफल र बहस गरी निष्कर्षमा पुग्ने सर्वोच्च निकाय महाधिवेशन होइन ? यसका लागि विशेष महाधिवेशन गर्नु पर्दैन ?

असफल पुष्टि भइसकेको नीति तथा रणनीतिलाई केन्द्रीय समितिले पटकपटक अनुमोदन गर्दै आएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवादका बावजुद पनि केन्द्रीय समिति सभापति तथा ‘प्रभावशाली’ नेताहरूको लाचार छायाँ हुँदैआएको छ । अहिलेका ज्वलन्त विषयमा छलफल गरेर ठोस निष्कर्षमा पुर्याउने राजनीतिक हैसियत र नैतिक धरातल केन्द्रीय समितिले गुमाइसकेको छ ।

विशेष महाधिवेशन वा नियमित, त्यो कांग्रेसको आन्तरिक मामला र प्राविधिक पक्ष हो । तर महाधिवेशन अपरिहार्य छ । सभापति देउवाको कार्यकाल यही मङ्सिरमा सकिने भएको कारणले मङ्सिरभित्रै सम्भव भएसम्म नियमित महाधिवेशन गर्नु उपयुक्त हुनेछ । यदि प्राविधिक कारण र समयाभावका कारणले नियमित सम्भव छैन भने मङ्सिरभित्रै विशेष महाधिवेशन गर्नुपर्छ । यो निर्णय आसन्न केन्द्रीय समितिको बैठकले गर्नुपर्छ । यदि यति मात्रै निर्णय गर्यो भने पनि हालसम्मको ‘कर्म’ को प्रयाश्चित हुनेछ ।

तर केन्द्रीय समितिले निर्णय गरेन भने महाधिवेशन प्रतिनिधिहरूको विधानसम्मत माग बमोजिम विशेष महाधिवेशन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । यदि मङ्सिरमा पनि महाधिवेशन नहुने भयो भने सच्चा कांग्रेसजनहरुले विद्रोह गर्नु भन्दा अर्को कुनै विकल्प बाँकी रहने छैन ।

जेनजी विद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्माआलोचना गरी क्षमायाचनासहित गगन-विश्वले कांग्रेस पुनर्गठन, रूपान्तरण र शुद्धीकरणको पक्षमा दृढतापूर्वक विचार राख्दै आएका छन् । जुन सकारात्मक मात्रै होइन, अपरिहार्य नै छ ।

उदीयमान एवं लोकप्रिय नेताहरु गगन र विश्वको विचार, प्रस्ताव र पहलले युवा पुस्तालगायत समाजमा आशाको सन्देश सम्प्रेषण गरेको छ । गगन-विश्वप्रति जनताको आशा र विश्वास बढ्दै गएको देखिन्छ । तर उनीहरूसँग पनि समय सीमित छ । गगन-विश्वका लागि यो अन्तिम अवसर र अन्तिम परीक्षा हो । गगन-विश्वले अर्को परीक्षा दिने अवसरसमेत पाउने छैनन् । त्यसैले अब गगन-विश्वलाई विगतमा जस्तो असफल हुने छुट छैन ।

नयाँ नीति, नयाँ नेतृत्व

कांग्रेसको परम्परा र पुरातनवादी सोचअनुसार वरिष्ठता, मर्यादाक्रम र वंशजको आधारमा होइन, जनताको भावनाअनुसार लोकप्रिय, भिजनरी र स्वच्छ छवी भएको नयाँ नेतृत्व स्थापित गर्नुपर्छ । केवल सभापति मात्रै होइन, विगत लामो समयदेखि नेतृत्वपंक्तिमा रहेका तथा पटक-पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेका ‘भारदार’ पंक्तिको अवैध र अवाञ्छित कब्जाबाट अब कांग्रेसलाई मुक्त गर्न आवश्यक छ । हिजो कुनै नेता विशेषको सत्ताको अतिरिक्त आकांक्षाको कारणले कांग्रेस अनिर्णयको बन्दी भएको थियो भने आज अकर्मन्य भएको देखिन्छ ।

सत्ताको अतिरिक्त भोक र भोगबाट अतृप्त अजिङ्गर जस्ता प्रतीत हुने यस्ता ‘नेता’ ले विगत लामो समयदेखि सत्ताको खालमा कांग्रेसलाई बन्दक बनाउँदै आएका थिए । अब उक्त बन्दक र बन्धनबाट मुक्त बनाउने संघार आएको छ । कांग्रेस भनेको चौबिसै घण्टा सत्ता र शक्तिको उपासना गर्ने शक्तिपीठ होइन र सत्ताका सौदागरहरूको अवैध आश्रम पनि होइन । कांग्रेस भनेको लोकतन्त्र, आदर्श र सिद्धान्तको विचारपुञ्ज हो ।

यद्यपि कांग्रेसको पहिचान आफ्नै कर्मले गर्दा खण्डित भएको छ, त्यो पृथक बहसको विषय हो । तर, अब कांग्रेसको मौलिक पहिचान पुन: स्थापित गर्ने समय आएको वास्तविकतालाई सम्पूर्ण कांग्रेसजनहरूले आत्मविश्वासका साथ आत्मसात गर्नु आवश्यक छ । किनभने दाग अनुहारमा छ, ऐना पुछेर हुँदैन ।

सिद्धान्तलाई तिलाञ्जली दिएर सत्ताको सौदाबाजी गर्ने सौदागर होइन, विचार, सिद्धान्त र नीतिका आधारमा पार्टी पुनर्गठन र रूपान्तरण गर्ने वैचारिक नेतृत्व अहिलेको आवश्यकता हो । यदि युवा पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको त्यस्तो नेतृत्व चयन गरी युवा पुस्ताको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएन भने यथास्थितिमा कांग्रेसको भविष्य अन्धकार मात्रै होइन, औचित्यसमेत नरहन सक्छ । त्यसैले पार्टी पुनर्गठन र रूपान्तरणका लागि महाधिवेशन र नयाँ नेतृत्व पहिलो र अनिवार्य सर्त हो ।

सभापति देउवाले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनु पर्थ्यो । बीपीबाट प्रभावित भएर जुँगाको रेखी पनि नबस्दै लोकतान्त्रिक आन्दोलनमा होमिएर उच्च राजनीतिक उचाइ हासिल गरेका देउवाको जीवनको उत्तरार्द्ध यति दयनीय हुने शायदै कसैले कल्पना गरेका थिए । शायद उनको कर्म र नियतिको संयुक्त प्रतिफल यही थियो ।

अब देउवाले नेपाली राजनीति र कांग्रेसको इतिहासमा एकमात्र र अन्तिम योगदान गर्न बाँकी छ । त्यो हो – राजनीतिबाट स्वेच्छिक अवकाश लिएर विशेष महाधिवेशन गरी पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण गर्ने । देउवाले यो निर्णय गर्न जति बिलम्ब गर्छन्, त्यति नै ठूलो क्षति कांग्रेस र उनलाई हुनेछ । यदि इतिहासप्रति देउवालाई सम्मान र मोह छ भने यस्तो निर्णय अविलम्ब गर्नुपर्छ ।

महाधिवेशनबाट केवल नयाँ नेतृत्व मात्रै चयन गर्ने होइन, नयाँ विचार, नीति र एजेण्डा पनि अंगीकार गर्नु आवश्यक छ । राजनीतिक विचारधारा र सैद्धान्तिक वर्गीकरणका दृष्टिले कांग्रेस लोकतन्त्रवादी, उदारवादी, मध्यमार्गी र वहुलवादी पार्टी हो । तर २१औं शताब्दीको परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय परिदृश्यमा राजनीतिक, भूराजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक चुनौतीहरु अत्यन्त जटिल र पेचिलो हुँदैगएका छन् । उक्त चुनौतीहरू सामना गरी कांग्रेसले परिकल्पना गरेको समुन्नत र समन्यायिक समाज निर्माण गर्न आफ्ना विचार र सिद्धान्तलाई समयानुकूल परिभाषित तथा पुन:परिभाषित गर्नु आवश्यक देखिएको छ ।

२०४८ पछि अवलम्बन गरेको उदार अर्थनीतिले अर्थतन्त्रमा सकारात्मक योगदान गर्यो । राष्ट्रिय अर्थतन्त्र वृद्धि भयो । उच्च, मध्यम तथा निम्न मध्यम वर्ग लाभान्वित भए । तर गरिव, विपन्न, किसान, मजदुर, समाजमा पिछडिएका तथा वञ्चितिकरणमा परेका सिमान्तीकृत समुदायको अपेक्षाकृत उत्थान र विकास हुन नसकेको प्रश्न पनि उठिरहेको छ । आसन्न महाधिवेशनमा हालसम्म अनुसरण गर्दै आएका यी समग्र सिद्धान्त, विचार र नीतिको बारेमा गम्भीर र निर्मम समीक्षा गरी विगतमा भएका गल्ती-कमजोरीबारे क्षमा याचना गर्दै समुन्नत नेपालको स्पष्ट मार्गचित्र तय गर्नु अपरिहार्य छ ।

अधिवेशनबाट औपचारिकताका लागि केवल कागजी दस्तावेज मात्रै पारित गर्ने होइन, समुन्नत नेपाल र नयाँ कांग्रेस बनाउने सार्वजनिक प्रतिबद्धतासहित संकल्प गर्नु आवश्यक छ । होइन भने जनताले कांग्रेसलाई विश्वास गर्ने आधार छैन । त्यसैले नयाँ नेतृत्व र नयाँ नीतिको आधारमा कांग्रेस निर्वाचनमा सहभागी हुनपर्छ । होइन भने कांग्रेस जनताबाट बहिष्कृत हुने निष्कर्ष कांग्रेसजनहरूलाई अप्रिय र कठोर लागे पनि वास्तविकता यही नै हो ।

पुनर्गठन र रूपान्तरणको अवसर

नयाँ नीति र नयाँ नेतृत्व मात्रै पनि पर्याप्त छैन । कांग्रेसलाई मौलिक रूपमा पुनर्गठन र रूपान्तरण गरी नयाँ कांग्रेसको रूपमा स्थापित गर्नु आवश्यक छ । त्यसैले आसन्न महाधिवेशनबाट पुनर्गठन र रूपान्तरणको श्वेतपत्र पनि पारित गर्नु आवश्यक छ ।

कांग्रेसका संरचना अत्यन्त भद्दा र अनावश्यक छन् । लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यताअनुसार विधिसम्मत रूपमा सञ्चालित छैनन् । निर्णय प्रक्रिया संस्थागत, सहभागितामूलक र पारदर्शी हुँदैनन् । आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर छ । अनुत्तरदायी, अपारदर्शी र सत्तामुखी प्रवृत्ति भएको नेतृत्वको कारणले यस्तो दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको हो । अहिलेको पार्टी प्रणाली, संरचना र कार्यशैलीको आधारमा नयाँ कांग्रेस बन्ने सम्भावना छैन । नयाँ कांग्रेस निर्माणका लागि पार्टी प्रणाली, सदस्यता प्रणाली, संरचना र कार्यशैली पनि मौलिक रूपमा परिवर्तन वा रूपान्तरण गर्न आवश्यक छ ।

पार्टी संरचना नै राज्यको दोहनकारी निकायको रूपमा रूपान्तरित हुँदै गएका छन् । नेता तथा कार्यकर्ताहरू आर्थिक दृष्टिले आत्मनिर्भर छैनन्, मूल नेतृत्वप्रति परनिर्भर वा परास्रित छन् । कतिपय सन्दर्भमा पार्टीका नेता र कार्यकर्ता भन्दा उनीहरू दलाल, बिचौलिया र कमिशन एजेन्ट बढी भएको देखिन्छ । यस्तो प्रवृत्ति, अभ्यास र चरित्रले पार्टीलाई कहाँ पुर्‍याउला ? त्यसैले यी विषयमा सुधार नभएसम्म पार्टी रूपान्तरण र शुद्धीकरण हुने सम्भावना छैन ।

तर आसन्न महाधिवेशनबाट कांग्रेसलाई ‘पार्टी’ बाट पार्टीका रूपमा रूपान्तरण गर्ने दुर्लभ अवसर सिर्जना भएको छ । यदि अहिले पनि कांग्रेसलाई पुनर्गठन गरी रूपान्तरण र शुद्धीकरण गरिएन भने पुन: अर्को अवसर पाउने छैन । यदि यो दुर्लभ अवसर गुमायो भने कांग्रेसको नियति पनि प्रजापरिषद्को जस्तै अभिसप्त हुने निश्चित छ । अहिले केवल कामना मात्रै गर्न सकिन्छ कि त्यस्तो अभिसप्त नियति नहोस् भनेर !

बेलायतको लेबर र भारतीय कांग्रेसको शिक्षा

कांग्रेसको नीति र नेतृत्वको बारेमा बहस गर्दा प्राय: दुईटा उदाहरण सान्दर्भिक लाग्छ । ती हुन् – बेलायतको लेबर र भारतीय कांग्रेस पार्टीको उत्थान र पतन । आजको घडीमा यी उदाहरण थप सान्दर्भिक र शिक्षाप्रद भएका छन् ।

नेपाली कांग्रेसको भन्दा पनि सुनौलो र गौरवशाली इतिहास भारतीय कांग्रेसको छ । नेपाली कांग्रेसले निरंकुशतन्त्रको विरुद्धमा तथा लोकतन्त्र र जनताका अधिकारको लागि संघर्ष गर्यो । तर भारतीय कांग्रेसले एकातिर बेलायती उपनिवेशवाद र भारतको स्वतन्त्रताको लागि सम्झौताहीन लामो र कठोर संघर्ष गर्यो भने अर्कोतिर लोकतन्त्र स्थापनाका लागि । बेलायती उपनिवेशबाट स्वतन्त्रता हासिल गरी लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकास गर्न मात्रै होइन, विकसित र आधुनिक भारतको आधारशिला खडा गर्न भारतीय कांग्रेस सफल भएको थियो ।

तर यस्तो गौरवपूर्ण र सुनौलो इतिहास भएको तथा उदार लोकतन्त्र पक्षधर भारतीय कांग्रेस किन विगत एक दशकदेखि इतिहासमा नै सबैभन्दा कमजोर भयो ? सबैभन्दा जटिल र अनुत्तरित प्रश्न यही हो ।

भारतीय कांग्रेसको नीति समयानुकूल प्रगतिशील र नेतृत्व गतिशील हुन सकेन । भारतीय कांग्रेस कमजोर र अलोकप्रिय हुनुमा तपसिलका अन्य भए पनि प्रमुख कारण वंशजको आधारमा नेतृत्वमा आएका राहुल गान्धी हुन् । भारतीय कांग्रेसमा नेतृत्वको स्वाभाविक विकास भएन । भिजन, योग्यता र क्षमताको आधारमा लोकतान्त्रिक, सहभागितामूलक र पारदर्शी रूपमा होइन, वंशजको आधारमा नेतृत्व हस्तान्तरण गरिंदै आएको छ । नेहरू-गान्धी परिवारकी बुहारी सोनिया गान्धीले वंशजका आधारमा छोरा राहुल गान्धीलाई नेतृत्व हस्तान्तरण गरिन् ।

वंशजका आधारमा नेतृत्व हस्तान्तरण र राहुल गान्धीको असफलता नै भारतीय कांग्रेसको असफलता र अलोकप्रियता हो । यसैगरी भारतीय कांग्रेसले पार्टीको आदर्श, सिद्धान्त र नीतिलाई पनि समयानुकूल पुन:परिभाषित तथा अद्यावधिक गर्न सकेन । त्यसैले भारतीय कांग्रेसको नीतिगत तथा नेतृत्वको कमजोरीको अधिकतम राजनीतिक लाभ भारतीय जनता पार्टी जस्तो अनुदारवादी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी पार्टीले लिँदै आइरहेको छ ।

बेलायतमा कन्जरभेटिभ भन्दा लेबर पार्टी उदार र प्रगतिशील मानिन्छ । तर इतिहासको कुनै कालखण्डमा कन्जरभेटिभ भन्दा पनि लेबर पार्टीको नीति र नेतृत्व दुवै दृष्टिले कन्जरभेटिभ थियो । त्यसैले सन् १९८० को दशकमा लेबर पार्टी सबैभन्दा कन्जरभेटिभ, कमजोर र अलोकप्रिय भयो । विशेषगरी परिवर्तित विश्व परिदृश्यमा अर्थतन्त्र तथा अर्थनीतिप्रति कन्जरभेटिभ दृष्टिकोण भएको कारणले लेबर पार्टी असान्दर्भिक हुँदै गएको थियो । त्यतिबेलासम्म लेबर पार्टी राज्य नियन्त्रित समाजवादी अर्थतन्त्रको पक्षमा थियो ।

तर परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश बुझेका भिजनरी नेता टोनी ब्लेयरले परम्परागत राज्य नियन्त्रित समाजवादी अर्थतन्त्र होइन, उदार अर्थतन्त्र पक्षधर सामाजिक लोकतन्त्रवादी पार्टीको रूपमा रूपान्तरण गर्न प्रस्ताव गरे । अर्थतन्त्र र ट्रेड युनियनको अधिकार तथा भूमिकासम्बन्धी पार्टीको विधानको धारा ४ लाई संशोधन गर्न करिब एक दशक पार्टीमा संघर्ष गरेका ब्लेयर सन् १९९४ को महाधिवेशनबाट पार्टी नेता निर्वाचित भएका थिए । पार्टी नेता भएपछि ब्लेयरले शास्त्रीय लेबरलाई ‘न्यू लेबर’ पार्टीका रूपमा रूपान्तरण मात्रै गरेनन्, संगठन प्रणालीसमेत आमूल परिवर्तन गरे ।

उदार र प्रगतिशील नीति अख्तियार गरेपछि तथा ब्लेयर जस्तो भिजनरी नेताले नेतृत्व गरेपछि सन् १९९७ को निर्वाचनमा लोकप्रिय जनमतका साथ लेबर पार्टीले विजय हासिल गर्यो । लेबरले अनुसरण गरेको नयाँ अर्थनीति र संगठन प्रणालीका कारण लगातार तीनपटक विजय भई प्रधानमन्त्री भएका ब्लेयरले बेलायतको अर्थतन्त्र र अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएका थिए ।

निष्कर्ष

उपरोक्त वृहत्तर क्यानभासमा विश्लेषण गर्दा उदार लोकतान्त्रिक र प्रगतिशील सिद्धान्त, गतिशील संगठन र भिजनरी नेतृत्व कांग्रेस पुनर्गठन र रूपान्तरणका अनिवार्य पूर्व सर्त हुन् । यदि परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय समय सापेक्ष उदार र प्रगतिशील नीति पारित गरी भिजनरी नेतृत्व चयन गर्न सफल भयो भने कांग्रेसको भविष्य छ । होइन भने यथास्थितिको कांग्रेसको आवश्यकता पनि छैन, भविष्य पनि छैन ।

नेपाली कांग्रेसलाई भारतीय कांग्रेस बनाउने कि बेलायती लेबर पार्टी ? अब कांग्रेसका नेता-कार्यकर्ताहरूले पुनर्गठन, रूपान्तरण र शुद्धीकरण अभियानको नेतृत्व गर्ने कि मृत पार्टीको मलामी जाने ? असफल नेता र ‘प्रभावशाली’ दाइहरूसँग सती जाने कि युगान्तकारी अभियानको सारथी बन्ने ? अन्तरआत्माको आवाज बोल्ने कि निर्देशित वा प्रायोजित वक्तव्यको खेति गर्ने ? अतृप्त आस, अज्ञात त्रास र अनगिन्ति झुटा आश्वासनबाट मुक्त भएर स्वाभिमानपूर्वक आत्मनिर्णय गर्ने कि विवेकलाई बन्दकी राखेर निर्देशानुसार गर्ने ? स्वाभिमानी र सार्वभौम पार्टी सदस्य हुने कि नेतृत्वको आदेशपालक र लाचार छायाँ ?

सिद्धान्तलाई तिलाञ्जली दिएर सत्ताको जुवा खेल्दै आएका ‘नेता’ तथा नेतृत्वप्रति बफादार हुँदाहुँदा आत्मसम्मान र विवेक स्खलित हुँदै गएका कार्यकर्ताको वास्तविक मनोविज्ञान स्मरण गराएर अहिले थप लज्जित बनाउनु उपयुक्त नहोला । तर, लोकतन्त्र र जनताका अधिकारका लागि संघर्ष गर्दै आएका बीपीको पार्टीका कार्यकर्ता भएको नाताले कम्तिमा आफ्नै स्वार्थका लागि भए पनि इतिहासको यस संगीन घडीमा उपयुक्त निर्णय गर्न सक्छन् कि भन्ने झिनो आशा कायमै छ ।

कांग्रेसजनहरूले आदर्श मान्ने बीपीले भनेका थिए ‘यदि देश, जनता र पार्टीको बारेमा द्विविधा भयो भने पैताला मुनिको एकमुठी माटो छातीमा राखेर सोच्नु र त्यो माटोले जे भन्छ, त्यही गर्नु’ । हालसम्मका सबै ज्ञात-अज्ञात बन्धनबाट मुक्त भएर सम्पूर्ण कांग्रेसजनहरूले देश, जनता, लोकतन्त्र र पार्टीका लागि बीपीले भनेजस्तै आत्मालाई साक्षी राखेर विवेकसम्मत निर्णय गर्नुपर्ने ठीक त्यही घडी आएको छ । होइन भने कांग्रेसजनहरूलाई पनि इतिहासले क्षमा गर्ने छैन ।

(वाग्ले राजनीतिक विश्लेषक हुन् )

लेखक
गेजा शर्मा वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?