
News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लोरिकल्चर एसोसिएसन नेपालले २९ असोजदेखि २ कात्तिकसम्म जावलाखेलमा १८औं गोदावरी पुष्प मेला आयोजना गर्ने जनाएको छ।
- मेलामा ८० व्यावसायिक स्टल, ४५० भन्दा बढी फूलका बिरुवा र ८५ प्रदर्शनी कक्ष रहनेछन्।
- प्रतियोगितात्मक प्रदर्शनीमा पाँच प्रजातिका गोदावरी फूलमा प्रतिस्पर्धा गरिने र पुरस्कार वितरण गरिनेछ।
२६ असोज, काठमाडौं । आउँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले गोदावरी पुष्प मेला तथा प्रदर्शनी आयोजना गर्ने भएको छ ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ‘१८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२’ यही २९ असोजदेखि २ कात्तिकसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आयोजना गरिने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।
यो प्रदर्शनी पुष्प व्यवसायको प्रवर्द्धन, समयअनुसार फूलका जातीय विकास र गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको हो ।
पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, ३ वटा सूचनामूलक स्टल, एउटा प्रतिस्पर्धा स्टल र एउटा सेल्फी स्टल गरी कुल ८५ वटा प्रदर्शनी कक्षहरू रहनेछन् ।
नेपालमा व्यावसायिक उत्पादन हुँदै आएका र भित्रिएका केही नयाँ प्रजातिका गोदावरी फूलका बिरुवा सहित ४५० बढी फूलका बिरुवा पनि प्रदर्शनीमा राखिने तथा बिक्री वितरण गरिनेछ ।
गोदावरीका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली र अन्य मौसमी फूलबिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जनाएको छ । यस प्रदर्शनीमा ४० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अनुमान छ ।
विशेष गरी यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलका विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ ।
यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्मले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर रहने छ । साथै, मेलामा सहभागी भएका नर्सरी व्यवसायीलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ ।
समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ । प्रदर्शनी स्थलमै व्यवसायका क्षेत्रमा भएका नयाँ प्रविधि र उपलब्धीको जानकारी पनि प्रदान गरिनेछ ।
मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले गर्नेछन् ।
फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र उनीहरूबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउनु मुख्य उद्देश्य रहेको बताए ।
उनले अहिले पुष्प उत्पादक कृषकहरूको बजार सीमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीले पुष्पप्रेमी उपभोक्ताहरू बढाएर बजार विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4