
२६ असोज, काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई आज आइतबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीले जानकारी दिए ।
१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।
उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो । उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो ।
उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहुल महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए ।
दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।
भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।
२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।
अहिले महरा पक्राउ परेसँगै यो तस्रो अभियोजन हुनेछ ।
महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।
यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।
प्रतिक्रिया 4