
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले झापाको गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा पीडितहरूको उजुरी आए फाइल खुल्ने जानकारी दिनुभयो।
- उनले उजुरी अख्तियार वा प्रशासनमा आउनुपर्ने र राज्य संयन्त्रमा छानबिन बिना अवरोध अघि बढ्ने बताउनुभयो।
- गिरीबन्धु टी इस्टेटले हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने प्रकरणमा बैना संकलन गरिएको र भूमिसम्बन्धी कानून संशोधन गरिएको छ।
२७ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पीडितहरूको उजुरी आए झापाको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खुल्ने जानकारी दिएका छन् ।
उनले अहिलेको राज्य संयन्त्रमा यस्ता काम गर्न कुनै अवरोध नरहेको उल्लेख गरे । सोमबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यससम्बन्धिस उजुरी अख्तियार वा प्रशासनमा आउनुपर्ने बताए ।
‘पहिले उजुरी आउनुपर्यो । उजुरी अख्तियारमा पनि आउनुपर्यो । प्रहरी प्रशासनमा पनि आउनुपर्यो’ उनले भने,’कोही ठगिएका छन् भने प्रहरी प्रशासनमा आएपनि हुन्छ । अथवा हाम्रो नोटिसमा लिखित रुपमा ल्याइदिनुभयो भने पनि हुन्छ ।’
उनले मन्त्रीले चाहीँ उजुरी हाल्दै नहिँड्ने बताए । ‘कोही नागरिकले जग्गाका लागि बैना दिनुभएको छ,पीडित हुनुहुन्छ कि ? बैना पनि संकलन गरियो । त्यही बैना सायद रिसवतको रुपमा पनि प्रयोग भयो कि ? त्यही बैना वापतको पैसा निर्णय गराउने प्रक्रियामा खर्च गरियो कि ?’ गृहमन्त्री अर्यालले भने- ‘यो कुरा त जसले देखेको भोगेको मान्छे वा पीडित भएको मान्छे हो उसले राज्य संयन्त्रमा ल्याइदिनुपर्यो ।’
उनले उजुरी आए राज्य संयन्त्रले बिना अवरोध छानबिन अघि बढाउने जानकारी दिए ।
गिरीबन्धु टी इस्टेटले चिया बगानका लागि हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा गर्ने सम्बन्धी प्रकरण हो । भूमिसम्बन्धी कानून संशोधन गरेर जग्गा सट्टाभर्ना सम्बन्धी निर्णय भएको थियो । यो प्रकरणका फाइल खुले केपी शर्मा ओली पनि तानिन सक्छन् । बिर्तामोड र अर्जुनधारा नगरपालिकामा पर्ने यो जग्गा बिक्री गर्न बिचौलियाहरुले बैना संकलन गरेका थिए ।
यो प्रकरणलाई उधिन्न कानुन ब्यबसायी रहेका बखत अर्यालले नेतृत्वदायी भूमिका खेलेका थिए । उनैले दायर गरेको मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले ओली सरकारको निर्णय खारेज गरिदिएको थियो ।
प्रतिक्रिया 4