+
+
Shares

रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय, के के छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १७:३५

२८ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुन: प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ ।

बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक स्तरको २७ असोजको निर्णयअनुसार बीमितहरूको उपचार प्रक्रिया सहज र सरलीकृत हुने बोर्डले जनाएको छ ।

बोर्डका उपसचिव पुण्यमाया गुरागाईंले एकपटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुन: रिफर आवश्यक नभएको बताए ।

बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्रचार गरी सो विषयमा जानकारी गराइसकिएको छ ।

बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर जस्ता कडा रोगहरूमा एक पटक मात्र प्रेषण आवश्यक पर्ने निर्णय गरेको छ । सोही रोगका फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी अति गरिब परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाका हकमा पनि सोही सुविधा लागू हुने बोर्डले जनाएको छ ।

आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला (जटिल प्रसूति वा सिजेरियन) र दम, सिजोफ्रेनिया, बाइपोलर डिसअर्डरजस्ता मानसिक रोगका बिरामीलाई पनि फलोअप उपचारका लागि पुन: प्रेषण आवश्यक नपर्ने निर्णय बोर्डले जनाएको छ ।

बोर्डका अनुसार एउटै रोगको लागि गरिएको प्रेषण सेवाले सोही रोगको फलोअपमा पर्याप्त ठहरिनेछ । आकस्मिक सेवा लिई त्यसै रोगको फलोअप गर्नुपर्ने भएमा पनि नयाँ रिफर आवश्यक नपर्ने उल्लेख छ ।

त्यसैगरी, यदि प्रेषण भई उपचारको क्रममा अर्को रोगको पनि परीक्षण आवश्यक भएमा सोही अस्पतालभित्रै अर्को विभागमा रेफर मार्फत सेवा लिन सकिनेछ । तर, उक्त विभागमा पुन: फलोअप गर्नुपर्ने अवस्थामा भने नयाँ रेफर आवश्यक हुनेछ ।

बोर्डले प्रेषण केन्द्रबाट पनि सेवा अपुग भएको अवस्थामा नजिकैको अर्को अस्पतालमा रेफर गर्नुपर्नेछ । साथै, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर बीमितहरूलाई सहज र सुनिश्चित सेवा उपलब्ध गराउन अस्पताललाई व्यवस्था मिलाउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

बोर्डले अस्पतालहरूले बिरामीको प्रेस्क्रिप्सनमा फलोअपको सम्भावित मिति वा अवधि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र हरेक पटक क्लेम गर्दा पहिलो रिफर नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त ९ बुँदे निर्णयले स्वास्थ्य बीमा सेवामा आउने बीमितको सुविधा वृद्धि र प्रशासनिक जटिलता घटाउने बोर्डको दाबी छ ।

देशभर बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा छन् । बोर्डले संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई रेफर केन्द्रका रुपमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?