
३० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजाको वर्तमान स्थितिप्रति आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हमासले बाँचेका बन्दीको शव खोज्ने र अमेरिकी मध्यस्थतामा भएको शान्ति सम्झौता कार्यान्वयन बारे प्रतिक्रिया दिएका हुन् ।
ट्रम्पले हमासले आफ्ना हतियार छोड्नै पर्ने अडान दोहोर्याएका छन् । सीएनएनको रिपोर्टअनुसार ट्रम्पले यदि हमासले आफ्नो भागको युद्धविराम मान्दैन भने इजरायली सेनाले गाजामा फेरी लडाई सुरु गर्न सक्ने चेतावनी दिएका छन् ।
उनले थपे, ‘जति छिटो उनीहरू चाहन्छन् त्यति नै छिटो ।’
ट्रम्पले आफ्नो एक इसारामा इजरायलले युद्ध सुरु गर्ने बताए । ‘जसै म भन्छु, इजरायल ती सडकहरूमा फेरि फर्कनेछ । यदि इजरायल गएर उनीहरूलाई पराजित गर्न सक्छ, भने उनीहरू त्यो गर्ने थिए।’
अमेरिकी राष्ट्रपतिले भने, ‘हमाससँग भइरहेको कुरा छिट्टै ठीक हुनेछ।’
उनले इजरायललाई युद्धबाट ‘रोक्नुपरेको सन्दर्भ पनि उप्काए । ट्रम्पले एक दिनअघि नै हमासलाई चेतावनी दिँदै हतियार छोड्न भनेका थिए।
इजरायलसँग भएको सम्झौता अनुसार निरस्त्रीकरण एक महत्वपूर्ण शर्त हो। हमासले यो मान्न अस्वीकार गरेको छ र हतियार आफ्नो सुरक्षाका लागि आवश्यक रहेको बताएको छ ।
हतियारसम्बन्धी विषयमा ट्रम्प कडा रूपमा प्रस्तुत हुने गरेका छन्। उनले भने, ‘हामी हतियार हस्तान्तरण चाहन्छौं। उनीहरूले यसमा सहमति जनाइसकेका छन्, अब यो गर्नै पर्छ। यदि गरेनन् भने हामी गर्नेछौं।’
ट्रम्पले चेतावनीको शब्दमा थपे, ‘उनीहरूले हतियार फ्याँक्नेछन् किनकि उनीहरूले भनेका थिए कि उनीहरू गर्नेछन्। र यदि गरेनन् भने हामी उनीहरूलाई हतियारमुक्त बनाउनेछौं। उनीहरूलाई थाहा छ म खेल खेल्दै छैन।’
सीमा नाकामा कडाइ
समाचार संस्था एएफपीका अनुसार, गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरिएको छ । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो ।
इजरायली सार्वजनिक प्रसारक (कान)ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न नसकेको जनाएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले बुधबार अप्रत्यासितरूपमा अवरोध हुनपुगेको ट्रम्प योजना अन्तर्गत युद्धविराम सम्झौतामा सहमति भएको मानव अवशेषको आदानप्रदानलाई इजरायल र हमासले जारी राख्ने अपेक्षा गरिएको छ ।
यो आदानप्रदानले हमासले बन्धक बनाइ लगेका अन्तिम २० जीवित बन्धकहरू प्यालेष्टिनी लडाकूहरूको नियन्त्रणबबाट मुक्त भइसकेका छन् भने बदलामा इजरायली जेलबाट मुक्त भएका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरू रिहा भएका छन् ।
हमासले अहिलेसम्म आठ शव फिर्ता गरिसकेको छ, जसमध्ये सातको पहिचान भइसकेको छ । अन्य २० जनाको अवशेष गाजामा रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई शवहरूलाई स्वदेश ल्याउन घरेलु दबाब छ।
फिर्ता भएकामध्ये आठौँ शव पूर्व बन्धकको नभएको र यसको पहिचान हुन नसकेको इजरायली सेनाले बताएको छ। यस घटनालाई लिएर केही इजरायली राजनीतिज्ञहरूले हमासलाई युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन्।
इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गिभरले हमासले गाजामा रहेका सैनिकको अवशेष फिर्ता नगरेमा सहायता आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्।
यसैबीच, इजरायलले आफ्नो हिरासतमा रहेका थप ४५ प्यालेस्टिनी शवहरू दक्षिणी गाजाको नासिर अस्पतालमा स्थानान्तरण गरिएसँगै अहिलेसम्म ९० जनाको अवशेष फिर्ता भइसकेको हमास नियन्त्रित गाजाका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ट्रम्पको योजना अन्तर्गत इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ प्यालेस्टिनीको मृत शरीर फिर्ता गर्नेछ।
प्रतिक्रिया 4