
३० असोज, काठमाडौं । एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनोट महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएकी छन् ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै ढकालले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको बताइन् ।
१०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै एक वर्ष बाँकी रहेको, विशेष अवस्थामा ६ महिना समय थप्न सकिने विधानको प्रावधान रहेको उनले स्मरण गरिन् ।
अहिले नै जथाभावी नेतृत्वको मान मर्दन गर्ने, राजीनामा गराउने भन्ने कुरा उचित नभएको ढकालको भनाइ छ । ‘पार्टीको ११औं महाधिवेशन घोषणा भइसकेको छ । त्यसपछि पनि नेताहरू अध्यक्षले राजीनामा दिनुपर्दछ भन्दैहुनुहुन्छ’, ढकालले भनिन्, ‘अब कसलाई अध्यक्ष बनाउने, कसरलाई महासचिव बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिका हातमा पुगिसक्यो । महाधिवेशन अघि नेतृत्व परिवतर्न भन्ने कुरा बेमौसमको बाजा हो ।’
ढकालले अध्यक्ष ओलीले पार्टी बैठकमा राखेको विशेष प्रस्तावले वर्तमान समसामयिक राजनीति,जेन जी आन्दोलन र यसका असर तथा भावी कार्यदिशाका बारेमा स्पष्ट पारेकोले यसको पूर्ण समर्थन गरेर जानुको विकल्प नभएको बताइन् ।
ढकालले भदौ २४ गतेको तोडफोड र आगजनीको पीडित आफू पनि भएको भन्दै यसमा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई दबाब दिनु पर्ने र पार्टीले अलग्गै आयोग बनाएर घटनामा संलग्नहरुको छानविन गर्नुपर्ने माग गरेकी छिन् ।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख समेत रहेकी ढकाललले जनताले पार्टी तथा सरकारप्रति गर्ने गुनासा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिले सुन्नु पर्ने बताइन् ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । बैठक साँझ ७ बजेसम्म सञ्चालन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4