
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी नेतृत्वमा युवा सहभागीता वृद्धिका लागि ‘डिजी युथ कांग्रेस’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सो प्रस्ताव गरेका हुन् । पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव पेश गर्दै उनले यसबाट नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम हुने पनि बताएका छन् ।
‘यसले नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम गर्नेछ,’ उनले भने ।
साथै, पौडेलले वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनौटको प्रस्ताव पनि अघि सारेका छन् ।
आफूले पेश गरेको प्रस्तावअनुसार अघि बढे आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने तर्क उनको थियो ।
उनले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रुपमा नहेरी त्यसले उठाएका मुल मुद्दाको सम्बोधनमा क्रियाशील हुनुपर्ने बताए । जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए ।
‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरूबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,’ उनले भने ।
विद्यमान संकटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका उनले पार्टी सभापतिप्रति भएको आक्रमणको निन्दा समेत गरे । नेता पौडेलले सभापतिद्वारा पार्टी बैठकमा २८ गते पेश गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्ने समेत बताए
पौडेलले पार्टीको सदस्यता र नेतृत्व चयनमा समेत पुर्नसंरचनाको प्रस्ताव गरेका छन् । उनले सहज र एउटै प्रकृतिको सदस्यता दिन प्रस्ताव गरेका छन् । क्रियाशील सदस्यबाट प्रत्यक्ष रुपमै जिल्ला सभापति र केन्द्रीय सभापति तथा पदाधिकारी चयन हुने व्यवस्था गर्न सकिने उनको प्रस्ताव छ ।
‘महाधिवेशनको मिति कुनै बहानामा नसारौं’
नेता पौडेलले आफ्नो प्रस्तावमा अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाहरुको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५ औ महाधिवेशनमा जानु पर्ने प्रस्ताव गरेका छन् ।
‘यसले मात्र तजा जनादेश सहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ उर्जाका साथ अगाडि आउनेछ । नव युवाको प्रवेश बढनेछ । यसले मात्र देशको समस्या हल गर्ने सामर्थ्य राख्नेछ,’ उनको प्रस्तावमा छ ।
पौडेलले अहिलेको अवस्थामा यो वा त्यो बाहनामा पार्टी अधिवेशन पर म्याद थप्ने आदि विषयले पार्टी र देशलाई गम्भीर संकटमा धकेल्ने भएकाले त्यस तर्फ सोचिनु नहुने भन्दै ११ औ महाधिवेशन ६० दिनमा सम्पन्न भएकाले यो अवस्थामा सजिलै सकिने बताए ।
प्रतिक्रिया 4