
१ कात्तिक, काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो ।
काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए ।
उनले उपलब्ध गराएको आफ्ना विवरण अनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता उनले ०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।
यद्यपि उक्त विवरणहरू महानगरपालिकाको ढड्डामा नभएको पाइएको छ । काठमाडौं महानगरपालिका- ६ का वडाध्यक्ष भुवन लामाका अनुसार, माथि उल्लेखित विवरणहरूको ढड्डा खोज्दा केही पनि पाइएको छैन ।
‘हामीले ढड्डामा केही भेटेनौं । सोही अनुसारको विवरण लेखेर भोलि जिल्ला प्रहरी परिसरमा पनि पत्र पठाउँदैछौं,’ वडाध्यक्ष लामाले अनलाइनखबरसँग भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत २७ असोजमा अनुसन्धान गर्नका लागि ६ दिनको म्याद दिएको थियो ।
तेन्जिङले पेस्तोल जस्तो देखिने जोखिम हात हतियार प्रदर्शन गरी आम जनमानसमा डर, त्रास सिर्जना गरेको भन्दै अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ दिनको म्याद थप गरेको हो ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
प्रहरीले खोजी तीव्र पारेपछि तेन्जिङ आफैं प्रहरी कहाँ पुगेका थिए ।
भाइरल उक्त भिडियो जेनजी आन्दोलनको समय नरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीबाट नक्कली पेस्तोल पनि बरामद भएको छ ।
यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ ।
प्रतिक्रिया 4