+
+
Shares

हङकङदेखि दुबईसम्म बर्सेनि सयपत्री पुर्‍याउँछन् चितवनका गोविन्द

लकडाउनबाट जुर्‍यो आइडिया, अहिले गर्छन् लाखौंको कारोबार

गोविन्द, उनकी श्रीमती र दाजु अमित तीनै जना ‘डिग्री होल्डर’ हुन् । चितवन मेडिकल कलेजमा बायोस्टाटिक्स् अध्यापन गराइरहेका गोविन्द बाँकी समय परिवारसँगै फूलखेतीमा रमाएका छन् ।

सुवास पण्डित सुवास पण्डित
२०८२ कात्तिक ५ गते ८:११

५ कात्तिक, चितवन । ‘नेपालमा सियोसमेत विदेशबाट ल्याउनुपर्छ’ भन्ने भाष्य आम नेपालीमा जनजिब्रोमा झुन्डिएकाे छ, तर पछिल्ला दिन नेपालबाट निर्यात पनि गर्न सकिन्छ र हुन्छ भन्ने सकारात्मक सन्देश पनि बढ्ने क्रम सुरु भएको छ ।

चितवनको कालिका नगरपालिका–२ का पुष्पखेती गर्ने किसान गोविन्द बाँस्तोलाले विगत ३ वर्षदेखि विदेशमा सयपत्री फूल र माला निर्यात गरिरहेका छन् । हामी अहिले तिहार मनाइरहेका छौं । घर घरमा लक्ष्मीपूजा, गाई, गोरु पूजा मनाइरहेका छौं । भोलि भाइटीका छ ।

तिहारमा सयपत्री फूलको महत्व भनिराख्नै पर्दैन । यही महत्व बुझेका बाँस्तोलाले हङकङमा ३ सय केजी सयपत्री फूल र १ हजार माला बुनेर पठाइसके, तिहार अघि नै ।

त्यस्तै, दुबईमा ८ सय थान माला पठाए । यहाँ तयार गरिएको माला पत्रिका र प्लाट्रिकमा प्याक गरेर काठमाडौं पठाउने र त्यहाँबाट फूल निर्यात गर्ने अन्य व्यवसायीले नै विदे पठाउने गरेको गोविन्दले सुनाए ।

‘काठमाडौंसम्म फूल पठाउने जिम्मा हामीले लिन्छौं, काठमाडौंमा फूल रिसिभ गरेपछि त्यो उसकै जिम्मा हुन्छ’ गोविन्दले भने, ‘लगातार ३ वर्षदेखि फूल र माला पठाउने गरेकोले भुक्तानीको समस्या पनि भएको छैन ।’

कालिका नगरपालिका–२ मा रहेको ‘फूलमाला फार्म नेपाल’ सञ्चालन गरेका गोविन्दले फूलखेती गर्न थालेको ६ वर्ष भयो । सुरुमा सानो स्केलमा फूल लगाएका उनले अहिले ५ बिगाहा जमिनमा सयपत्री उत्पादन गर्दै आएका छन् । यसवर्ष मात्रै झण्डै १५ हजार माला बेचिसकेका उनको बारीमा थप १० हजारभन्दा बढी माला बुन्न पुग्ने सयपत्री छ । माला सप्लाई गर्ने एक ठूलो पाटीलाई सुरुमा १० हजार माला दिएपछि बाँकी फूल र माला भने उनले घरबाट नै बेचेका छन् । एक मालाको १ सय र फूलको प्रतिकिलो ४ सयदेखि ५ सय रुपैयाँसम्म पर्दछ । गोविन्दले वर्षेनी ६० हजार माला उत्पादन गर्ने गरेका छन् । उनको विचारमा विदेशमा बसेका नेपालीहरूले तिहारको अवसरमा नेपालबाट सयपत्री फूल र मालाको माग गर्ने गरेकोले हरेक वर्ष फूल र माला पठाउने गरिन्छ ।

उनका अनुसार गत वर्ष फूल र माला हङकङ र कतार पठाइएको थियो । यसवर्ष पहिलोपटक दुबई माला पठाइएको हो । गत वर्ष मालाबाहेक सयपत्री फूलको थुँगासमेत दुई क्विन्टल उनले हङकङ पठाएका थिए । विदेश निर्यात गर्दा पनि रकम भने नेपालमा बिक्री गर्ने बराबरकै नै लिने गरेको गोविन्दले सुनाए । चितवनमा तिहारको माला र फूल विदेश निर्यात गर्ने उनी नै पहिलो किसान हुन् ।

उनको फार्ममा १२ महिना नै सयपत्री फूल उत्पादन हुने गर्दछ । यो सिजनमा मात्रै ३० जना स्थानीय महिला दिदीबहिनीहरूले रोजगारीसमेत पाएका छन् । उनको घरको आँगनभरी नै बसेका महिलाहरूलाई दिनभर फूलको माला बुन्न भ्याइनभ्याई छ ।

उनीहरूले एक माला बुनेको ६ रुपैयाँ पाउँछन् । एक जनाले दिनमा ३ सय वटासम्म माला बुन्न सक्छन् । त्यसो हुँदा दिनमा नै १८ सयदेखि २ हजारसम्म एक स्थानीय महिलाले आयआर्जन गर्नसक्ने गोविन्दले बताए ।

बास्तोलाको घरको सिङो परिवार नै फूल खेतीमा रमाएको मात्रै छैन सन्तुष्ट पनि छ । काठमाडौं, पोखरा, हेटौडा, सुर्खेत, बाग्लुङ, धनगढी उनको नियमित बजार हो । फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाका अनुसार यो वर्ष चितवनमा ४० बिघामा सयपत्री फूलको उत्पादन भएको छ, त्यसबाट लगभग ५ लाख माला बन्न सक्छ ।

यसवर्ष तिहार चाँडै भएकोले सयपत्री फूलको पर्याप्त उत्पादन नभएको हुँदा बजारमा माग पनि निकै उच्च छ । भारतबाटसमेत सयपत्री फूल आउन कडाई भएपछि सयपत्री फूल र माला पाउन निकै मुस्किल छ । मूल्य पनि गत वर्षभन्दा निकै उच्च छ ।

लकडाउनले जुराएको आइडिया

प्राध्यापन पेशा गर्ने गोविन्द कोरानाको लकडाउनका बेला काठमाडौंको शंकरदेव क्याम्पस पठाउँथे । गाउँमा आउँदा एक विद्यालयको जमिन खाली देखेपछि उनले त्यहीँ सयपत्री फूल लगाउँदा कस्तो होला भन्ने सोच बनाए ।

कृषि पढेका साथी मनोज ढकालसँग सरसल्लाह गरेर उनले घर नजिकैको आधारभूत विद्यालय पिपरियाको ४ कट्ठा जमिन भाडामा लिएर सयपत्री फूल रोपे । तिहार अगाडि बजारमा फूलको बजार बुझे । उत्पादन पनि राम्रो भयो । सबै फूल बिक्री भएपछि उत्साहित बने । राम्रो आम्दानी भएपछि विस्तार गर्दै लगे ।

सुरुकै वर्ष ३० हजार रुपैयाँ लगानी गर्दा ६० हजार आम्दानी भयो । गोविन्द, उनका दाजु अमित बाँस्तोला र गोविन्दकी श्रीमती तीनै जना ‘डिग्री होल्डर’ हुन् । गोविन्दले चितवन मेडिकल कलेजमा बायोस्टाटिक्स् विषय पढाउँछन् । दिउँसोमा कलेज पढाउने उनीसहित दाजु, श्रीमती र घरका सबै सदस्य अधिकांश समयमा फूल खेतीमा नै बित्ने गरेको छ । फूल खेती गरेपछि अहिलेसम्म पछाडि फर्किएर हेर्न नपरेको गोविन्दले सुनाए । सुरुमा सयपत्री फूलमात्रै उत्पादन गरेका गोविन्द अहिले बीउ, बेर्ना र फूल तीनवटै विद्यामा विस्तारित भएका छन् ।

वार्षिक ५० लाखको कारोबार, स्थानीयलाई रोजगारी

गोविन्दको फार्ममा सयपत्रीको मात्रै वार्षिक ५० लाखभन्दा माथिको कारोबार हुने गरेको छ । यसवर्ष मात्रै १० लाख सयपत्रीका बेर्ना उत्पादन गरेर विक्री गरेका उनले सयपत्रीको फूलको बीउसमेत बेच्ने गर्दछन् । एक केजी बीउको डेढ लाखसम्म पर्छ ।

सयपत्रीको बेर्ना आफैंले उत्पादन गरेर बेचे पनि बीउ भने उनले भारतबाट खरिद गरेर स्थानीय किसानलाई बेच्ने गरेका छन् । बेर्ना एक गोटाको ३ रुपैयाँमा पर्न बिक्री हुन्छ । सयपत्रीको टेनिसबल प्रजातिको बेर्ना र फूल मात्रै उनले उत्पादन गर्ने गरेका छन् ।

कलकत्ते प्रजाति भन्दा टेनिस बल बढी टिकाउ र राम्रो हुने भएकोले धेरै जसो किसानले यही सयपत्री बढी लगाउने गर्दछन् । बीउको उत्पादनमा भने मौसम मिलाउन समस्या हुने र विभिन्न प्रतिकुलता आउने गोविन्द बताउँछन् ।

५ बिगाहा जमिन ५ वर्षका लागि प्रति कठ्ठा वार्षिक ५ हजार भाडा तिर्ने गोविन्दको फार्ममा मात्रै २० जनाले रोजगारीसमेत पाएका छन् । बेर्ना तयार गर्ने नर्सरी बनाउने, गोडमेल गर्ने, भिटामिन तथा विषादी हाल्नेदेखि अन्य विभिन्न काममा स्थानीयलाई रोजगारीसमेत दिएको गोविन्दले बताए ।

यो सिजनको फूलखेती गर्दा उनको ७ लाख रुपैयाँ हालसम्म खर्च भएको छ । जमिनको लिज अझै २ वर्ष बाँकी छ । उनले आफ्नो फूल व्यवसाय पनि विस्तार गर्दै लैजाने सोच बनाएका छन् । अफसिजनमा समेत सयपत्री फूलको बेर्ना तयार गर्ने गोविन्दले यस वर्ष १ लाख बेर्ना बेचिसकेका छन् भने बाँकी १ लाख बेर्ना तिहार लगत्तै बेच्ने तयारी गरेका छन् । अफसिजनको बेर्ना धेरै जसो धादिङ, काठमाडौंको थानकोट र काभ्रेमा जाने गरेको छ ।

सिजनमा नेपाली सयपत्रीको प्रयोग भए पनि अफसिजनमा भारतीय सयपत्रीले नेपाली बजार लिने गरेकोले त्यसलाई विस्थापन गर्न र स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्न बनाउन आफू लागिरहने उनले बताए । काठमाडौंमा मात्रै दैनिक ५ हजार खपत हुने तथ्यांक रहेको भन्दैं त्यसलाई विस्थापन गर्न १२ महिना नै सयपत्री फूलखेती गर्ने उनको योजना अनुसार काम भैरहेको छ । यसमा सरकारले पनि भारतीय फूल रोकेर सहयोग गर्नुपर्ने उनको धारणा छ ।

साउनमा रोपेको बेर्नाले असोज र कार्तिकमा, असोजमा रोपेको बेर्नाले मंसिर, पुस र माघ, कार्तिकमा रोपेको बेर्नाले माघ, फागुन, चैत, फागुनमा रोपेको बिरुवाले वैशाख, जेठ, असार, बैशाखमा रोपेको बिरुवाले असार, साउन, भदौंको फूलको माग पुरा हुने बास्तोलाले बताए । एक महिनामा बेर्ना तयार हुने र रोपेको २ महिना पछि फूल फुल्ने बास्तोलाले जानकारी दिए ।

यसपटक तिहार चाँडै परेको पहाडी भेगमा सयपत्री फूलहरु फुल्न ढिलाई भएकोले बजारमा उच्च माग रहेको छ । असोज अन्तिम साता परेको झरीको प्रत्यक्ष मार सयपत्रीमा परेकोले पर्याप्त फूल उत्पादन हुन सकेको छैन ।

गोविन्दले सयपत्री फूल उत्पादन सुरु गरेदेखि नै कालिका नगरपालिकाले वार्षिक आर्थिक तथा अन्य सहयोगहरु गर्दै आइरहेको छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले सुरुमा १२ जना सयपत्री फूल उत्पादन गर्ने किसानलाई उनीहरुको उत्पादनको स्केल हेरेर सहयोग गरेको बताए । वर्षको ३ लाखका दरले पालिकाले सहयोग गर्दै आएको छ । नगर प्रमुख रेग्मीले विदेशमा नेपालबाट सयपत्री फूल निर्यात गर्ने कालिका नगरपालिका मात्रै भएकोले आफूलाई पनि खुसी र गौरव मिलेको बताए ।

पालिकाकै पहलमा बास्तोलाको फार्ममा गत बर्ष बागमती प्रदेश सरकारले १५ लाख मूल्य बराबरको हाइटेक टनेल प्रदान गरेको छ । सयपत्री फूलको बेर्ना र फूल उत्पादनमा उत्कृष्ट काम गरेको भनेर हाइटेक टनेल दिएको हो । यसमा अब कट् फ्लाबरहरु उत्पादन गर्ने सोच गोविन्दले बनाएका छन् । यस्ता फूलहरु भारतबाट आउने गर्दछ । कम्तीमा पनि चितवनको माग पुर्‍याउने लक्ष्यसहित काम गरेको बास्तोलाले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?