
५ कात्तिक, काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा राखिने विष्णु भगवानको मूर्ति निर्माण भइरहेको छ ।
उक्त ठाउँमा ३५ फिट अग्लो मूर्ति राख्न लागिएको हो ।
मूर्ति निर्माणको काम ४० प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले जानकारी दिए । यो मूर्ति निर्माण सम्पन्न भएपछि नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति बन्ने छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ मा सुरु गरेको यो परियोजनाका लागि शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।
यो मूर्ति मुक्तिनाथ मन्दिर र सोनाम लामाले निर्माण गरेको बुद्ध मूर्तिको बीचमा रहनेछ । दुवै मूर्तिबीचको दूरी करिब दूई सया फिट छ । समुद्र सतहबाट ३,७१० मिटर उचाइमा रहेको यो स्थानबाट चारैतिर हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
विष्णु मूर्ति निर्माणका लागि आवश्यक ढुंगा चोभारबाट ल्याइएको थियो । यसअघि स्थापना भएको बुद्ध मूर्तिमा पनि चोभारकै ढुंगा प्रयोग गरिएको थियो ।
यो मूर्ति निर्माण सम्पन्न भएपछि मुक्तिनाथको धार्मिक र पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।
मुर्ति स्थापनाका लागि मुक्तिनाथ विकास समितिले पनि सहयोग गरिरहेको लामाले बताए । मुर्ति स्थापनाका लागि भनेर गाउँपालिकाले समेत वडा अध्यक्ष र स्थानीयहरूसँग छलफल गरिरहेको उनले बताए ।
विष्णु मूर्तिको स्थापनाले मुक्तिनाथको धार्मिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने उदेश्यले यो परियोजना सुरु गरिएको घलेको भनाई छ । यो परियोजनाले मुस्ताङको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याउने घले दम्पतीको विश्वास छ ।
प्रतिक्रिया 4